बहुविवाहको मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले बहुविवाह मुद्दामा पीडित महिलाको मुद्दा दर्ता गर्न आनाकानी गरेपछि परिवारसहित आफन्तले न्यायका लागि हारगुहार गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२४ कि अनिसा कुमारीको विवाह वैशाख ८ गते पिपरा गाउँपालिका वडा नम्बर ५, हर्दियाका सुभाष ठाकुरसँग भएको थियो । विवाह भएको केहीदिनमै केटाले अर्को केटीसँग विवाह गरेर अनिसालाई कुटपिट गर्दै घरबाट निकालेको काका सुरेश ठाकुरले बताए ।

महिलाले घर जाँदा विभिन्न प्रकारले यातना दिने गरेको समेत बताइन् । उनले विवाह गरेको केही समयमै अनिसालाई मानसिक सन्तुलन गुमेको र नराख्ने भन्दै घरबाट निकालेको सुरेशले बताए । उनले सामाजिकरुपमा छलफल गरे पनि नराख्ने भनेर अर्को ठाउामा विवाह गरेको जानकारी पाएपछि निजविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउन जाँदासमेत मुद्दा दर्ता नगरेर विभिन्न किसिमको झमेला प्रहरीले गर्दै आएको जनकपुरमा गरिएको पत्रकार सम्मेलनमा बताइएको थियो ।

प्रहरी कर्मचारीले आफूहरुलाई मुद्दा दर्ता नगरेर न्यायबाट वञ्चित गर्दै पीडित भएको बताए । सुरेशले प्रहरीमा जाहेरि लिएर जाँदासमेत जाहेरी दर्ता नगर्ने, केटा फरार छ भन्दै पक्राउ गर्नसमेत आनाकानी गरिरहेको आरोप लगाए । जिल्ला प्रहरी कार्यालयमा रहेको मुद्दा फाँटका इन्चार्ज भरत ठाकुर केटा पक्षको आफन्त रहेका कारण उनीहरुले पैसाको चलखेल गरेर मुद्दा दर्ता गर्न आनाकानी गरिरहेको पीडित परिवारको आरोप छ ।

आफूहरूले छोरीलाई बुहारीको मान्यता दिन अनुनय विनय गरिरहेकै बेला मंसिर २६ गते राति कुटपिट गरी केटापक्षले अनिसालाई जनकपुरधामको माछा बजारनजिक अलपत्र छाडेर गएको सुरेशले बताए । उनले मुद्दा दर्तापूर्व आफूहरुले सामाजिक रुपमा मुद्दा मिलाउन वडाअध्यक्षदेखि विभिन्न निकायमा बैठक गरे पनि सहमति नभएपछि बाध्य भएर मुद्दा दर्ता गर्न निवेदन दिएको बताए । जिल्ला प्रहरी कार्यालय महोत्तरी महिला सेलका तत्कालीन प्रमुख सई लेखनाथ खनालले सुभाषले दोस्रो विवाह गरेको भनिएकी केटीलाई आफूले उद्धार गर्दा उनले विवाह स्वीकार गरेको भए पनि उनलाई अहिले के कति कारणले रिहा गरिएको हो, थाहा नभएको बताए ।

सुभाषले दोस्रो विवाह गरेको भनिएको केटीसँग प्रहरीले सोधपुछ गरेको छ । गर्भवती रहेकी उनले सुभाषसँग आफ्नो विवाह भएको स्वीकारेकी छन् । आफ्नी भतिजीसँग विवाह गरेर फेरि अर्को विवाह गरेकाले सुभाषविरूद्ध बहुविवाहको मुद्दा दर्ता गर्न उनीहरु प्रहरीमा धाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button