मधेशदृष्टि
वीरगंज ।
दशकअघि वीरगंजका राजेशमान सिंहले शाहबुद्धिनविरुद्ध नागरिकता छानबिन प्रकरणमा उजुरी गर्दा उनी ‘सर्वसाधारण’ थिए । कुनै लाभको पदमा पुगेका थिएनन् । भारतीय र नेपाली कागजात भएका एउटै व्यक्ति उनै शाहबुद्धिन हुन् भन्ने प्रमाण बोकेर सिंह उजुरी गर्ने निकायमा पुगे । वर्षौँ छानबिनको समय लाग्यो । उच्च अदालतले प्रमाण पुगेन भन्यो, फैसला भयो, आरोपीले सफाइ पाए । यो बीचमा ‘उजुरीकर्ता सर्वसाधारण नागरिक’ राजेशमान सिंह चैँ सत्तामा पुगे । उनी वीरगंज महानगरको प्रमुख भएको पनि दोस्रो वर्ष पूरा हुन केही महिना बाँकी छ ।
राजेशमान सिंहले कुनै दिन अदालत, प्रशासन धाएर दबाब दिएनन् । धर्ना बसेनन् । नाराबाजी गरेनन् । कुप्रचार गरेनन् । बजारमा जुलुश निकालेनन् । एउटा डकुमेन्ट बनाए, छानबिन गर्ने दायित्व राज्यको हो भने, बुझाए, आफ्नो राजनीतिक यात्रा जारी राखे । जनताले मत दिए, मेयर पनि भए । मेयर भएपछि ‘आक्रामक’ शैलीमा जनपक्षीय काम गर्न खोज्दा केही स्वार्थ समूहलाई मन परेन । उनलाई अप्ठेरो पार्न सुरुमा जुन समूह लागिरहेको थियो, त्यो वर्गसमेत वीरगंजको राजनीतिक रिङबाट आउट भएको छ, उसलाई पनि मटियामेट पारेर तेस्रो समूह सतहमा आएको छ । त्यसमा अधिकांश राजेशमानको ‘सुशासन’को डोजर चल्दा मार खानेहरु छन् । तिनको व्यक्तिगत हुलिया लेखिरहन परेन ।
जिल्ला प्रशासन कार्यालयमा राजेशमान सिंहले ‘नभएको छोरी’लाई बाबु बनेर नागरिकता दिएको भन्दै उजुरी परेको छ । प्रशासनले उजुरीमाथि छानबिन गर्ने हो । गरिरहेको छ । प्रशासन स्रोत भन्छन्, ‘कागजात हेर्ने हो, बयानका लागि बोलाउने हो, फर्जी हो कि होइन खोज्ने हो । यो प्रक्रिया लामो हुन्छ ।’ त्यसमाथि सरुवा भएर गइसकेका अधिकारीहरुले जारी गरेको नागरिकता प्रकरणमा सिंहसँगै नागरिकता जारी गर्नेहरुसँग पनि छलफल गर्नुपर्छ, सोध्नु पर्छ भन्ने मान्यता प्रशासनको छ । प्रशासनले काम गरिरहेको छ ।
तर, जुन काम प्रशासनले गरिरहेको छ, त्यो काम अरुलाई पनि दिइएपछि प्रशासनले ढिलासुस्ती गरेको भन्न पाइन्छ र ? पक्कै पाइन्न । तपाईं वीरगंज महानगरको कुनै शाखामा गएर काम लगाउनु भएको छ, शाखाले काम गरिरहेको छ । चिनेको भनेर कुनै मुखिया(वडाध्यक्ष) वा हाकिम साहेब वा मेयर, उपमेयरलाई भन्नु भयो भने उनीहरुले नबुझी काम गर्ने शाखाका कर्मचारीलाई गाली गरे भने उनको भावनामा ठेस पुग्छ कि पुग्दैन ? जिल्ला प्रशासनमा उजुरी गरेर त्यही उजुरी गृहमन्त्रालय, सिआइबी, अख्तियारमा पनि दिइएपछि एउटा व्यक्तिका लागि सिंगो राज्यशक्तिले कति जनशक्ति, समय र लगानी गर्ने ? मोस्ट वान्टेड फरार अभियुक्त भन्दा बढी राजेशमान सिंहको खेदो खनेर भएभरका राज्यका संयन्त्रलाई दबाब दिने काम न्यायपूर्ण हुनसक्छ ?
तर, राजेशमान सिंहका हकमा यस्तै भइरहेको छ । काठमाडौँमा पत्रकार सम्मेलनको समेत तयारीमा जुटेर स्वार्थ समूहले सिंहलाई काम गर्नै नदिने अवस्था बनाउन खोजेको पाइएको थियो । नगरप्रमुख सिंह स्रोत भन्छ, ‘उजुरी परेको छ, छानबिन होला, बोलाए जवाफ दिन पनि जाउँला, तर महानगरको कामै गर्न नदिने गरी जुन तगारो हालिइएको छ, भएभरकालाई गुहार लगाइएको छ, के यसरी एउटा आरोपीलाई अपराधी झैँ बदनाम गर्न पाइन्छ ?’
रत्नाकर डाँकु वाल्मीकि बने । तर वीरगंजमा सहकारी ठगी, कीर्ते नागरिकताधारी, त्यस्तै शंकास्पदा नागरिकता बोकेको पार्टीका नेता कार्यकर्ता, भूमाफियाहरु चैँ वीरगंजमा हाम्रो स्वार्थमा भाँजो हाल्ने ‘मेयर’ भए पनि छाडिन्न, राज्यशक्तिको सबै निकाय गुहारेर ‘हायलकायल’ पारिन्छ भनेर डनशैलीमा दबदबा देखाइरहेका छन् । यो शैली लोकतन्त्रमा ‘रुल’को शासन होइन, ‘हूल’को शासन लाद्न खोजिरहेको देखिएको छ ।
‘राजेशमान सिंहलाई काम गर्न देऊ’ भनेर नागरिक समाज सडकमा आइसकेका छन् । राज्यका निकाय छानबिनमा लागेकै छन् । उजुरी गृहमन्त्रालयमा दिने अनि घेर्ने जिल्ला प्रशासन ? यो कुन सामाजिक न्यायमा पर्छ ? धर्मग्रन्थमा रत्नाकर डाँकु वाल्मीकि बनेको इतिहास छ, वीरगंजमा चैँ वाल्मीकि हुन्छु भनेर जनताको काम गर्दै वैभव वीरगंजको मुहार फेर्न लागेकालाई ‘वाल्मीकि बन्न पाउँदैननस्, रत्नाकर डाँकु ठीक छस्’ भन्ने खोजेको पो हो कि केही स्वार्थ समूहले ?
वडामा पुग्यो टोली
गृहमन्त्रालयको एउटा टोली वीरगंज आएको बताइएको छ । उपसचिवको नेतृत्वमा आएको टोलीबारे स्थानीय प्रशासन र टोलीले केही बताएको छैन । तर राजेशमान सिंहलाई कारबाही माग गर्ने टोलीले गृहबाट छानबिन गर्ने टोली ल्याइएको, यही टोलीले छानिबन गर्ने, वीरगंजका मेयर राजेशमान सिंहसँग बयान लिने, कारबाही हुने भनेर बजारमा चर्चा गरिरहेको छ । यद्यपि शुक्रबार साँझसम्म मेयर सिंह र उनको सचिवालयलाई यसबारे केही जानकारी नभएको सचिवालयले जनाएको छ । जसले उजुरी गरेको छ, त्यही समूहले छानबिन टोलीलाई पनि बदनाम हुने गरी किन प्रचार गरिरहेको छ ? जबकि आउने टोलीले केही भनेकै छैन ।
सिंह सर्वोच्च जाने
वीरगंज महानगरका प्रमुख राजेशमान सिंह उच्च अदालतको फैसलाको पूर्णपाठ पर्खेर बसेका छन् । उनले दायर गरेको मुद्दामा आरोपी शाहबुद्धिनले सफाइ पाएपछि चित्त नबुझेको भन्दै सिंह सर्वोच्च जाने तयारीमा छन् । ‘भारतको प्रयोगशालामै विज्ञद्वारा परीक्षण हुँदा भारतीय र नेपाली कागजात भएका व्यक्ति एउटै हुन् भनेर प्रमाणित हुँदा पनि अदालतबाट सफाइ भएकामा चित्त नबुझेको भन्दै सिंह सर्वोच्च जाने तयारीमा छन्, फैसलाको पूर्णपाठ कुरिरहेका छन्,’ स्रोतले भन्यो ।