मधेशदृष्टि
वीरगंज ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको संविधानको मर्मअनुरुप नै प्रादेशिक स्तरीय महासंघ गठन गरेको बताउँदै प्रदेश महासंघको संस्थागत विकास र क्षमता अभिवृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंघले स्रोत साधन उपलब्ध गराउने बताएका छन् ।
महासंघ–मधेश प्रदेशले वीरगंजमा गरेको महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा अध्यक्ष ढकालले अहिले देखिएको आर्थिक शिथिलता, उद्योग व्यापारको खस्कदो अवस्था, राजस्व संकलनमा आएको गिरावट र बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका कारण निजी क्षेत्र हतोत्साहित हुन पुगेको बताए । उनले यस्तो परिस्थितिको निराकरण गर्न महासंघले सरोकारवालासँग भेटेर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।
पछिल्लो समयमा महासंघ ठूला उद्योगीको मात्र संस्था भएको आरोप लाग्ने गरेकामा ढकालले आफ्नो कार्यकालमा यस्तो आरोप खारेज गर्ने र साना, मझौला र समग्रमा सबै निजीक्षेत्रको साझा संस्थाका रुपमा महासंघलाई परिचित गराउन नेतृत्व क्रियाशील रहने बताए । ‘निजी क्षेत्रको मर्यादाक्रम निर्धारण गर्ने विषय उठिरहेको छ, यसलाई पनि कसरी स्थापित गर्न सकिन्छ त्यसतर्फ पहल गरिनेछ,’ ढकालले भने ।
महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले प्रदेशस्तरीय उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघबीचका अन्तरसम्बन्धलाई नयाँ ढङ्गबाट परिभाषित गर्नुपर्ने बताउँदै मुलुकका सामु विद्यमान आर्थिक अन्योल र बिग्रँदो सुशासनको अवस्थाले निजी क्षेत्र निरास भएको बताए । वीरगंज र मधेश प्रदेशले बोकेको अपार आर्थिक सम्भावना र अवसरलाई राष्ट्रिय प्राथमिकताको बहसमा ल्याउन महासंघका अध्यक्ष ढ्काललाई आग्रह समेत गरे ।
कार्यक्रममा दोहोरो कर, चालु पूँजी कर्जा निर्देशिका २०७९, भन्सारबाट छुटेका मालबाहक सवारी साधनलाई आशंकाका भरमा प्रहरीले समातेर राजस्व अनुसन्धानमा बुझाउने बढ्दो प्रवृत्ति, पर्सामा एउटा छुट्टै औद्योगिक क्षेत्रको सञ्चालन, भन्सार, राजस्वसँग सम्बन्धित नीतिगत जटिलता लगायतका विषय निराकरण गर्न सहभागीले सुझाव दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ, कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डा.सुबोध कुमार गुप्ता, महासंघ–मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, महासंघ–मधेश प्रदेश उपाध्यक्ष जितेन्द्र महासेठ, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाललगायतको उपस्थिति थियो ।