
वीरेन्द्र रमण
जनकपुरधाम ।
पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आइतबारदेखि धनुषा, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट विधिवत सुरुवात भएको छ । मन्दिरमा भएको कार्यक्रममा ठूलो संख्यामा उपस्थित श्रद्धालुको सहभागितापछि पूजापाठ गर्दै परिक्रमा सुरुवात गरिएको हो ।
मिथिला बिहारी नगरपालिकाले गरेको कार्यक्रममा पूर्व राष्ट्रपति डा.रामवरण यादवले पहिलेभन्दा अहिले सामाजिक सद्भाव निकै कमजोर बन्दै गएको बताए । उनले धार्मिकताले समाजमा देखिएको समस्या समाधान गर्दै लैजान सकिने बताए । उनले भने, ‘कतिपय ठाउँमा राजनीतिक कारणले समेत सममाजिक सद्भावमा समस्या आएकाले राजनीतिसमेत दुषित भइरहेको छ, यसले समस्या भइरहेको छ ।’
यादवले धर्मलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने आवश्यकता रहेको बताउँदै भारतमा राम मन्दिर निर्माण गरेर पर्यटनसँगसमेत जोडिएको बताए । उनले भने, ‘अहिले त धर्म राजनीतिको समेत माध्यम बनेको छ, भारतमा राममन्दिर निर्माण गरिएको छ र त्यो निर्वाचनको मुद्दासमेत बनेको छ, राममन्दिर निर्माण भएपछि मोदीले यसलाई मुद्दा बनाएर चुनाव पनि जित्छन् होला ।’
यादवले धर्म समाजलाई असल मार्गमा लैजाने माध्यमका रुपमा रहेको बताउँदै समाजमा देखिएको समस्यासमेत धर्मले दिशानिर्देशन गर्नुपर्ने बताए । प्रथम राष्ट्रपति यादवले धार्मिक कार्यक्रममा समेत राजनीति गर्नेलाई सहभागी गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउँदै उनले धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताए । यादवले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु पर्छ । धार्मिक कार्यक्रममा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने, त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रममा समेत नेता कार्यकर्तालाई बोलाएर तामझाम गर्नुपर्छ ।’
कार्यक्रममा मधेश प्रदेशका पर्यटनमन्त्री सुनिता यादवले मधेश प्रदेश सरकार मधेशको हरेक यात्रालाई विकास गरेर लैजान चाहेको बताइन् । उनले अहिले परिक्रमाको विकासका लागि सरकारले पर्याप्त बजेट राखेको र केही समयमा विकासका काम अगाडि बढाइने बताइन् । उनले मधेशका धार्मिकस्थललाई संरक्षण गरिनु पर्ने आवश्यकता रहेको औँल्याइन् । यादवले प्रदेश सरकार मिथिला क्षेत्रको मात्रै नभई मधेशका रहेक पर्यटकीय क्षेत्रको विकास गरेर त्यसलाई पर्यटनसँग जोड्न खोजिएको बताइन् । उनले मधेशलाई धार्मिक पर्यटनको हबका रुपमा विकास गर्न मिथिला मध्यमा परिक्रमा सहायक सावित हुनसक्ने बताइन् । यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडावस्थललाई व्यवस्थित तुल्याउन बजेटसमेत छुट्याइएको मन्त्री यादवले जानकारी दिइन् ।
नेपाल र भारतका हजारौँ संख्याका श्रद्धालु भक्तजनको सहभागिता हुने परिक्रमाकम विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आइतबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालु प्रस्थान गरेका छन् ।
कचुरीको मिथिला बिहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आइतबार जम्मा हुने मिथिला बिहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिए । सबै तीर्थालु हनुमानगढमा जम्मा हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरका लागि यात्रु प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फूलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीले विश्राम गर्ने जनाइएको छ । उनका अनुसार, फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने छन् ।
त्यसैगरी, आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिनेछ । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीले होली महोत्सव मनाउने छन् । चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोशे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।
परिक्रममा सहभागी श्रद्धालु परम्परागत बाजागाजा, झाँकीकीर्तनसहित मौलिक पहिरनमा सहभागी भएका छन् । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन् । अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाका रूपमा मनाइँदै आइएको छ । धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगेर होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भए मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवम् मोक्ष प्राप्ति हुने जनविश्वास छ । ठूलो संख्यामा श्रद्धालुको सहभागितासहित १५ दिनसम्म घुम्ने गरेका कारण यसलाई मिथिलाको कुम्भसमेत भनिने गरिन्छ ।






