नगर अस्पतालद्वारा ३३ हजार बढीलाई सेवा

[mashshare]

एसपी गौरव
सर्लाही ।
लालबन्दी नगरपालिका–९ स्थित लालबन्दी नगर अस्पतालले एक वर्षको अवधिमा ३३ हजार भन्दा बढी बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०–८१ को अवधिमा ३३ हजार एक सय ९७ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको नगर अस्पताल लालबन्दीका प्रमुख डा.चन्दन चौधरीले जानकारी दिए ।

उनका अनुसार नगर अस्पतालमा प्रत्येक वर्ष बिरामीको संख्या बढ्दो अवस्थामा छ । अस्पतालमा लालबन्दी नगरपालिकाका अतिरिक्त जिल्लाका अन्य स्थानीय तह र सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाबाट समेत स्वास्थ्य सेवा लिन आउने सेवाग्राही रहेको डा.चौधरीले बताए । आर्थिक वर्ष २०८०–८१ मा नगर अस्पतालले पाँच सय छ वटा प्रसूती सेवा प्रदान गरेको नगर अस्पताल लालबन्दीले ल्याब सेवातर्फ ४५ हजार वटा लगायत अन्य सेवा प्रदान गरेको नगर अस्पतालका प्रमुख डा.चौधरीले बताए । ‘बढ्दो शहरीकरणसँगै नगर अस्पताल लालबन्दीबाट प्रदान हुने सेवामा सुधार र थप भएपछि सेवाग्राहीहरुको चाप बढेको र हाल भइरहेकै जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ,’ उनले भने ।

नगर अस्पतालमा ३४ जनाको दरबन्दी रहेको भए पनि हाल डाक्टर सात जना, नर्सिङ स्टाफ ११ जना, प्रयोगशालाका कर्मचारी चार जना, रेडियोग्राफर एक जना, विमामा तीन जना, फार्मेसी तीन जना, प्रशासनका कर्मचारी तीन जना, अन्य प्राविधिक र सहायक गरी छ जना र कार्यालय सहयोगी छ जनासहित ४४ जना कार्यरत छन् ।

१५ शैया स्वीकृतिको नगर अस्पताल लालबन्दीले सेवा दिइरहेको छ । नगर अस्पताललाई अब २५ शैयामा विस्तार गर्नुपर्ने आवश्यकता भइसकेको अस्पताल व्यावस्थापन समितिका अध्यक्ष एवम लालबन्दी नगरपालिका–९ का वडा अध्यक्ष नारायण अघिकारीले बताए ।
उनका अनुसार, नगर अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना, फोहरमैला व्यवस्थापन, डायलसिस सेवाका साथै नगर अस्पताल लालबन्दीको प्रयोगशालालाई पूर्णरुपमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।

नगर अस्पताल लालबन्दीबाट निस्कने फोहोर र पानीको व्यवस्थापन, आँखा विशेषज्ञसहितको सेवा, अत्याधुनिक दाँत सेवा, एनेथेसिया सेवा र भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे र निःशुल्क औषधी कक्षलगायतका सेवा थप विस्तार गर्दै लैजानु पर्ने स्थानीय जानकारहरु बताउँछन् । स्वास्थ्य विमातर्फ १० हजार तीन सय ६५ जनालाई सेवा प्रवाह गरिएको नगर अस्पताल लालबन्दीले स्वास्थ्य विमाबाट एक हजार तीन सय प्रकारका औषधी वितरण गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।

थप सेवा विस्तार गर्न भौतिक संरचनाको अभाव, बिरामीको अत्यधिक चापका कारण ओपिडी कक्षसमेत अभाव, विमाको औषधी सर्लाही जिल्लाभर अन्यन्त्र कतै पनि वितरण नभएकाले थेग्न निकै समस्या भएको, विमाको औषधीको रकम बिमा बोर्डले समयमै भुक्तानी नदिँदा समस्या भएको र जनप्रतिनिधि र नगरपालिकामा गैरप्राविधिक कर्मचारीहरु रहेका कारण समन्वय गर्न निकै समस्या भएको अस्पताल प्रशासनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button