पर्सामा पानीको अभाव, वीरगंजमा वितरण शुरु, प्रतिनिधि सभामा विषय उठान

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

पर्साको वीरगंज महानगरपालिका सहित ग्रामीण इलाकामा पानी अभाव भएर जनजीवन प्रभावित भएको छ । असार सकिनै लाग्दा रोपाइँमा समस्या छ । वीरगंज महानगरमै पानी अभावले सर्वसाधारण छट्पटिएका छन् । असारको तेस्रो साता देशकै आर्थिक राजधानी पर्साको वीरगंजमा सर्वसाधारण पानी नभएर आकुलव्याकुल बनेका छन् । वीरगंज महानगरले ट्यांकरबाट पानी वितरण शुरु गरेको छ । पानीको समस्या तत्काल टार्न वीरगंज महानगरपालिकाले गरेको प्रयासले केही राहत भएको छ । वरिगंज र आसपासका क्षेत्रमा पानीको चरम अभाव भएपछि स्थानीय सरकारले दैनिक पानी वितरण शुरु गरेको हो । ग्रामीण क्षेत्रमा थोरै मात्रामा पानी आपूर्ति भइरहे पनि शहरी क्षेत्रमा अधिकांश चापाकल सुकेपछि जनजीवन काकाकुल बनेको हो ।

छिमेकी देश भारतको रक्सौल क्षेत्रसमेत पानीको संकटमा परेको छ । सीमावर्ती दुवै शहर पानीको अभाव खेपिरहेको छ । वीरगंज महानगरका मेयर मेयर राजेशमान सिंहले बुधबार मात्रै विभिन्न स्थानमा डिप बोरिङको प्रयास भइरहेको बताउनु भयो । सम्पूर्ण जनसंख्यालाई पुग्ने गरी पानी आपूर्ति ठूलो चुनौती बनेको र महानगरले पानी आपूर्तिका लागि प्रयास गरिरहेको उहाँले जानकारी दिनु भयो ।
मेयर सिंहका अनुसार, महानगरपालिकाले दुई दर्जनभन्दा बढी ट्र्याक्टर, दमकल र पानी ट्यांकरमार्फत २५ स्थान भन्दा बढी ठाउँबाट पानी वितरण गरिरहेको छ । मंगलबारदेखि शहरका प्रमुख स्थानमा १० हजार लिटर क्षमताका ट्याङ्की जडान गरेर पानी वितरणको प्रयास भइरहेको छ । महानगरले सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको मेयर सिंहले बताउनु भयो । केही स्थानमा अझै पानी अभाव भएको देखिएको र वडास्तरमा वितरण व्यवस्था मिलाउन सर्वसाधारणले आग्रह गरेका छन् । वडाअध्यक्षहरू पनि पानी वितरणका लागि क्रियाशील भएका छन् ।

वीरगंजमा भूजल सतह घटेपछिको पानीको अभाव भएको हो । आँगनका चापाकलहरु सुकेका छन् । खाना पकाउन, नुहाउन, सरसफाइ गर्न र पशुपालन गर्न पानी अभाव भएको छ ।

यता स्वास्थ्यकर्मीहरुले पानीको अभावसँगै विभिन्न सरुवा रोगको जोखिम हुने भएकाले सचेतना अपनाउन आग्रह गरेका छन् । पानीको उचित संकलन, संरक्षण र सफाइमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव छ ।

पानीको अभाव वीरगंज महानगरमा मात्रै सीमित छैन । पर्साका ग्रामीण इलाकामा पनि पानीको अभाव देखिएको छ । पानी अभाव भएकाले गाउँमा रोपाइँ हुन सकेको छैन । पानीको अभाव अब पर्साका अरु भूभागमा पनि देखिन थालिएको छ ।

पर्साको ग्रामीण इलाका र वीरगंज महानगरमा पानीको अभाव भएको विषय प्रतिनिधि सभामा पनि उठान भएको छ । बुधबार सांसद निर्मला देवकोटाले वीरगंजमा खानेपानी मन्त्रालयले पानी व्यवस्थापन गर्न तदारुकता देखाउन जरुरी भएकाले सभामुखमार्फत ध्यानाकर्षण गराउनु भएको छ । गर्मी बढेको र पानी नहुँदा वीरगंजको जनजीवन प्रभावित भएको सांसद देवकोटाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button