
मधेशदृष्टि
जनकपुरधाम ।
जनता सामाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय महाधिवेशनका लागि तयार गरिएको पण्डाललाई हावाहूरीले क्षति पुर्याएको छ । सोमबार राति हावाहूरीसँग भएको वर्षाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुर्याएको हो ।
एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम भइरहेकामा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा क्षति भएको हो । हावाहूरीका कारण गाडिएको बाँस ढलेको छ । टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डले हावाहूरीका कारण करिब ८ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताए । उनले ६५ लाख रुपैयाँमा टेन्ट लगाउने ठेक्का लिएकामा पण्डाल बनाउन बजारबाट ५२ लाख रुपैयाँ भन्दा बढी रकम उठाइसकेको बताए ।
मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो भने अब त्यसमाथि त्रिपाल लगाउने काम बाँकी थियो । मण्डलले महाधिवेशन अगावै पुनः पण्डाल निर्माणको काम पूरा हुने बताए । जसपाको जेठ २८, २९ र ३० गते महाधिवेशन हुँदै छ ।






