
मधेशदृष्टि
रौतहट ।
पछिल्लो केही दिनदेखि बढेको गर्मीको कारण रौतहटस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मुर्छित हुनथालेपछि विद्यालयहरू धमाधम विदा दिइरहेका छन् । स्थानीय वृन्दावन नगरपालिका ७ सखुअवा धमौरा स्थित श्री रुपा नेपाली पाल माध्यमिक विद्यालयमा सोमबार अत्याधिक गर्मीको कारण एकजना बालिका मुर्छित भएकी हुन् । नगरप्रमुख विनोद प्रसाद पटेलले अत्यधिक गर्मीसँगै बालिका छारे रोगको बिरामी भएकाले मुर्छित भएको बताएका छन् । उपचार पछि बालिका निको भएको मेयर पटेलले जानकारी दिए ।
पछिल्लो एकसातादेखि बिहान सुर्योदय हुना साथ चर्को घाम सँगै अत्यधिक गर्मी बढिरहेको कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । गर्मीले सर्वसाधारण मानिस काम विशेष बाहेक घरबाहिर निस्कन छाडेका छन् । सरकारी कार्यालयमा सेवाग्राहीको संख्या न्यून भएको छ । तीन चार दिनदेखि ४० डिग्रीको हाराहारीमा तापमान रहँदा सर्वसाधारणको जनजीवन प्रभावित बनेको हो । आईतबार बौधीमाई नगरपालिका ८ सरमुजवाका ५५ बर्षिय जयमंगल यादवको अत्याधिक गर्मी सहन नसकेर देवाही गोनाही मौलापुर सडकखण्ड अन्तर्गत लाल बकैया पुलमा ढलेर मृत्यु भएको थियो ।
यसैबीच शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले जिल्लाको १८ वटै पालिकामा रहेका सामुदायिक विद्यालयहरुलाई बर्षे विदाबाट कट्टा हुने गरी बिदा दिन आग्रह गरेका छन् । केही दिनदेखि बढेको अत्याधिक गर्मीको कारण विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाहरु मुर्छा पर्ने तथा अन्य लक्ष्णहरुले ग्रसित भईरहेको हुँदा तत्काल विद्यालयमा बिदा दिन प्रमुख सिंहले सूचना जारी गरेका छन् । जिल्लाको इशनाथ, कटहरिया र गरुडा नगरपालिकाले जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिनका लागि विद्यालयमा विदा दिएका छन् ।






