
मिश्रीलाल मधुकर
जनकपुरधाम ।
जनकपुरधामको मारवाड़ी सेवा समितिको सभागृहमा आइतबारदेखि अयोध्याका कथावाचक महन्त गणेशजी महाराजबाट नौदिने सांगीतिक रामकथा सुरु भएको छ । राजस्थानको जयपुरस्थित त्रिवेणी सत्संग धामका महन्त राम रिछपालजी महाराजको मार्गदर्शनमा रामकथामा भारतका विभिन्न प्रान्तबाट उनका शिष्यहरुको सहभागिता छ ।
जगतजननी सीता माताको नगर जनकपुरधाममा रामकथा र छप्पनभोग गर्ने नेपाल चतराधाममा प्रतिज्ञा गरेको कथाकारले बताए । रामकथाअघि राम रिछपाल महाराजको नेतृत्वमा रामचरित मानससहित नगर परिक्रमा निकालिएको थियो ।
रामकथाको पहिलो दिन कथिकारले रामचरित मानस (रामायण)को महत्व र नारीको चरित्रबारे विस्तृतमा उल्लेख गरेका थिए । उनले प्रत्येक सनातनीले नारीको सम्मान गर्नुपर्ने बताए । हरेक युगमा महिलाले योद्धाको भूमिका निर्वाह गर्दै राष्ट्र र धर्मको रक्षा गरेको उनको कथन थियो ।






