मधेशदृष्टि
जनकपुरधाम ।
मधेश प्रदेश सभाको बैठकमा बोल्दै प्रदेश सभाको धेरै जसो सदस्यहरुले प्रदेशको मन्त्रालय र मन्त्रीहरुको संख्या घटाउन माग गरेका छन् । उनीहरुले जम्बो मन्त्री परिषद् बनाएर एक्कासी हटाउने कार्य विवेक सम्मत नभएको भन्दै अझ मन्त्रीहरुको संख्या घटाउन माग गरेका छन् । प्रदेश सभाका सदस्य जिवछी देवी यादवले राज्य मन्त्रीहरु बन्दा धेरै जसो महिला र दलितहरु रहेको बताउँदै उनीहरुलाई राजीनामा समेत दिन वातावरण नबनाएर अपमानजनक पूर्वक हटाइएको भन्दै सरकारको आलोचना गरिन् । उनले राज्य मन्त्री बनाउँदा संविधान सम्मत रहेको बताउँदै प्रदेश सभा सदस्यहरुको संख्याको २० प्रतिशत राज्य मन्त्री बनाउने प्रावधान नै रहेको अवस्थामा केही दिनको लागि बनाउने फेरि हटाउनु गलत रहेको बताइन् । उनले भनिन्, ‘आन्दोलन हँुदा राज्य मन्त्री फाल्ने, तपाईहरुको जम्बो टोली राखिराख्ने, प्रदेश सरकारको खर्च भार बढिरहेको छ भने मन्त्रालयको संख्या घटाउनुस् जेमा पनि महिलालाई नै पछाडि पार्ने यो भएन ।’
प्रदेशसभा सदस्य शारदा पहाडीले समेत दलित वा महिला राज्य मन्त्री बन्न मात्रै लायक हो र भन्दै प्रश्न गरिन् । मन्त्रीपरिषद्मा दलित तथा महिला सहभागिता नगराइएकोमा उनले सरकारको आलोचना गरिन् । थापाले मधेश प्रदेशको कारागारहरुको अवलोकन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने माग गरिन उनले विभिन्न कागागारहरुमा कैदी बन्दीहरु मध्ये महिलाको अवस्था निकै कष्टकर छ भन्दै अनुगमन गर्न सरकार उनीहरुको समस्या प्रति प्रदेश सरकारलाई गम्भीर जोड दिइन् । त्यसैगरि प्रदेश सभा सदस्य उपेन्द्र महतोले मुख्यमन्त्रीको कारणले अहिले प्रदेश सरकारको कार्यशैलीमाथि नै प्रश्न खडा भएको बताए । उनले भने, ‘कसले भने पछि तपाईहरुले यत्रो ठूलो मन्त्री परिषद् बनाउनु भयो अनि पछि उनीहरुलाई हटाउनु भयो ?’
महतोले थपे, ‘विस्तार गर्ने समयमा समेत आफुहरुले विरोध गरेको बताउँदै बर्खास्त गर्ने समयमा समेत गलत गरेको भन्दै विरोध गरेको बताउँदै हटाउनु पूर्वक जसरी राज्यमन्त्रीहरुलाई अपमान पूर्वक हटाइयो उनीहरुलाई राजीनामा दिन समेत मौका नदिएपछि त्यो गलत भएको हो ।’ उनले भने, ‘मधेश सरकारको अधिकांश मन्त्रालय निमित्त सचिवकै भरमा चलिरहेको छ, कर्मचारीहरु पनि छैनन्, मन्त्रालयहरुभन्दा बढी कर्मचारी त वडा कार्यालयहरुमा छन्, त्यसैेले जम्बो मन्त्रीपरिषद्को कुनै काम छैन ।’
जनमत पार्टीका नेताहरु आफूलाई क्रान्तिकारी ठान्छन् भन्दै उनले भने, ‘मुख्यमन्त्रीज्यू यदि साँच्चीकै क्रान्तिकारी कदम चाल्न चाहनु हुन्छ भने अहिलेको मन्त्रीपरिषदलाई ८ सदस्यीय मन्त्रीपरिषद् बनाउनुस् । सडकमा क्रान्तिकारी भाषण दिनु जति सहज हुन्छ त्यती नै गाह्रो कुर्सीमा बसेर काम गर्न हुन्छ ।’ महतोले केही मन्त्रालयहरुको बजेट समेत नगरपालिका भन्दा कम रहेको बताउँदै यसले समेत मन्त्रालयको संख्या धेरै रहेको पुष्टि भईरहेको बताए ।
माओवादी केन्द्रकी शारदा दास पहाडिले अहिलेको यस्तो ठुलो मन्त्री परिषद्मा समेत समावेशिता नहुनु गम्भीर रहेको बताइन् । प्रदेश सभाको बैठकमा विकास समितिका सभापति शारदा शंकर कलवारले मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था विधेयक समितिको प्रदेश पेश गरे । प्रदेश सभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।