वीरेन्द्र रमण
जनकपुरधाम
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपाल विभाजन गर्नेलाई लोभीपापीको संज्ञा दिएका छन् ।
पार्टी विभाजनपछि पहिलोपटक जनकपुरधाममा भ्रातृसंगठन स्वास्थ्यकर्मी फोरमको महाधिवेशनमा सहभागी हुन आएका यादवले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी विभाजन गर्नेहरु लोभीपापी रहेको र कतैबाट फुटेर आएको अनि फेरि फुटेर कतै गएको बताए । उनले केही लोभीपापी पार्टीबाट अलग भए पनि पार्टीको मधेशमुक्ति अभियान कुनै पनि हालतमा नरोकिने प्रष्ट पारे । उनले भने, ‘केही लोभी पापी आफ्नो स्वार्थ पूरा गर्न पार्टीमा आएका थिए र थप स्वार्थ पूरा गर्न अन्त गएका छन्, यसले पहिचानको आन्दोलनमा खासै अन्तर नल्याउने बरु यस घटनाक्रमले यस्ता अवसरवादीलाई कार्यकर्ताले चिन्ने मौका पाएका छन्, अझ सशक्त भएर गोलबद्ध हुने छन् ।’ अध्यक्ष यादवले मधेशमुक्ति अभियानलाई केही फरक नपर्ने बताउँदै पार्टी फोड्नेहरु फुटेर नगएको बताउँदै अरुले फुटाइदिएर गएको आरोप लगाए । उनले केही यस्ता तत्वलाई लोभलालच देखाएर फुटाउनेको राजनीतिक भविष्यसमेत नरहेको बताए ।
उनले संघर्ष निरन्तर चलिरहने र आजभोलि नै नटुंगिने भन्दै मधेशी जनअधिकार फोरम हुँदैदेखि आफूहरूमाथि निरन्तर प्रहारबाहेक केही नभएको औँल्याए । उनले भने, ‘यति ज्यादा प्रहार हामीमाथि भयो कि हामी प्रहारप्रुफ भइसक्यौँ ।’ अध्यक्ष यादवले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न, सुशासन स्थापना र लोकतन्त्र रक्षा गर्न मौजुदा सत्ता गठबन्धनसँग सहकार्य गरेको भन्दै त्यो सहकार्य निरन्तर रहने बताए ।
जसपा नेपाल विभाजन आफ्नो पार्टीमाथिको प्रहारमात्र नभएर मधेशका मुद्दा, आदिवासी जनजातिलगायत दलित, शोषित र पीडित जनताको मुक्तिको चाहना र ती शोषितपीडित जनतालाई दबाएर शासन गर्ने शासकीय मानसिकताबीचको संघर्ष भएको उनले प्रष्ट पारे । त्यसैगरी, स्वास्थ्यकर्मी फोरमको कार्यक्रममा अध्यक्ष यादवले मधेश र संघीयता समाप्त पार्न षड्यन्त्रका रुपमा आफ्नो पार्टीलाई शिकार बनाइएको बताए । उनले प्रधानमन्त्रीले सिन्धुलीमा सरकार बचाउन विभाजन गरेको कुरा भनिसकेको अवस्थामा मधेशको मुद्दालाई कसरी कमजोर बनाउन खोजिएको र सबैतिरबाट प्रहार भइरहेको भन्ने प्रष्ट हुँदै गएको बताए ।
अध्यक्ष यादवले राम्रा व्यक्ति राजनीतिमा आउन नचाहेको बताउँदै यसको प्रमुख कारण राजनीतिमा गलत व्यक्तिको प्रवेश रहेको बताए । उनले यसमा सुधार गर्नसमेत कोही तयार नभएर राजनीतिलाई कसरी विकृत बनाउने जस्ता पक्ष हाबी रहेको बताए । उनले प्रधानमन्त्रीको सिन्धुलीको कथनले समेत राजनीतिलाई कसरी विकृत बनाइरहेको छ भन्ने प्रष्ट भइरहेको बताए ।
यादवले पार्टीमा कुनै पनि प्रकारले समस्या नरहेको बताउँदै समस्या हुँदा पार्टीभित्रै छलफल गरेर समाधान गर्न सकिने आधार हुँदाहुँदै समेत वैचारिक छलफल गर्नुको साटो आफू बाहिर रहेको मौकामा विभाजन गरेर गलत अभ्यास गरिएको बताए । अध्यक्ष यादवले भने, ‘बाहिर के गएको थिएँ, चोरहरुले कोही छैन भन्ने ठानेर घरको ताला नै तोडेर केही सामान चोरेर लगे । तर त्यसले केही हुनेवाला छैन, पार्टी विभाजन गर्नेहरु मधेशमा मन्त्री हुदा के के गरेका थिए, सबैलाई थाहा भएकै कुरा हो, यसले पार्टीको जनाधारमा खासै फरक पर्ने छैन ।’
अध्यक्ष यादवले पार्टीविरुद्ध गरिएको षड्यन्त्रलाई जनताका बीचमा गएर चिर्न आग्रह गरे । कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले केही व्यक्तिले पार्टी र संघीयतालाई कमजोर बनाउन पार्टी विभाजन गरेको आरोप लगाए । उनले पटकपटक पार्टीबाट लाभ लिनेहरुले नै पार्टीमा विभेद भयो भन्ने गलत भ्रम सिर्जना गरेको बताए । मधेस प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले पार्टी विभाजनले जसपा नेपाललाई कमजोर बनाउने नभई संघीयता र जनताको अधिकारको मुद्दालाई कमजोर बनाउन षड्यन्त्र भएको बताए ।