
सञ्जय मिश्रा
रौतहट ।
रौतहट स्थित एउटा प्रहरी चौकीका प्रमुख असईमाथी काठ चोरीको आरोप लागेपछि उनको जिम्मेवारी खोसिएर छानबिन समिति गठन गरिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित प्रहरी चौकी सन्तपुरमा कार्यरत रहेका असई दीनानाथ प्रसाद यादवलाई अनुसन्धानको लागि प्रहरी चौकीको जिम्मेवारी खोसिदै जिल्ला प्रहरी कार्यालयमा तानीएको छ ।
असई यादवमाथि साझा संस्थाको भत्काइएको पुरानो भवनको काठ हिनामिना गरेको आरोप लागेको छ । उनले सर्वसाधारणलाइ विभिन्न बाहाना बनाएर दुःख दिने गरेको समेत आरोप लागेको छ । वडा नम्बर ८ का अध्यक्ष जितेन्द्र चौधरीका अनुसार प्रहरी चौकी कम्पाउन्डमा राखिएको चिरान सालको काठ मध्ये करीब १ दर्जन सालको चिरान काठ सस्तिर गायब भएको छ । असई यादवले उक्त काठको फर्निचर बनाएर आफ्नो घर लागेको स्थानीयहरुले आरोप छ ।
घटनाको छानबिन तथा असईमाथि कारवाहीको माग गर्दै सोमवार बिहान स्थानियहरुले केही समय प्रहरी चौकी सन्तपुर घेराउ गरेका थिए । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले तत्कालका लागि असई यादवलाई जिल्ला बोलाइएको जानकारी दिइन् । घटनाको अनुसन्धानका लागि इन्स्पेक्टर गायत्री राज शर्माको अध्यक्षतामा तीन सदस्यीय छानबिन टोली बनाई प्रक्रिया अगाडी बढाइएको प्रवक्ता गिरीले बताइन् । उता आरोपी असई यादवले आरोपको खण्डन गर्दै केही मानिसले षड्यन्त्र गरेर आफूलाई फसाउन खोजेको प्रतिक्रिया दिएका छन् ।