
सञ्जय मिश्रा
रौतहट ।
ऐतिहासिक भूमि रौतहटको गढीमाई नगरपालिकास्थित नेपाली सेनाद्वारा आयोजित बृहत निःशुल्क स्वास्थ शिविरमा दुई हजार भन्दा बढी बिरामीले उपचारसेवा पाएका छन् । नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनि अड्डाको पहल, वीरदल गण र गढिमाई नगरपालिकाको सहकार्यमा वडा १ समनपुर स्थित श्रि शंकर गुदर माविको प्राङ्गणमा आयोजित बृहत निःशुल्क स्वास्थ शिविरमा दुई हजार एक जना बिरामीले उपचार पाएका हुन् ।
सरोकारवाला निकायहरुको सहभागितामा विपन्न र स्वास्थ्यको पहुंचबाट बञ्चित समुदायहरुलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गणका गणपति कर्णेल गंगा बहादुर बिष्टले बताए । लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस भन्ने उदेश्यले संचालित स्वास्थ्य शिविरमा उल्लेख संख्यामा बिरामीले स्वास्थ्य लाभ लिएको कर्णेल बिष्टले जानकारी दिए । शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरिब तथा आर्थिक रुपले विपन्न समूदायले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकहरुद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरवासीको सौभाग्य रहेको विचार राखेका थिए । नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर, चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताल लगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरेका थिए ।
अंग्रेज सेनालाई नेपालीले हराएर धपाएको ऐतिहासिक गाउँ समानपुरमा नेपाली सेनाले पटकपटक विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । सन १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अग्रेजको फौजलाइ लखेटर सिमाना कटाउँदै उसको हतियार कब्जामा लिएको थियो । त्यस बेला नेपालीले अंग्रेज फौजलाई लखेटी उनीहरूसँग रहेको तोप तथा अन्य आधुनिक हतियारहरू कब्जामा लिएका थिए । अंग्रेज सेनासँग सम्बन्धित केही हात हतियार समनपुर गाउँको पोखरीमा र उत्खननमा पटक पटक फेला पारेको छ । उक्त गाउँमा नेपाली सेनाले गढी संरक्षण संग्रहालय निर्माणको योजना समेत अगाडि बढाएको छ ।






