छोरीको छोरालाई ‘छोरा’ बनाएर नागरिकता दिने २६ जनालाई पक्राउ पूर्जी

[mashshare]

विनय कर्ण

सप्तरी । देशमा भुटानी शरणार्थी प्रकरणले माहोल तातिएको बेला सप्तरीमा भने झुठो विवरण पेश गरी नागरिकता लिएको आरोपमा २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सप्तरी जिल्ला अदालतले बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालीन प्रशासकीय अधिकृत किशोरकुमार रामसहित प्रशासनका चार जना कर्मचारी, जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद चौधरीसहित तीन जना प्रहरी, राजविराज नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष उदितनारायण यादव, वडासचिव हरिनारायण यादवसहित २६ जनाको विरुद्धमा पक्राउ पुर्जी जारी गरेको हो ।

सप्तरीको साविक फर्सेठ गाविस ७ हाल राजविराज नगरपालिका वडा नम्बर ११ का सूर्यनारायण यादवले झुठो विवरण पेश गरी आफ्ना छोरीपट्टिका नाति पर्ने सतिश यादवलाई छोरा बनाएर नेपाली नागरिकता बानाएको र त्यसमा सघाएको आरोपमा सूर्य नारायण र सतिशसहित २८ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले ३१ वैशाखमा आरोप पत्र दायर गरेको थियो ।

आरोपित २८ जनामध्ये प्रहरीको नियन्त्रणमा रहेका सूर्यनारायण र सतिशलाई १ जेठमा सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङगनामको इजलासले जनही एक लाखका दरले धरौटी लिई तारेखका छाड्न आदेश दिएपछि उनीहरु धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

२०७९ फागुन २१ गते जिल्ला प्रशासन कार्यालयबाट सतिशको नाउँमा १६–०१–७९–११६३१ नम्बरको नागरिकता जारी भएको र २०७९ चैत ७ गते सतिशलाई छोरा बनाएर झुठा विवरण पेश गरी नागरिकता लिएको उजुरी परेपछि प्रहरीले सोहीदिन सूर्यनारायण र सतिशलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ पुर्जी जारी भएकाहरुमा नागरिकता बनाउन सिफारिस गर्ने, मुचुल्कामा हस्ताक्षर गर्ने र नागरिकता जारी गर्ने कार्यमा संलग्न सम्मका कर्मचारी छन् । जारी भएको नागरिकतामा हस्ताक्षर गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीका तत्कालिन प्रशासकीय अधिकृत किशोरकुमार राम, नायब सुब्बा सुशील कर्ण, खरिदार संजिवकुमार साह र सुरज नेपाल छन् । राम सप्तरीको विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत छन् ।

यस्तै, राजविराज नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष उदितनारायण यादव र वडासचिव हरिनारायण यादव, सर्जमिन मुचुल्कामा बस्ने प्रहरी सहायक निरीक्षक महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार नारायणकुमार महतो र राम इश्वर मण्डल छन् भने सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्नेहरु समेत मुद्दामा प्रतिवादी रहेकाले उनीहरुमाथि पनि पक्राउ पुर्जी जारी भएको छ ।

यस्तै स्थानीय भुवनेश्वरप्रसाद यादव, कुशेश्वरप्रसाद यादव, देवकृष्ण यादव, शत्रुधनप्रसाद यादव, देवु यादव, चुल्हाई यादव, विराजी यादव, रामदेव यादव, राधेश्याम यादव, रामकिसुन यादव, प्रभु यादव, कप्लेस्वर यादव, नारायणप्रसाद यादव, दशरथ यादव, रामकिसुन यादव (१), ओशोदेवी यादवविरुद्ध पनि सोही कसुरमा मुद्दा चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button