लागुऔषधसहित विभिन्न पाँच ठाउँबाट आठजना पक्राउ

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

अवैध लागुऔषधसहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना पक्राउ परेका छन् ।

सिन्धुली, कमलामाई नगरपालिका–६ माझिटारबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो पदार्थ ५ ग्राम ९ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट, तार्केश्वर नगरपालिका–७ का २२ वर्षीय भरत रिमाल र खोटाङ खोट्टेहाङ गाउँपालिका–५ का २३ वर्षीय बिपिन मगर छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले वा५ख ३१४९ नम्बरको हाइस जाँच गर्ने क्रममा हाइसमा सवार उनीहरूलाई पक्राउ गरिएको हो ।

यस्तै, पर्सा, वीरगंज महानगरपालिका–१६ रजत जयन्तीचोकस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित बारा, परवानीपुर गाउँपालिका–५ का २० वर्षीय युवराज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल पैदल आउँदै गरेका सिंहलाई जाँचक्रममा पक्राउ गरिएको हो ।

महोत्तरी, सम्सी गाउँपालिका–५ देवीस्थानबाट अवैध लागुऔषध गाँजा करिब २ सय ९० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर, बकैया गाउँपालिका–७ का २५ वर्षीय लिला बहादुर थिङ र हेटौँडा उपमहानगरपालिका–१३ का राजेश घलान पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले सम्सीबाट जलेश्वर जाँदै गरेको ना५ख ९७११ नम्बरको ट्रक जाँच गर्ने क्रममा चालक सिटको पछाडि लुकाइराखेको अवस्थामा गाँजा फेला परेको हो ।

तनहुँ, आबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्रामसहित पर्सा, पर्सागढी नगरपालिका–९ का १९ वर्षीय राहुल पासवानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले ग२ख ००९८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई पक्राउ गरिएको हो ।

कैलाली, गोदावरी नगरपालिका–५ गेटीका २८ वर्षीय नबिन चौधरी अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थानसहित शुक्रबार राति पक्राउ परेका छन् ।

तास खेलिरहेका ११ जना पक्राउ

सर्लाही, ईश्वरपुर नगरपालिका–५ सखबनीका सार्कीमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ नगरपालिका–५ का २८ वर्षीय कृष्ण मगरसहित ११ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ६ सय ५ रुपैयाँ र ८ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button