बलिरामपुर–मुसहरवाबाट दिनरात तस्करी

[mashshare]

गस्तीमा प्रहरीको गाडी निस्केको सूचना घुमुवाबाटै तस्करसम्म पुग्ने गरेकोले प्रहरी गस्तीमा निस्कँदा कारोबारी सुरक्षितसाँग लुकेर धमाधम तस्करी गरिरहेका छन् ।

मधेशदृष्टि
बारा ।
देशकै ठूलो आर्थिक नाका वीरगंज भन्सारमा सशस्त्र प्रहरीको कडाइपछि तस्करहरुले सीमावर्ती जिल्लाका ग्रामीण इलाकाहरुमा आँखा लगाएका छन् । वीरगंजमा तस्करी नियन्त्रण हुँदै गएपछि केही तस्करहरु भने रुपन्देहीको भैरहवा नाकातिर सरेका छन् । वीरगंजमै बसिरहेका तस्करी कारोबारीहरु भने बारा र पर्साका ग्रामीण इलाकातिर सरेका हुन् ।

पर्साका ग्रामीण इलाकाबाट कारोबार गरिरहेका उनीहरु मधेशदृष्टिले लगातार समाचार प्रकाशन गर्दा त्यहाँ पनि निगरानीमा परेपछि बाराको बलरामपुर–मुसहरवा नाकातिर सरेको पाइएको छ । बलरामपुर–मुसहरवा नाका हुँदै तस्करहरुले बाराको जीतपुरसम्म मोटरसाइकल तथा साइकलबाटै काजु, छोकडा, चिनी, लत्ताकपडालगायतको तस्करी दिन दुई गुणा रात चौगुणाका दरले गरिरहेको पाइएको छ । यो काममा भारत बिहार राज्यको श्रीसियाका अखिलेश यादवले निकै सक्रियता बढाएका छन् । उनले नाकाबाट चिनी, काजु, छोकडा नेपाल भित्र्याइरहेका छन् । यस्तै, बारा, जीतपुरका सरोज भनिने व्यापारीले कपडा आयात गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र पर्साका प्रमुखहरुले सीमानाकामा कडाई गरे पनि सीमाका चौकीका इञ्चार्ज र घुमुवा प्रहरीले लोभ गर्दा बारा र पर्सामा पूर्णरुपमा तस्करी नियन्त्रण भने हुनसकेको छैन । फलस्वरुप प्रहरीका सीमा इन्चार्ज र केही घुमुवा प्रहरीकै सहयोगमा तस्करहरुले मालसमान ओसारपसार गरिरहेका छन् । बलरामपुर चौकीका इञ्चार्ज रवीन्द्र साह तुरहाले ३० केजीसम्मका ससाना पोका र बोरामा सामान ल्याउन ‘लाइन’ दिएपछि तस्करहरुले एकैपटक धेरै सामान ओसारपसार गर्न नपाइने भएकाले २४ सै घण्टा तस्करी गरिरहेका छन् । यो काम व्यवस्थित गर्न शैलेश त्रिपाठी नामका घुमुवा परिचालन भएका छन् ।

यता, बाराबाट आएको तस्करीको सामान वीरगंज हुँदै हेटौँडा, नारायणगढ, पोखरा, काठमाडौँ र पूर्वतिर पठाउनका लागि गण्डक प्रहरी चौकी नौतनका घुमुवा भुषण पनि सहयोगी बनेको स्रोतको दाबी छ । ससाना पोका र बोरामा तस्करी गर्न लाइन खुलाइएकाले दिनरात नै तस्करी भइरहेको छ । गस्तीमा प्रहरीको गाडी निस्केको सूचना घुमुवाबाटै तस्करसम्म पुग्ने गरेकोले प्रहरी गस्तीमा निस्कँदा कारोबारी भने लुक्ने गरेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button