
मिश्रीलाल मधुकर
जनकपुरधाम ।
जगतगुरु श्री रामभद्राचार्यजी महाराज शनिबार भारत, सीतामढीबाट जनकपुरधाम आइपुगेका छन् । भिठ्ठामोडबाट कडा सुरक्षा घेरामा आएका उनी जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवको नेतृत्वमा जानकी मन्दिर पुगेका थिए । राम भद्राचार्यजी महाराजले जानकी मन्दिरमा पूजाअर्चना गरे ।
उनलाई जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशनदास वैष्णवले स्वागत गरेका थिए । राम भद्राचार्यजी महाराजलाई जानकी मन्दिरमा दर्शनका लागि ठूलो संख्यामा श्रद्धालु उपस्थित थिए । जानकी मन्दिरले मिथिलाको खानाको व्यवस्था गरेको अवसरमा उपस्थित मिथिलाका महिलाले गीतमार्फत उनलाई स्वागत गरेका थिए । जानकी मन्दिरमा उनले भने, ‘अयोध्यामा भगवान श्रीरामको भव्य मन्दिर निर्माणले करोडौँ हिन्दूको सपना पूरा भएको छ ।’ त्यसैगरी आगामी वर्ष विश्व माता सीताको प्रकटस्थल पुनौराधाममा भव्य मन्दिर निर्माणको काम सुरु गरिने उनले बताए ।
उनले भारतमा तेस्रो पटक मोदी सरकार बन्न लागेको बताए । श्री राम भद्राचार्यजी महाराजले नेपाल र भारतमा हिन्दू जनसंख्या घट्दै गएकामा चिन्ता व्यक्त गरे । उनले निकट भविष्यमै जनकपुरधाममा पनि रामकथा गरिने बताए । उनी जानकी मन्दिरपछि अग्निकुण्डस्थित सुन्दर सदन पुगे । सुन्दर सदनका महन्त नवलकिशोर शरणले स्वागत गरेका थिए । उनीहरु विहार कुण्ड हुँदै सीतामढी फर्किएका छन् ।






