अकुत सम्पत्ति आर्जनमा अमरेशविरुद्ध उजुरी

[mashshare]

मधेशदृष्टि
सर्लाही ।
सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य डा.अमरेशकुमार सिंहले गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरेकाले छानबिन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

कुनै व्यापार–व्यावसाय नभएका सांसद डा. सिंहले नेपालमा नेवारी समुदायका व्यापारीले १२ पुस्तासम्म उद्योग व्यवसाय गर्दा पनि कमाउन नसकेको सम्पत्ति र नेपालमा मारवाडी समुदायले चार पुस्तादेखि उद्योग कलकारखाना सञ्चालन गरेर पनि कमाउन नसकेको सम्पत्ति १८ वर्षमै राजनीति गरेर कमाएको र त्यसको वैध स्रोत नरहेको भन्दै गैरकानूनीरुपमा अकुत सम्पत्ति आर्जन गरेकाले छानबिन गरेर कारबाही माग गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उजुरी परेको हो । उजुरी मधेशदृष्टिलाई पनि प्राप्त भएको छ । २०८० वैशाख २५ गते दर्ता भएको उजुरीमा ‘नेपालको जनआन्दोलन–२ पश्चात २०६३ मा गठित अन्तरिम व्यवस्थापिका सांसदको सदस्य बनेका डा. सिंहसँग तत्कालीन समयमा पैतृक सम्पत्तिका रुपमा सर्लाहीको बलरा नगरपालिकामा करिब एक बिघा १० कठ्ठा जग्गा र त्यसको मूल्य करिब २० लाख रुपैयाँ मात्रै रहेको उल्लेख छ ।

उनी सासंद बनेको केही समयमै गाउँमा करिब दुई बिघा जग्गा खरिद गरिएको र सोही जग्गामा सुविधासम्पन्न अढाइतले पक्की घर, सदरमुकाम मलगंवामा भाइका नाममा करोडौँ मूल्य पर्ने बहुमूल्य घडेरी, झापाको भद्रपुरमा छ करोड रुपैयाँ भन्दा पनि बढी पर्ने बहुमूल्य जग्गा ससुरा सुरेश सिंहका नाममा खरिद भएको बताइएको छ । यस्तै, आर्थिक वर्ष २०७५–७६ मा व्यस्थापिका संसद सचिवालयमा बुझाइएको सम्पत्ति विवरणमा डा. सिंहले चलअचल सम्पत्तिका रुपमा रहेको सुन ४० तोला, चाँदी दुई सय तोला र एक क्यारेट हीरा मात्र रहेको उल्लेख भए पनि सासंद बनेको केही वर्षमै ललितपुर उपमहानगरपालिका–४, सैंबुको कित्ता नम्बर १००९ र कित्ता नम्बर ८५१ मा डा. सिंह र उनकी भाउजु मनोरमाका नाममा ५० करोड रुपैयाँ भन्दा बढी मूल्याकंन रहेको डेढ रोपनी जग्गामा सुविधासम्पन्न तीन तले तथा चार तले घर निर्माण भएको बताइएको छ । घरमा डा. सिंह स्वयम् बसिरहेको, ललितपुरको मेडिसिटी अस्पतालनजिकै ललितपुर उपमहानगरपालिका–८, सैंबुको कित्ता नम्बर ८८४, कित्ता नम्बर ८८५ तथा कित्ता नम्बर ८८६ मा रहेको डेढ रोपनी जग्गा करिब २५ करोड रुपैयाँ भन्दा बढीको रहेको बताइएको छ ।

यस्तै, ललितपुर उपमहानगरपालिका–१७ मा सांसद डा. सिंहकी बहिनीका नाममा चार तले घरसहितको घडेरी, बहिनी ज्वाइँ सञ्जय झाले सञ्चालन गरेको केन्ट कलेज र एपी कलेज बुद्वनगरमा डा. सिंहको करोडौँ मूल्य पर्ने सेयर, बैंक सञ्चालकसमेत रहेका बासु श्रेष्ठका नाममा काठमाडौका व्यापारीसँग विभिन्न बैंकमा सेयर खरिद गरेको पनि उजुरीमा उल्लेख छ । काठमाडौंका छाउनी कोलोनीमा समेत सेयर लगानी, कालिमाटी तथा फलफूल व्यापारी र कबाडी सामग्री सञ्चालकलाई सांसद डा.सिंहले मिटरब्याजमा ऋण लगानी गरी अनुचित ब्याजसमेत लिई गैरकानूनी कामकाज गर्दै आएको पनि उजुरीमा उल्लेख छ ।

भारतको नयाँ दिल्लीमा दाजु शैलेन्द्रको कान्छी बुहारी मेघाली मजुमदारका नाममा करिब छ करोड भारतीय रुपैयाँ भन्दा बढीको घर खरिद, सांसद डा. सिंहले दोस्रो पत्नी लक्ष्मी जोशीका नाममा विभिन्न बैंक तथा वित्तीय संघसंस्थामा सेयर लगानी गरी नेपालका विभिन्न ठाउँमा बहुमूल्य घरघडेरी खरिद गरेको र उनले प्रयोग गरिरहेको बा१५च ११४३ नम्बरको स्करपियो पनि अरुको नाममा राखेको उजुरीमा उल्लेख छ । सर्लाहीको बलरास्थित रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा पहिलेदेखि निर्माण रहेको भवन तथा सभाहल देखाएर संसदीय विकास कोषबाट करिब एक करोड रुपैयाँबराबरको योजना ल्याई रकम संसदीय पूर्वाधार विकास कोषबाट निकासासमेत गराएर सांसद डा. सिंहलाई भ्रष्टाचार निवारण ऐन–२०५९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन–२०६४ अनुसार कारबाही माग गरिएको छ ।

१५ वर्षमा कसरी कमाए सम्पत्ति ?
‘तँ उद्योग खोल्लास्, ऊ पार्टी खोल्छ, तँ बैंक ऋण खोज्लास्, ऊ चन्दा–फिरौती लिन्छ । तँ मजदुर भर्ना गर्लास्, ऊ कार्यकर्ता भर्ना गर्छ । तँ सामान बनाऊँ भन्लास्, ऊ देशै बनाऊँ भन्छ । ए बाबु, कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल ।’ २० वर्षअघि कृष्णमुरारी गौतमले लेखेको यो कविताको अंशलाई व्यंग्य मात्र ठानियो । उनीहरु अहिले पनि सडकमा लखरलखर हिँडिरहेका छन् । ऋणले चुर्लुम्म डुबेका छन् । जसले गुरूमन्त्र ठाने, उनीहरु राजनीतिलाई व्यवसाय बनाएर छोटो समयमा अर्बपति बनेका छन् । यस्तै राजनीतिमा लागेर छोटो समयमै अर्बपति बनेका पात्रमध्ये एक पात्र हुन् सांसद डा. सिंह ।

सांसद डा. सिंह राजनीतिमा किन लागे ? राजनीतिमा लागेको छोटो अवधिमै के कसरी अर्बपति बने भन्ने विषयमा अहिले चोकचौतारामा निकै चर्चापरिचर्चा हुन थालेको छ । किनभने उनले फिल्मीशैलीमा राजनीतिमा आगमन गरे र सम्पत्ति आर्जन गरे । सबै पेशा वा व्यवसाय असफल भएपछि २०६३ सालमा ३४ वर्षको उमेरमा सांसद डा. सिंहले राजनीति शुरु गरेका हुन् । नेपालमा २०६२–६३ को जनआन्दोलन हुँदा उनी भारतको दिल्लीमा ट्युसन पढाउँदै र पढ्दै गर्थे । त्यहीबेला उनले सि ग्रेडका केही भारतीय नेता र नेपालका केही माओवादी नेतासँग सम्पर्क बढाए ।

राजाको सक्रिय शासनका बेला संसदवादी दलका केही नेता पनि स्वदेशमा बस्न नसक्ने अवस्था बन्यो र उनीहरु पनि दिल्ली गए । सांसद डा. सिंहका बंगालीमूलका एक साढुभाइ भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीका मान्छे थिए । उनैलाई प्रयोग गरेर सांसद डा. सिंहले माओवादी नेता र भारतीय कम्युनिष्ट पार्टी र एमालेका नेताबीच चिनजान गराइदिए । संयोगले दिल्लीमा संसदवादी दल र माओवादीवीच १२ बुँदे सम्झौता भयो । चतुर सांसद डा. सिंहले यो सम्झौता आफूले गराइदिएको भन्न थाले । माओवादी, एमाले र कांग्रेसका सि ग्रेडका कतिपय नेताले विश्वास पनि गरे । स्कुल पढ्दादेखि नै नाटकका क्षेत्रमा सांसद डा. सिंह सिंह खप्पिस थिए ।

त्यसपछि उनी एक साप्ताहिक पत्रिका चलाउने व्यवसायीको गाडी चढेर पुष्पकमल दाहाल प्रचण्डकहाँ पुगे । प्रचण्डकहाँ पुगेर गिरिजाप्रसाद कोइरालाको अत्यन्तै निकट रहेको विश्वास दिलाए । यसपछि उनलाई प्रचण्ड र कोइरालाको ढोकाभित्र छिर्न कुनै समस्या परेन । २०६३ को परिवर्तनपछि उनी नेपाल आए । महन्थ ठाकुरको गाडीमा बसेर कोइराला भेट्न पुगे । कोइरालासँगको भेटघाटमा उनले प्रचण्डसँग आफ्नो अति नै निकट सम्बन्ध भएको विश्वास दिलाए । त्यसपछि पत्रकार ऋषि धमलाको पछि लागेर भारतीय राजदूतावासभित्र छिरे । त्यहाँ पुगेर आफू प्रचण्ड र गिरिजाप्रसाद कोइराला दुवैको अत्यन्तै निकट बनेको र दिल्लीको साउथ ब्लकमा आफ्ना नातेदारको बलियो पकड रहेको विश्वास दिलाए ।

यसपछि जुनसुकै सर्वदलीय बैठकमा पनि उनी सरासर जान थाले । कांग्रेसलाई लाग्थ्यो, माओवादीको मान्छे होला । माओवादीलाई लाग्थ्यो कांग्रेसको मान्छे होला तर एकदिन सर्वदलीय बैठकमा अमिक शेरचनले उहाँ को हो ? के हैसियतले बैठकमा आउनुभएको हो भनेर कोइरालालाई सोधे । कोइरालाले भने,‘तपाईंहरुको मान्छे होइन र उहाँ ?’ यसपछि सबै मुखामुख गर्न थाले । कालोनिलो भएका सांसद डा. सिंहले आत्तिँदै जवाफ दिए, ‘१२ बुँदै सम्झौताको एउटा पक्षको प्रतिनिधित्व गर्दै यहाँ आएको हुँ । अन्यथा नलिनुहोस् ।’ तर नेताहरुले शंका गरेकाले भोलिपल्टदेखि उनलाई बालुवाटर छिर्न रोक लगाइयो तर उनी नेपाली कांग्रेसको कोषाध्यक्ष महन्थ ठाकुरको चालक तथा स्वकीय सचिव बनेर बालुवाटार छिरिरहे । प्रधानमन्त्री कोइरालाले पनि आपत्ति जनाएनन् ।

२०६२–६३ को जनआन्दोलनपछि संसद छिरेका उनले त्यसपछि आर्थिक हैसियत यसरी बढाए कि उनलाई नजिकबाट चिन्ने साथीहरु नै जिल्ल परे । जब २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसका अधिकांश नेताले पार्टी छाडेर मधेशी दलमा लागे । तब डा. सिंहले कांग्रेसभित्र स्थान बनाए । २०६४ को संविधानसभा निर्वाचनमा पराजित उनले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रत्यक्षमा टिकट पाए ।

सर्लाही क्षेत्र नम्बर ४ कांग्रेसको अत्यन्तै उर्वर ठाउँ हो । ठाकुरले कांग्रेस छाडेपछि त्यो क्षेत्र सांसद डा. सिंहले पाए । ठाकुरलाई हराउँदै चुनाव जितेपछि उनले देशव्यापी चर्चा पाउनु स्वाभाविकै थियो । २०६४ को संविधानसभा चुनावअघिसम्म उनी काठमाडौ बुद्धनगरको एउटा छिँडीको कोठामा बस्थे । थोत्रो मोटरसाइकल थियो । केही उच्च माध्यमिक विद्यालयमा हेल्मेट शिक्षकका रुपमा पढाउँथे तर २०६४ पछि उनको आर्थिक हैसियत एकाएक उकालो लाग्यो । त्यसपछि उनले ‘तपाईंलाई टिकट मैले मिलाइदिएको हो, मलाई चुनाव खर्च चाहियो’ भन्दै पैसा उठाउने धन्दा शुरु गरे । कांग्रेसको टिकट पाएका अन्य सिधासाधा कार्यकर्ताले चन्दा पनि दिए । सांसद भइसकेपछि भने उनको धन्दा धेरै नै फष्टायो । नेपालको राजनीतिमा भारतको प्रभाव हावी छ भनेर कम्युनिष्टहरुले त नेपालीहरुको दिमाग भुटिदिएकै थिए । त्यसमाथि एउटा साप्ताहिकमा नियमित समाचार आउन थाल्यो, ‘सांसद डा. सिंह भारतको अत्यन्तै नजिकका मान्छे हुन् । उनले जसलाई चाहन्छन्, उसलाई मन्त्री बनाउन सक्छन् । राजनीतिक नियुक्ति दिलाउन र चुनावमा टिकट दिलाउन सक्छन् ।’

मिलेमतोमा लेखिने यो समाचार सांसद डा. सिंहको धन्दाका लागि विज्ञापन थियो । खरदारको सरुवाका लागि समेत उनीकहाँ मान्छे पुग्न थाले । काम बन्यो भने मैले गरिदिएको भन्दै मोटो रकम लिने । काम नबने अर्को लटमा हुन्छ भन्दै थुम्थुम्याउने गर्न थाले । सर्लाहीकै कांग्रेस नेता विकासकुमार ठाकुरका अनुसार, नेपालका २५ धनी व्यक्तिको सूची तयार गर्ने हो भने सांसद डा. सिंहको नाम पनि आउँछ । उनको भारत, अष्ट्रेलिया, पोर्चुगललगायत करिब ११ देशमा घरजग्गा तथा व्यवसाय भएको बताइन्छ । त्यो बेला भारतीय दूतावासले स्थानीयतहमै सिधै दुई करोड रुपैयाँसम्मका परियोजनामा प्रत्यक्ष आर्थिक सहयोग गथ्र्यो । दुतावासका केही कर्मचारीसँग मिलेर आफ्नो निर्वाचन क्षेत्रमा करिब ७० वटा यस्ता परियोजना लगे । करिब आधा रकम अनियमितता भयो । कांग्रेस नेता ठाकुरका अनुसार, उनको भारतमा चार वटा पाँचतारे होटलमा ठूलो लगानी छ । त्यो लगानी हेर्ने जिम्मा सांसद डा. सिंहले मजुमदार थरका साढुभाइलाई दिएका छन् ।

सांसद डा. सिंहको राजनीतिक शुरुवातीदेखि अहिलेसम्म नजिकबाट चिनेका सर्लाहीकै कांग्रेस नेता ठाकुरका अनुसार, जनयुद्धकालमा शान्तिको पहल गर्ने नेताका पछाडि लागेर माओवादीको हवाला दिँदै व्यापारी धम्काउँदै करोडौँ असुलेका सांसद डा.सिंहले अकुत सम्पत्ति जोडेका छन् । उनले आर्जन गरेको अकुत सम्पत्ति छानबिन हुने सम्भावना पछिल्ला दिनमा बढेको छ तर विदेशमा रहेको सम्पत्ति छानबिन सहज छैन । नेपालभित्रै रहेको सम्पत्ति पनि कहालीलाग्दो छ ।

राज्य सञ्चालकहरुलाई भारतको डर देखाएर प्रहरी र कर्मचारी सरुवा बढुवाबाट पनि उनले अकुत सम्पत्ति आर्जन गरेका स्रोतको दाबी छ । उनको वास्तविक हैसियत थाहा भएपछि प्रहरीहरु नै अनुसन्धानका लागि अघि बढेका छन् । आफू कुनै पनि बेला अकुत सम्पत्ति कमाएको अभियोगमा जेल जानुपर्ने संकेत देखेर अत्तालिएका सांसद डा. सिंह यतिबेला अत्यन्तै चर्का कुरा गर्न थालेका छन् ।

‘अक्टोपस’को नामले चिनिने सांसद डा. सिंहलाई २०७९ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रको बहानामा कांग्रेसका बागी उम्मेदवार बनेका थिए । उनले निर्वाचन त जिते तर अहिले जनता पछुताएका छन् । उनी आफ्नो निर्वाचन क्षेत्र आउँदा राजा आए झैँ तामझाम हुने गरेकामा अहिले कोही वास्ता गर्दैनन् । उनले चोकचौतारामा मानिस बसेको ठाउँमा गएर जनता भेटघाटको हवाला दिने गरेको सर्लाहीका कांग्रेस नेताहरु नै बताउँछन् । कांग्रेस नेताहरुले उनको पछिल्ला विभिन्न किसिमका गतिविधिबाट राजनीतिक संस्कार नभएको मानिस भन्न थालेका छन् । यस विषयमा बुझ्न सांसद डा. सिंहलाई फोन गर्दा उनले फोन उठाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button