काम गर्न नसके सरकारमा बस्दैनौँः मुख्यमन्त्री

[mashshare]

मधेशदृष्टि
सप्तरी ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गठबन्धन सरकारमा काम गर्न नसके सरकारमा पद ओगटेर नबसिरहने बताएका छन् । शनिबार सप्तरीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो सरकारमा कसैको बहुमत नभएकाले सबैको समान हैसियतमा काम गर्ने सहमति बनेकाले समस्या नहुने बताए । उनले यदि गठबन्धनमा कुनै असहमति बनेर काम गर्न कठिन भए सरकारमा नबस्ने र बाहिरिने बताए ।

उनले भने, ‘आइतबारदेखि नै सबै मन्त्री र सचिव बसेर बजेटको काममा लाग्ने छौँ । सुशासन पहिलो शर्त बनेको छ ।’ उनले मधेशमा भ्रष्टाचार अन्त्य गर्न चाहेको र अब मधेशमा सकरात्मक सन्देश प्रवाह गर्न सबै लाग्नु पर्ने बताए । उनले भने, ‘मधेश प्रदेशमा परिवर्तनको सन्देश आउँदैछ भनेर पनि सञ्चार गर्न जरुरी छ ।’

उनले मधेशका सबै स्थानीय तहमा एउटा पालिकामा विशेष कृषि प्याकेजका रुपमा घोषणा गरेर अघि बढ्ने बताए । उनले कृषिमा आधुनिकीकरण गर्ने सोचिरहेको बताए । उनले दोहोर्याए, ‘सामुहिकरुपमा भाइचाराको ढंगले काम गर्छौँ । यदि कुनै अवरोध आएर काम गर्न सकेनौँ भने सत्तामा बस्दैनौँ ।’

शनिबार गृहजिल्ला सप्तरी पुगेका मुख्यमन्त्री सिंहले विभिन्न धार्मिक मठमन्दिरमा दर्शन गर्नुका साथै मधेश आन्दोलनका प्रणेता गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button