
मधेशदृष्टि
धनुषा ।
नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले वर्तमान सरकार बढीमा छ महिनासम्म टिक्ने बताएका छन् । सहमहामन्त्री यादवले भने, ‘हुन त सत्ताधारीहरुनै एक महिना मात्र भनिरहेका छन् तर बढीमा छ महिना भन्दा टाढा यो सरकार जान सक्दैन ।’ लक्ष्मीनीयाँ गाँउपालिका वडा नम्बर ७ लक्ष्मिनियाँ बजारस्थित नवनिर्मित सहिद कामेश्वर कुशेश्वर स्मृति प्रतिष्ठान भवन उद्घाटन गर्दै पूर्वमन्त्रीसमेत रहेको यादवले अब देशमा दुई समूह मात्र रहने बताए । वामपन्थी र लोकतान्त्रिक शक्ति दुई गठबन्धनले मात्र देशको हित हुने बताउँदै सहमहामन्त्री यादवले भने, ‘जसपा, नेकपा एस जस्ता पार्टीहरुको पतन निश्चित छ ।’
चीनले नेपालको दक्षिणसम्म वान बेल्ट वान रोड ऋण दिएर बनाउन खोज्दा कांग्रेसले अस्वीकार गरेपछि वामपन्थीहरुले नयाँ गठबन्धन बनाएको यादवले बताए । सहमहामन्त्री यादवले प्रतिष्ठानका अध्यक्षसमेत रहेका नेपाललाई ऋणमा डुबाएर श्रीलंकाजस्तै कब्जा गर्न चाहने मनसायका साथ चीनले नेपालमा पनि ऋणमूलक आयोजना ल्याउन चाहेको र कांग्रेसले अवरोध गर्दा नयाँ समीकरण बनेको बताए ।
बारामा उपेन्द्र यादवलाई जिताएर भूल भएको बताउँदै सहमहामन्त्री यादवले कांग्रेसको भोट लिएर मन्त्री भएका उपेन्द्र यादवको पतन हुने चेतावनी दिए । कार्यक्रममा नेपाली कांग्रेस मधेश सभापति एवम् भौतिक पूर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले माधव नेपालले बिना पैसा खर्च कांग्रेसको २३ हजार मत लिएर जितेको र अहिले घात गरेको आरोप लगाए । कार्यक्रममा केन्द्रीय सदस्य मिनाक्षी झा, मधेश प्रदेश सभा सदस्य रामसरोज यादव, शेषनारायण यादव, कुमरकान्त झा, अन्जना पण्डित लक्ष्मिनियाँ गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्र, नेपाली कांग्रेस महोत्तरी सभापति नागेश्वर यादव, मैथिली विकास समिति अध्यक्ष जिवनाथ चौधरीलगायतको उपस्थिति थियो ।






