
मधेशदृष्टि
वरिगंज ।
प्रहरीले पक्राउ गरेका नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक (एमडी) शहनबाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई रिहा गर्न माग गर्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले प्रदर्शन गरेका छन् । सोमबार मेडिकल कलेजको ल्याबमा वीरगंज महानगरको अनुगमन समितिले अनुगमन गर्नेक्रममा म्याद सकिएका केमिकललगायतका औषधी बरामद भएपछि प्रहरीले मेडिकल कलेजका एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेका अन्सारीको स्वास्थ्य अवस्था बिग्रिएपछि सोमबार राति नै उनलाई वीरगंज हेल्थकेयर हस्पिटलमा भर्ना गरिएको छ । प्रहरीले पूर्वाग्रही भएर एमडी अन्सारी र ल्याब प्रमुख साहलाई पक्राउ गरेको भन्दै मेडिकल कलेजका स्वास्थ्यकर्मी र कर्मचारीले मंगलबार दिउँसो प्रदर्शन गरेका हुन् । हातमा झाडु र पोष्टर लिएर जिल्ला प्रहरी कार्यालय पर्साअगाडि पुगेका १ सय ५० जनाको संख्यामा रहेका उनीहरुले प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए । एमडी अन्सारी र ल्याब प्रमुख साहलाई विनाशर्त रिहा गर्नु पर्ने उनीहरुको माग छ ।
यसैबीच मंगलबार नै मेडिकल कलेज प्रशासनले प्रेस विज्ञप्ति जारी गर्दै एमडी अन्सारी र ल्याब प्रमुख साहलाई प्रहरीले पूर्वाग्राही भएर नियन्त्रणमा लिनु अन्यायपूर्ण र अनुचित रहेकाले तत्काल दुवै जनालाई रिहा गर्न माग गरेको छ । यस्तै, नेपाल चिकित्सक संघ, नारायणी कमिटीले नेशनल मेडिकल कलेज, वीरगंजबाट संघका आजीवन सदस्य डा. संजय कुमार साहलाई मानमर्दन हुने गरी आपराधिक शैलीमा पक्राउ गरेको घटनाको विरोध गरेको छ ।
सचिव नौसाद हकले जारी गरेको विज्ञप्तिमा प्रयोगशाला नियामक निकायको निर्देशन, दिशानिर्देश, प्रकृया, कार्यविधि र प्रोटोकलको कडाईका साथ पालना गरिएको र कुनै पनि रिएजेन्ट तथा केमिकलको म्याद गुज्रिनु सामान्य प्रक्रिया भएकाले त्यस्ता रिएजेन्टको निश्चित मापदण्ड अपनाएर मात्र डिस्पोज गर्नु पर्ने प्रावधान रहेको बताइएको छ । विज्ञप्तिमा प्रयोगशालाको मेसिन तथा उपकरण पूर्ण स्वचालित भएकाले कुनै पनि म्याद गुज्रेका रिएजेन्ट भुलवश प्रयोग भए मेसिनले आफैँ रिजेक्ट गरिदिने सिस्टम रहेको बताइएको छ ।
पेशागत दायित्व निर्वाह गर्नेक्रममा सामान्य कमीकमजोरी त्रुटि भए सत्यतथ्य छानबिन गर्ने कानुनी विधि प्रक्रियाअनुसार सम्बन्धित निकायले गम्भीरता अपनाउनु पर्नेमा अतिरञ्जना गरिएको र डा. साहलाई ससम्मान अबिलम्ब रिहा गर्न विज्ञप्तिमा भनिएको छ ।
विना डाक्टर मेडिकल कलेजमा अनुगमन हुन्छ ?
–डा. जैनुद्दिन अन्सारी
अध्यक्ष, नेशनल मेडिकल कलेज
कुनै पनि मेडिकल कलेज अनुगमनमा डाक्टरको पनि अनिवार्य व्यवस्था हुन्छ । मेडिकल कलेजको अनुगमन बजार अनुगमन या कुनै पसलको अनुगमन जस्तो सामान्य होइन । यो कुरा हामीले भन्न नभ्याउँदै अनुगमन टोली सामान्य मेडिकल प्रक्रिया पनि पूरा नगरी कलेजमा छिरे । उनीहरुलाई स्टे«लाइजसमेत गर्न भ्याइएन ।
मेडिकल कलेजमा ल्याब हेर्ने जिम्मेवारी डाक्टरकै हुन्छ । हाम्रो कलेजमा भएको यो हस्तक्षेप शैलीको अनुगमनले अनेक प्रश्न उब्जिएको छ । वीरगंज महानगरपालिकासँग पनि कुरा गरेँ । हाम्रो काम अनुगमनको पाटो हो, मान्छे समात्ने विषय होइन भन्ने जवाफ आयो । कुनै पनि मेडिकल कलेजमा अनुगमनका लागि युनिभर्सिटी, मेडिकल काउन्सिल, माइक्रोबायोलोजी, बायो केमेस्ट्रीबारे जानेको व्यक्ति पो आउनु पर्छ । यहाँ त अनुगमनका नाममा नेतागिरी गर्नेहरु कलेज छिरे ।
कलेजमा पढाइ पनि हुन्छ । त्यहाँ पढाउनका लागि अनुमति नै लिएर केमिकल र रिएजेन्ट राखिएको हुन्छ । त्यो कुनै मेसिनमा प्रयोग पनि हुन्न । ५ करोड रुपैयाँ माथिका अटोमेसिनले त्यस्ता केमिकल स्वतः फालिदिन्छ । त्यस्तो केमिकल राखेर उपचार, परीक्षणको कुरै उठ्दैन । यस्तो कुरा बुझ्ने काम डाक्टरको हो । जो अनुगमनमा थिएनन् ।
कलेजमा विद्यार्थीलाई पढाउन राखिएको केमिकल र रिएजेन्ट नष्ट गर्न पनि अनुमति चाहिन्छ । तर यहाँ त म्याद नाघेको भन्दै जबर्जस्त उठाएर लगिदिए । स्वास्थ्य मन्त्रालयको गाइडलाइनअनुसार नै कलेज चलाएका छौँ । रिएजेन्ट एक्सापायर भए पनि कलेजमै राख्नु पर्ने व्यवस्था छ । सहजै डिस्पोज गर्न सकिन्न, गाइडलाइनअनुसार नै काम गर्नु पर्छ । हामीले कलेज अनुगमनमा कुनै डाक्टर लिएर आउनुहोस् भन्दा मानेनन् । अनुसन्धान होस्, कुनै पिर छैन, अवरोध गर्दैनौँ । तर यहाँ त अनुगमनका नाममा अस्पतालका डाक्टर र प्रबन्ध निर्देशकलाई पनि थुन्ने काम भयो । म्याद थप गरिएको छ । अनुगमनको उद्देश्य होः कुनै पनि म्याद नाघेका सामान जफत र कानुनअनुसार जरिवाना । यो भन्दा बढी भनेको कम्पनी, अफिस, कलेजमा सिल गर्ने मापदण्ड छ । उस्तै बदमासी भए पछि लाइसेन्स रद्दसमेत हुने व्यवस्था छ । तर मान्छे समातेर अपराधीजसरी थुन्ने काम भयो । यो काम प्रहरीको पूर्वाग्रहजस्तो लागेको छ । हामीले त भोग्यौँ, अरु कुनै मेडिकल कलेजले डाक्टरविनाको अनुगमन टोलीको यसरी नै सिकार हुन नपरोस्, हामीलाई पनि तत्काल न्याय मिलोस् ।
(कुराकानीमा आधारित)






