वीरगंजको शानः आत्मरक्षा तालिममा विश्व कीर्तिमान

[mashshare]

वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका हजारौँ छात्रालाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न लागेकामा खुशी लागेको छ । र, यस्तो तालिमले छात्रामा आत्माविश्वास बढ्नेछ ।
–प्रदीप यादव
खानेपानी मन्त्री, नेपाल सरकार

आत्मरक्षा तालिम शुरुवात मात्रै हो, सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ता शुक्रबार मार्शल आर्टस् सिकाइनेछ, १२ हजार ९ सय ७४ जनाको फारम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको छ ।
–राजेशमान सिंह
मेयर, वीरगंज महानगर

मधेशदृष्टि
वीरगंज ।

मधेश प्रदेशको एक मात्र महानगर वीरगंजले किशोरीलाई आत्मरक्षा तालिममा विश्व कीर्तिमान बनाएको छ । महानगरपालिकाले बुधबार आदर्शनगरमा एकसाथ नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १२ सम्मका पुगनपुग १४ हजार छात्रालाई आत्मरक्षाका लागि प्रशिक्षण दिएर कीर्तिमान बनाएको हो । आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डा. चिता यजनेश शेट्टीले १३ हजार ९ सय छात्रालाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएपछि महानगरको नयाँ कीर्तिमान कायम भएको छ ।

वीरगंज महानगरपालिकाको आयोजना र नेपाल भारत सहयोग मञ्चको समन्वयमा तालिम भएको हो । खानेपानी मन्त्री प्रदीप यादवले तालिम उद्घाटन गर्दै सरकारले महिला सशक्तिकरणका लागि दीर्घकालीनरुपमा ठोस कार्यक्रम सञ्चालन गरिने बताए । उनले वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका हजारौँ छात्रालाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्रामा पनि आत्मविश्वास बढ्ने बताए । नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निःशुल्क तालिम दिँदा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै उनले सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने नीति लिएको बताए ।

खानेपानी मन्त्री यादवले मधेशमा महिला हिंसाका घटना बढिरहेका बेला तालिमले महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश जाने बताए । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले छात्रालाई दिइएको तालिम शुरुवात मात्रै भएको बताउँदै वीरगंजका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ता शुक्रबार आत्मरक्षाका लागि मार्शल आर्टस्सम्बन्धी प्रशिक्षण दिइने बताए । सिंहले वीरगंज महानगरपालिकामा तालिम लिन १५ हजार १ सय छात्राले नाम दर्ता गराएकामा १२ हजार ९ सय ७४ जनाको फारम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिए । उनका अनुसार, यसअघि भारतको आग्रास्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्रालाई आत्मरक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको बताए ।

मेयर सिंहले निर्वाचनका बेला वीरगंजका महिलालाई मध्यरातमा पनि निर्धक्कसँग हिँड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता जनाएको स्मरण गर्दै भने, ‘महिला र किशोरीको मनोबल बढाउन आत्मरक्षाको तालिम शुरुवात गरिएको हो, कोही पनि छोरीचेली डराएर हिँड्नु पर्ने अवस्था विस्तारै अन्त्य हुँदै जाने छ ।’ उनले अब ‘मान्छे त के मृत्यु पनि मे आइ कम इन ?’ भनेर सोधेर आउनुपर्ने अवस्था बनाउने बताए ।

वीरगंज उपमहानगरका उपमेयर इम्तियाज आलमले महिला दिदीबहिनीले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएकामा धन्यवाद दिँदै तालिममा धेरै कुरा सिक्न सकिने र आफ्नो सुरक्षा आफैँले गर्न सक्ने क्षमता प्राप्त हुनसक्ने उपायबारेमा बताए । तालिमका मुख्य प्रशिक्षक डा. यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीलाई दिइने प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशीर्वाद पाएजस्तो हुने बताए । उनले आत्मरक्षा गर्ने कलाले शक्तिशाली ऊर्जा प्राप्त हुने र यसले जीवन संकटमा परेका बेला महत्वपूर्ण सहयोग पुग्ने बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा र वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महावाणिज्यदूत देवी सहाय मिणालगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button