
मधेशदृष्टि
वीरगंज ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको भूमिगत कालको झल्को दिने गरि बाराको कोल्हवीमा एउटा घटना प्रकाशमा आएको छ । ‘जनयुद्ध’कालमा माओवादीले उठाएको विभिन्न मुद्दा मध्येको एक वर्गीय समानताको नाममा गाउँघरका हुने खाने वा भनौं जमिनदारहरुका विरुद्ध गरिएको कारवाही अहिले पनि आममानिसको मानसपटलमा छ । उतिबेला जनकारवाहीको नाममा गाउँका जमिनदारहरुको जग्गा कब्जा गर्ने, जग्गा जमिनमा झण्डा गाड्ने र जोतभोग गर्न निम्न वर्गीयलाई दिने कुरा आम थियो ।
वीरगंज ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको भूमिगत कालको झल्को दिने गरि बाराको कोल्हवीमा एउटा घटना प्रकाशमा आएको छ । ‘जनयुद्ध’कालमा माओवादीले उठाएको विभिन्न मुद्दा मध्येको एक वर्गीय समानताको नाममा गाउँघरका हुने खाने वा भनौं जमिनदारहरुका विरुद्ध गरिएको कारवाही अहिले पनि आममानिसको मानसपटलमा छ । उतिबेला जनकारवाहीको नाममा गाउँका जमिनदारहरुको जग्गा कब्जा गर्ने, जग्गा जमिनमा झण्डा गाड्ने र जोतभोग गर्न निम्न वर्गीयलाई दिने कुरा आम थियो ।
अहिले नदीमा धेरै पानी बगिसकेको छ, प्रचण्ड शान्तिपूर्ण राजनीतिमा आएको करिब दुई दशक पुग्न लाग्यो । तत्कालीन नेकपा माओवादीले आफ्नो नाम फेर्दै नेकपा एकीकृत माओवादी हुँदै नेकपा माओवादी केन्द्रसम्म आइपुगेको छ । ‘बुलेटबाट ब्यालेट’मा रुपान्तरण भएको माओवादीका दुई जना नेताले चार पटक प्रधानमन्त्री कै रुपमा देशकै नेतृत्व गरेका छन् । तर, पनि माओवादीका जिल्ला स्तरका नेता र कार्यकर्तामा ‘जनयुद्ध’ कै धङधङी बाँकी छ ।
बारा जिल्लाको कोल्हवी नगरपालिका–१० अमाव गाउँका अरविन्द कुमार साह र उनका काकाको नाममा करिब १७ विघा जमिन त्यहाँका माओवादी केन्द्रका केही नेताहरुले कब्जा गर्न खोजेका छन् । अरविन्द, उनका काका दिलिप प्रसाद साह र सुधिर कुमार साहको नाउँमा रहेको जमिन अहिले हदबन्दी विवादमा रहेको छ । अदालतमा मुद्दा चलिरहेको छ । तर, पर्ती जग्गा भनेर आफूलाई माओवादी केन्द्रका नेता बताउनेहरुको नेतृत्वमा त्यसलाई कब्जा गर्न खोजिएको अरविन्दको गुनासो छ । ‘जग्गामा विवाद छ, त्यसबारे अदालतमा मुद्दा चलिरहेको छ तर, उहाँहरु हाम्रो जमिनमा झण्डा गाड्ने, गाउँघरका सोझा महिलालाई जोतखन गर्न जमिन दिने प्रलोभनमा पारेर उहाँहरु हामीविरुद्ध खनिनु भएको छ ।’, अरविन्दले भने, ‘दर्जनौं महिलालाई जम्मा पारेर हामीविरुद्ध आन्दोलन र प्रदर्शन गर्न लगाउनु भएको छ । हाम्रो नमरी जग्गालाई सरकारी, पर्ती जग्गा भनेर जबरजस्ती कब्जा गर्न खोजिएको छ । हामी गाउँ जाँदा विवाद हुने र झगडाको अवस्था सृजना गर्नु भएको छ ।’
गत साउन १८ गते गाउँ गएको बेला सो जग्गाको अवस्था हेर्न पुगेका थिए । त्यहीँ मौकामा उनको जग्गा कब्जा गर्न खोज्नेहरु उनलाई र भाइलाई घेरामा हाली हातपात गरी विभिन्न धाकधम्की दिएको अरविन्दले जिल्ला प्रहरी कार्यालय बारामा दिएको जाहेरीमा उल्लेख गरिएको छ । जग्गा कब्जा गर्न पुगेकाहरुले विवाद गरेपछि उत्पन्न परिस्थितिले झडपको रुप लिएको र सो झडपमा भाइ विकास घाइते समेत भएको अरविन्दले बताए ।
उनले अभद्र व्यवहारमा कोल्हवी नगरपालिकाका नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० का मधेश प्रदेश सदस्य प्रकाश चौधरी, सिकिन्द्र कुमार कुशवाहा, प्रेम चौधरी, शान्ति माझी, राजकुमारी पासवान, करैयामाई गाउँपालिका–२ का जितेन्द्र चौधरी, सिम्रौनगढ नगरपालिका–२ का कञ्चन पासवान, बारागढी गाउँपालिका–५ का श्रीचन चौधरीलगायत ११ जना विरुद्ध जाहेरी दिए । छानबिन पछि प्रहरीले उनीहरु सबै ११ जनालाई करिब १० दिन थुनामा राख्यो । अहिले तारेखमा छुटेकाहरुले फेरी विभिन्न माध्यमबाट आफूहरुलाई धम्की दिने गरेको र मानसिक तनाव दिने गरेको अरविन्दको आरोप छ ।
तर, यस विषयमा आफूहरुले कुनै पनि दबाब, धम्की नदिएको विपक्षी प्रकाश चौधरी बताउँछन् । ‘उहाँहरु गाउँको जमिनदार हो । उहाँहरुसँग प्रशस्त जमिन छ, विवाद जमिनमा हदबन्दी लागेको छ । मुद्दा चलिरहेको छ । मुद्दाको किनारा नलागेसम्म त्यो खेत गाउँमा एक धुर पनि जमिन नभएकाहरुलाई जोतखोन गर्न दिनु पर्यो भन्ने हाम्रो भनाई छ’, चौधरी भन्छन्, ‘तर उहाँले अरुलाई जोत्न दिनु भएको छ ।’ यसै विषयमा कुशुवाहा भन्छन्, ‘हामी त अरविन्द जीलाई चिनेका छैनौं, उहाँसँग भेट पनि भएको छैन, उहाँसँग हाम्रो केही विवाद छैन, यति मात्र हो, त्यो जमिन पर्ती हो, सरकारी जग्गा हो । गाउँघरका गरिब घरपरिवारलाई जोत्न खान दिनु पर्यो ।’
यता, जोतखन गर्न दिने कि नदिने त्यो प्रहरी प्रशासन र अदालतले निर्णय गर्ने कुरा हो, तर उनीहरु हुलका हुल जम्मा भएर हाम्रो दैनिक जीवनलाई समेत प्रभावित गर्ने काम गरिरहेको अरन्दिको आरोप छ । उनीहरुको काम नै कहिले सहकारी ठगीको नाममा त कहिले मिटर ब्याजीको नाममा सोझा साझा गाउँलेलाई झक्याएर पैसा खाने र आफ्नो घर चलाउने रहेको अरविन्दको आरोप छ । ‘तपाई हेर्नुस न उजुरीमा नाम रहेका र जेल परेकाहरुको ठेगाना, करैयामाई, बारागढी, सिम्रौनगढबाट मान्छे बोलाएर, जम्मा पारेर हामीलाई धाकधम्की दिन्छन्’, अरविन्द भन्छन्, ‘सरकार र अदालतले जे निर्णय गर्छ त्यो हामीलाई मन्जुर छ । तर, उहाँहरुको हामीविरुद्धको पुर्वाग्रह ठिक होइन् । हामी शान्तिपूर्वक बस्न चाहन्छौं ।’






