मधेश प्रदेशमा बढ्दो चोरी तस्करी

दश महिनामा एक अर्ब बढीका सामान बरामद

[mashshare]

मधेश प्रदेशमा चालु आर्थिक वर्षको दश महिनमा एक अर्ब २३ करोड रुपैयाँभन्दा बढीको सामान बरामद, १३८ जना पक्राउ, ६४० सवारीसाधन नियन्त्रणमा ।

राजस्व चुहावट नियन्त्रणका लागि भएका प्रयासहरुको प्रतिफल हो ।
शशिधर घिमिरे
प्रमुख जिल्ला अधिकारी, बारा

‘जिरो टोलरेन्स’को नीतिले अवैध सामान बरामद बढ्यो ।
सुवासचन्द्र बोहरा
प्रहरी उपरीक्षक, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर

महेश कठायत
वीरगंज ।
मधेश प्रदेशका आठ जिल्लाबाट पछिल्लो दश महिनामा एक अर्ब रुपैयाँभन्दा बढीको सामान बरामद भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष (साउनदेखि वैशाखसम्म)को दश महिनामा एक अर्ब २३ करोड ६३ लाख ६३ हजार रुपैयाँ बराबरको सामान बरामद भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले बरामद भएको सामान करिब ३० करोड रुपैयाँले बढी हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराका अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा ९४ करोड ७० लाख ६२ रुपैयाँ बराबरको सामान बरामद भएको थियो । चालु आर्थिक वर्षको दश महिनामा बरामद गरिएको सामानसहित एक सय ३८ जना पक्राउ परेको प्रवक्ता एवम् प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । दश महिनाको अवधिमा ६ सय ४० सवारी साधनलाई नियन्त्रणमा लिएको उनले बताए ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरी जिल्लाबाट दुई करोड ३७ लाख रुपैयाँ, सिरहा जिल्लाबाट दुई करोड ७० लाख रुपैयाँ, धनुषा जिल्लाबाट ६ करोड ६१ लाख रुपैयाँ र महोत्तरी जिल्लाबाट ७ करोड ९४ लाख रुपैयाँ बराबरको सामान बरामद गरिएको छ । त्यस्तै, सर्लाही जिल्लाबाट ५ करोड ७९ लाख रुपैयाँ, रौतहट जिल्लाबाट ४ करोड ३६ लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ । त्यसैगरी सबैभन्दा बढी बारा जिल्लाबाट ५१ करोड १६ लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ भने, पर्सा जिल्लाबाट ४२ करोड ६७ लाख रुपैयाँ बराबरको सामान बरामद भएको छ ।

त्यसैगरी, पक्राउ पर्नेको संख्यामा सबैभन्दा बढी सर्लाहीबाट ४३ जना र सबैभन्दा कम सप्तरीबाट एक जना पक्राउ परेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । त्यस्तै, सिरहाबाट ८ जना, धनुषाबाट ७ जना, महोत्तरीबाट ३२ जना, रौतहटबाट ३१ जना, बाराबाट १३ जना र पर्साबाट ३ जना पक्राउ परेका छन् । त्यस्तै, सबैभन्दा बढी एक सय ७८ सवारी सधान सर्लाही जिल्लाबाट नियन्त्रणमा लिइएको छ भने, रौतहटबाट एक सय ३०, बाराबाट एक सय २१, महोत्तरीबाट ९१ सवारी साधन नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

बारा जिल्लामा अवैध सामान बरामद बढी देखिनु राजस्व चुहावट नियन्त्रणका लागि भएका प्रयासको प्रतिफल भएको बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेको भनाइ छ । राजस्व चुहावट नियन्त्रण समितिको बैठक नियमित बस्ने र सीमा क्षेत्रमा हुने चोरी पैठारी रोक्न आवश्यक काम भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहराले पछिल्लो समय गृह प्रशासनले राजस्व चुहावट रोकथामका लागि लिएको ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता)को नीतिले अवैध सामान बरामदको क्रम बढेको देखिएको बताए । साथै राजस्व चुहावट रोकथामका लागि गृह मन्त्रालयले जारी गरेको सर्कुलर जिल्ला प्रशासन कार्यालयले पनि कडाईका साथ लागू गरेको पाइएकोले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा अवैध सामान बढी बरामद भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button