गरिबको चमेली ‘बोल्दिने’ कोही छैन !

[mashshare]
जो आज्ञा – रामकुमार एलन

बलिदान फिल्मको त्यही गीत कालजयी छः ‘गरिबको चमेली बोल्दिने कोही छैन ।’ सिडिओ, डिएसपीहरु कहिले पनि गरिबको भएको थाहा छैन । गरिबको भएको भए भोगेन्द्र ठाकुरको शव जलाउन किन दिन्थे ? अनुसन्धान गर्न लाग्थे । छिमेकी नुहाएको भिडियो खिचेको, प्रतिवाद गर्दा लोग्ने मारिएको, प्रहरीले यस्तो घिनलाग्दो काण्डमा बाउछोरै समातिएको आजसम्मको समाचार हो । भोलि कथमकदाचित बाउछोरै धरौटीमा छुटेछन् भने पनि यस्तो घिनौना काममा पनि धरौटीमा छुटे है भनेर समाजले कुरा काट्छ नै । कुरा काट्दा धनुषाको सिडिओ रामु राज कडरिया र डिएसपी रञ्जन अवाको नाम पनि जोडिइरहन्छ । उनीहरुको पालाको घटना हो भनेर ।

शुरुमै मधेशमा मृत्युको मुखमा पुगेका तीन अनुहार, सर्लाहीका पूर्वराज्यमन्त्री राममचन्द्र राय, सिरहाका राष्ट्रिय अनुहार, शास्त्रीय संगीतका मूर्धन्य स्रष्टा, अथक साधक गुरुदेव कामत र पत्नी नुहाएको भिडियो खिचिरहेको थाहा पाएपछि प्रतिवाद गर्दा ज्यान गुमाएका धनुषाधामका भोगेन्द्र ठाकुरमा भावपूर्ण श्रद्धाञ्जली ।

मर्न त मधेशमा दिनदिनै कोही न कोही मरिरहेका छन् । फेसबुकमा भाइरल पण्डित पुष्कर खतिवडालेजस्तो ‘नेताहरु मरुन्’ भनेर एकाहा, सप्ताह नलगाएर मधेशका बाँकी नेता नमरेका पनि होइनन् । कालगतिले नभेटेर नमरेकासँग काम लिने हो, उनीहरु ‘मरिहालून्’ भनेर सन्की भएर एकाहा, सप्ताह लगाउँदै हिँड्नु पनि हिन्दूपन होइन । मर्नलाई धेरै निहुँ खोजिरहन पनि पर्दैन । आफ्नै घरमा काम गर्नेले कतिखेर मार्छन्, घरमा काम गर्न राखेका कामदार नै कतिखेर छिमेकीको तलब आएर घरमूली मार्न तयार हुन्छन्, सर्लाहीका पूर्वराज्यमन्त्री रायको घरमै हत्या भएको घटना काफी छ ।

फेरि पनि भागवतवाचिका देवी प्रतिभाले भनेजस्तै हिन्दू धर्ममा सम्बन्धविच्छेद, हत्या भन्ने कल्पना पनि छैन । सके सहिदिने, नसके अलग भइदिने हो । यो हप्ता तराईमा धेरै कालगति र झैझगडामा मरे पनि सर्लाहीका पूर्वराज्यमन्त्री रायको हत्या, धनुषाका भोगेन्द्र ठाकुरको कुटपिटबाट मृत्यु र सिरहाका गुरुदेव कामतको असामयिक निधनले मधेश तातेको छ । तात्नुपर्नेहरु नतातिने र तात्नेहरु किन तातिए भन्ने पुष्ट्याइँ हुन नसक्ने भएकाले ‘४८ घण्टे भाइरल’हरुले समाजको मथिंगल हल्लाइरहेको हुन्छ भन्ने मात्र यसपटकको बसाइको सामान्य विषय भएको यहाँहरुमा जानकारी गराउन चाहन्छु ।

शनिबारको यो समाचार पनि साझा गरेँ । सप्तरी उद्योग वाणिज्य सङ्घ राजविराजले असार ३१ गते बोदेबरसाइन नगरपालिका–५ मा जिबिएन मोबाइल एण्ड इलेक्ट्रिकल पसलमा भएको आगलागीका पीडित राजनकुमार साहलाई आर्थिक सहयोग प्रदान गरेको छ । संघले एक लाख एक हजार रुपैयाँ सङ्कलन गरी व्यवसायी सुरक्षित कोषमार्फत पीडितलाई रकम हस्तान्तरण गरिएको सङ्घका संस्थापक अध्यक्ष लालुप्रसाद अग्रवालले जानकारी दिए । आगलागीबाट साहको पसल र घर जलेर क्षति भएको थियो । हो, मोबाइल व्यवसायीहरुले मिलेर रकम संकलन गरे, साहलाई लगेर बुझाए । समाजमा तपाईंकोबारे चासो लिने, साथ दिने कोही नभएर नै धनी अरु धनी अनि गरिब अरु गरिब भइरहेका छन् । दुःखमा परेर आर्थिक अवस्था खस्कँदै गएका बेला तपाईंले आफन्तजनबाट ससानो साथ पाउनु भए तपाईं क्षतिबाट जुरुक्क उठेर फेरि प्रतिस्पर्धी बजारमा आउन सक्नुहुन्छ । सहयोग पाउनु भएन भने भएको जायजेथा भइन्जेल ऋण पाउनु हुन्छ, त्यो सकिएपछि बिल्कुल एक्लै पर्नुहुन्छ । जिन्दगी सम्पत्ति र धनसँग जोडिएको छ र यो उत्तराद्र्धतिर ढल्किएको कलियुग अरु सबै विषयबस्तु तपशिलमा राखेर धनको पछि लागेको छ ।

धन नभए ‘सबै’ हुने र धन नभए ‘केही’ नहुने यो कलियुगमा मान्छे यति स्वार्थी भइसकेको छ कि, कथावाचिका राधिका दासीले भन्ने गरेकी छिन्, ‘लोभ र पापले मान्छे मर्न–मार्न यति आतुर छन् कि, एक सय वर्षको मान्छे अहिले तपाईं हामीले हेर्दाहेर्दै ५० वर्ष बाँचे ठूलो भइसकेको छ, कलियुग अन्त्य हुनेबेला मान्छेको आयु साढे १२ वर्षको हुनसक्छ ।’ नभन्दै अथाह धन भए पनि आमाबाबुले थाहै नपाउने गरी ८ वर्षीय बालक पनि हृदयाघात भएर मर्न थालेका छन् । १९–२० वर्ष उमेरको मायापिरती र अरुको पत्नी र पतिप्रतिको अनावश्यक आकर्षणले होटलका पंखाहरु सबैभन्दा सजिलो मृत्युवरणस्थल भइरहेका छन् । केही समयअघिको मधेशकै समाचार थियो, ‘विदेशबाट घर आएको बिहान नै होटल पुगेका एक युवकको मृत्यु भएको थियो, मृत्युको कारण अत्यधिक यौन उत्तेजनाको चूरण खाएर अरुको पत्नीसँगको सम्बन्ध थियो ।’

विज्ञानको यो चामत्किारिक युगमा राधिका दासीले भनेको कथाजस्तो कहाँ मान्छे यति चाँडै मर्छ र भन्ने प्रश्नले केहीबेर त मन हुँडलिन्छ तर साउन ९ गते विमान चढ्न टर्मिनलको बस चढेका भाइहरुले भिडियो खिच्दाखिच्दै आँखै अगाडि सौर्य एयरलाइन्सको विमान झरेको दुई सेकेन्डका भिडियोले भन्छ, ‘आज तपाईंको राशिफल ठिक भएर भएन, तपाईंसँग साथमा रहेका पाइलट, ड्राइभर, पाले, कर्मचारी, सहकर्मीको राशिफल कस्तो छ ?’ जस्तो हामी विवाह गर्दा केटा र केटीको मात्रै चिना हेराउँछौँ । जब विवाह हुन्छ, घरमा झगडा दुलाहादुलहीको नभएर सासुबुहारी, नन्द भाउजु, आमाजुबुहारीको हुन्छ । विवाहका बेला बुहारीसँग ‘सेटल’ हुने राशिफलको सासु, नन्द, आमाजु, जेठानी छ कि छैन भनेर हामी चिना हेराउँदैनौँ ।

झट्ट सुन्दा तपाईंलाई कमेडी लाग्ला । तर यही कमेडीमा उत्रिएका पात्रहरु देखाएर एकता कपुरले भारतीय टेलिभिजन च्यानलहरुमा भएभरका सिरियल बनाएर दक्षिण एसियाकै महिलाहरुलाई ‘टिभीको किरा’ बनाएकी छन् । हुँदाहुँदा चीनमा समेत अब त भारतीय सिरियल च्यानलको माग बढिरहेको छ । नेपालमा भने हामी भारतकै सिको गरिरहेका छौँ । फेरि पनि भन्नैपर्छ, ‘भाग्यले साथ दिएपछि कसको के लाग्छ ?’ सौर्य एयरलाइन्सके विमान दुर्घटनाको दृश्य सम्झनुहोस् त ! १८ जना मरे । विमान क्षतविक्षत भयो, आगलागीले । तर पाइलट मनिष शाक्य बाँचे, सायद अस्पतालबाट ‘डिस्चार्ज’ भए शुक्रबार । कहिलेकहीँ पुर्खाले भनेको ‘बलियो पुर्पुरो’का कथा पनि सत्य सावित भइदिन्छ । कहिले आफैँले मान्छे मारेर प्रहरीलाई राति आएका ३ जनाले हत्या गरेको हुनपर्छ भनेर प्रहरीलाई फोन गर्ने नै ७२ घण्टा नेपाल प्रहरीलाई ‘मूर्ख’ बनाउन सफल हुन्छ, हत्याको प्रमाण नष्ट गर्ने बुद्धि आउँदैछ । त्यसैले भन्छन् नि, ‘ढाटेको कुरा काट्न मिल्दैन ।’ अर्को पनि उखान छ, ‘जिउँदो रगतले ढिलोचाँडो तान्छ ।’

३ लाख रुपैयाँ हालेर ६ लाख रुपैयाँमा खेत किनेर ९ लाख रुपैयाँ दिँदा पनि खेत आफ्नो नाममा आएन । धनुषाधामका भोगेन्द्र ठाकुरको कथा यतिमै सकिएन । शिवजी यादव नाम गरेका उनका छिमेकीको पटकपटकको कुटपिट, ताडना हुँदाहुँदा ४५ वर्षीया पत्नी नुहाइरहेको भिडियो छिमेकीले खिचेको देख्दा प्रतिवाद गरे । हिन्दू धर्ममा पत्नीबाहेक अरुलाई सम्मान गरिन्छ । ‘गलत नजर’ले हेर्न पनि हुँदैन । आमा, बहिनी, छोरी, भाञ्जीलगायतका पवित्र नातामा समेटिन्छन् । तर कस्तो छिमेकी हो, छिमेकी नुहाइरहेको भिडियो खिच्ने, प्रतिवाद गर्दा उल्टै कुटपिटमा उत्रने र छिमेकी कुटेर मार्ने ? त्यो पनि बाउछोरै उत्रिएर । थाहा छैन, धनुषाका सिडियो रामु राज कडरिया र मिडियामा खुब भाइरल भइरहने डिएसपी रञ्जन अवाले यो घटनालाई कसरी सुरक्षित अवतरण गर्छन् ? तर उनीहरुको कार्यकालमा धनुषामा अनेक मृत्यु र हत्याकाण्ड होलान्, यो काण्डले जुन जिल्लामा गए पनि र बढुवा भए पनि ‘पोलिरहने’ र आत्मा ‘शुद्धि’ नहुने गरी भड्किरहने नहोस् ।

पोष्टमार्टम गरेर दाहसंस्कारका लगिएको शव ल्याएर मिटिरब्याजीको योजनामा मारिएको भन्दै नगरपरिक्रमा नगराएको भए सायद कडरिया र अवा ८ बुँदे सहमतिका ‘साक्षी’ हुन पर्थेन । त्यसैले बलिदान फिल्मको त्यही गीत कालजयी छः ‘गरिबको चमेली बोल्दिने कोही छैन ।’ सिडिओ, डिएसपीहरु कहिले पनि गरिबको भएको थाहा छैन । गरिबको भएको भए भोगेन्द्र ठाकुरको शव जलाउन किन दिन्थे ? अनुसन्धान गर्न लाग्थे । छिमेकी नुहाएको भिडियो खिचेको, प्रतिवाद गर्दा लोग्ने मारिएको, प्रहरीले यस्तो घिनलाग्दो काण्डमा बाउछोरै समातिएको आजसम्मको समाचार हो । भोलि कथमकदाचित बाउछोरै धरौटीमा छुटेछन् भने पनि यस्तो घिनौना काममा पनि धरौटीमा छुटे है भनेर समाजले कुरा काट्छ नै । कुरा काट्दा धनुषाको सिडिओ रामु राज कडरिया र डिएसपी रञ्जन अवाको नाम पनि जोडिइरहन्छ । उनीहरुको पालाको घटना हो भनेर । अब मलाइ नउडाउनुहोला कि यस्तो लेख्नेले धनुषामा प्रहरी प्रमुख एसपी हुन्छ, किन अवाको नाम लिइरहेको होला भनेर ? यो सबै घटनामा साक्षी किनारा फड्के दायाँबाँया ‘लिमोकिमा’ अर्थात् लोकेसनमा प्रहरी नायव उपरीक्षक नै मौजुदा देखिन्छन् । मेरो दुवै महत्वपूर्ण पात्रहरुसँग ‘दूरदूर’को ‘दरार’ र ‘घनिष्टता’ केही पनि छैन । त्यसका लागि सामान्य ‘चिनजान’ पनि हुन पर्छ क्यारे ! अखबार बिहान आफैँ पढ्छन् कि सचिवालयबाट ब्रिफिङ लिन्छन्, जानकी जाने, मेरो चैँ ‘चिनजान, भारतजान’ केही पनि छैन ।

अब बिट मारौँ, गम्भीर कुरा गरेर तपाईंको दिमाग फड्कारेर केही हुने वाला छैन, यथास्थितिकै यस्तै घटनाक्रममा बोलौँ । यही काफी छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बहुतै प्रशंसा गरेका मूर्धन्य स्रष्टा गुरुदेव कामतको मृत्युपछि मधेश प्रज्ञा प्रतिष्ठानले कार्यक्रम गराएर बिरामी भएको बेला गीत गाउन लगाएर दिन्छु भनेको एक लाख रुपैयाँ पनि दिएन भन्ने भिडियो उहाँको निधनपछि भाइरल भयो । यो विषयमा प्रज्ञा प्रतिष्ठान ‘हल्का’ गम्भीर भयो होला भन्ने ठानेको त शुक्रबार त प्रज्ञाका मठाधीशकै एकपाने विज्ञप्तिमा ‘आधा भिडियो हालेर पूरा गाली गर्ने, हिम्मत भए पूरै भिडियो हाल्नू’ भन्ने फरमान जारी भएछ । संयोगले शनिबार जनकपुरका पत्रकार शैलेन्द्र क्रान्तिले पूरा भिडियो हालेका छन् । अब प्रज्ञा प्रतिष्ठानका मठाधीशको कति पाने विज्ञप्ति आउला ? जे होस्, पत्रकारको काम सत्यको पक्षमा लागिरहनु हो । को मठाधीश र फुलिवाला, बर्दिवाला रिसाउलान् भनेर डराउने र चाकरी एवम् दलाली गर्ने काम पत्रकारको चैँ कलियुगमै भए पनि होइन । यो मेरो निजी विचार हो, तपाईं जनताका पक्षका काममा लाग्ने कि सामाजिक सञ्जालमा कुस्ती खेलेर बस्ने तपाईंकै गिदीलाई जिम्मा लगाएँ । बाँकी जो आज्ञा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button