
सञ्जय मिश्रा
रौतहट ।
सदरमुकाम गौर नगरपालिकाका मेयर शम्भु साहले कुनै पनि मूल सडक निर्माण हुँदा सडक छेउका किसानको खेत खनेर खाल्डो बनाउने काम गलत भएको बताएका छन् ।
उनले गौर चन्द्रनिगाहपुर सडक खण्ड ४ लेन निर्माण प्रक्रिया अगाडि बढाउन शनिबार गौर नगरपालिकामा भएको दुई पक्षीय छलफलमा सडक विस्तार गर्न खाल्डो बनाउनु सरासर अन्याय भएको बताए । सडक छेउका किसानका खेतमा खाल्डो खन्ने काम गर्न नहुने भन्दै उनले ठेकेदारले बाहिरबाट माटो ल्याएर सडक निर्माण गर्नु पर्ने बताए ।
जनप्रतिनिधि र ठेकेदारको लेनदेनका भरमा सडक वरिपरिका खेतमा जथाभाबी खाल्डो खनेको पाइएको र वर्षामा पानी जमेर कैयौँ बालबालिका डुबेर ज्यान जाने जोखिम रहेको बताउँदै साहले भने, ‘किसानको खेत खन्ने काम बन्द होस्, चारलेनको सडक पनि निर्माण होस् ।’ गौरको बिपी चोकदेखि चन्द्रनिगाहपुरको माथिल्लो बजारसम्मसाथै बिपी चोकदेखि भारतीय सिमानासम्म सडक छेउमा बक्स नाला निर्माण गर्न उनले सुझाव दिए ।
सडकको उचाई घटबढ नभई मध्यम हुनुपर्ने उनको सुझाव थियो । ‘निर्माण कार्यमा गुणस्तरमा कुनै सम्झौता हुने छैन,’ साहले भने, ‘४२ किलोमिटर सडक चारलेन हुने गरी बीचमा ३ मिटरको डिभाइडर, दुवैतर्फ ७.५ मिटर सडक, १.५ मिटर नाला ,बीचमा वृक्षारोपण, वाटर ट्रिटमेन्ट प्लान्ट, कज्बे (लच्का) निर्माण जरुरी छ ।’
गौर नगरपालिकाको सभाकक्षमा भएको छलफलमा मेयर साहका साथै डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दीपेन्द्र पाण्डे र नगर कार्यापालिका बोर्ड सदस्यको सहभागिता थियो ।






