
विपिन यादव
जनकपुरधाम ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी, गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसान हर्षित भएका छन् । गाउँलेबीच अन्तद्र्वन्द्व चुलिएपछि २०७६ मा साप्ताहिक हाटबजार बन्द भएको थियो । त्यसयता किसानलाई आफ्ना उत्पादन बेच्न करिब पाँच किलोमिटरको दूरीमा रहेको तीनकौरिया चोकस्थित बजार पुग्नु पर्ने बाध्यता थियो । दुहबी र गोबराही बीच भागमा पर्ने बजारमा नयाँ वर्षका दिनबाट हाट लाग्न थालेपछि आफ्ना खेतबारीमा उत्पादित बालीनाली बेच्न साताका दुईपटक परतिरका गाउँसम्म धाउनुपर्ने किसानको विवशतामात्र सकिएको छैन, स्थानीयले गाउँमै ताजा तरकारी किन्न पाउने सुविधा पाएका छन् ।
गाउँको विद्यालयसँगै जोडिएको हाट सञ्चालनमा आउँदा उब्जनी बेच्न एक गाउँबाट अर्को गाउँसम्म सामग्री ओसारपसार गर्न मुस्किल हुने किसानको सकसमा विराम लागेको छ । तिनीहरूले गाउँकै हाटमा आफ्ना उत्पादन उचित मूल्यमा बेच्न पाएका छन् ।
दुहबीको कृषि हाटबजार आइतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन लाग्नेछ । गाउँमै कृषि हाटबजार सञ्चालन भएपछि यहाँका बासिन्दाका लागि दीपावली नै गर्ने अवसर निम्त्याएको विदेह नगरपालिकाका कार्यपालिका सदस्य शत्रुधन रायले बताए । उनले चार गाउँका बीचमा रहेको हाटबजारबाट तरकारी उब्जाउने किसानसँगै आमजनतालाई सुविधा भएको उल्लेख गरे । उनले भने, ‘चार वर्षअघि हाटबजार लाग्न छाडेपछि जनतालाई निकै अप्ठ्यारो परेको थियो । त्यसैले नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूका पहलमा कार्यपालिकाको निर्णयबाटै हाटबजार सञ्चालनमा ल्याएका हौँ ।’
स्थानीय हाटबजारमा कृषि उत्पादन बेच्न महिलाको संख्या उल्लेख्य हुन्छ । टाढासम्म पुगेर सामान बेच्दा पुरुषको तुलनामा महिलालाई बढी कष्ट बेहोर्नुपर्ने स्थिति थियो । तरकारी व्यावसायी एक महिलाका अनुसार गाउँमा हाट शुरु भएपछि छरिएर लाग्ने बजार एक ठाउँमा आएको छ । उनले भनिन, ‘तरकारी बेच्न जेनतेन तीनकौरिया चोक पुग्नुपथ्र्यो । हाटबजार लाग्न थालेपछि गाउँको एक ठाउँमै सबैथोक बेच्न र किन्न पाइने भएको छ ।’ स्थानीयका अनुसार २०७६ सम्म सोही स्थानमा ठूलो हाटबजार लाग्ने गरेको थियो । हटियामा स्थानीय उत्पादन आलु, प्याज, काउली, परबल, कदिमा, तेजपत्ता, स्याउ, सुन्तलालगायत तरकारी तथा फलफूल खरिदबिक्री गर्न मानिस आउँथे । छिमेकी देश भारतबाट समेत भरिया लिएर व्यापारी हटियामा आउने गरेका थिए ।
‘त्यति ठूलो हाटबजार विभिन्न कारणले बन्द हुनपुग्यो, जनप्रतिनिधि हुनुका नाताले केही वर्ष पहिलेदेखि पटकपटक हाटबजार सञ्चालन गर्न पहल गरेको थिएँ तर सफलता भने अहिले प्राप्त भएको छ,’ नगरप्रमुख बेचन दासले भने, ‘स्थानीय किसानको उत्पादन खपत अब यहीँबाट हुनेछ । व्यावसायिकरूपमा तरकारी तथा फलफूल उब्जाउन साना किसानलाई हाटबजारले प्रोत्साहन दिनेछ ।’
गाउँबाट ल्याइएका कृषि सामग्री खरिदबिक्रीले किसान तथा उपभोक्ताको सिधा सम्पर्क हुने र किसानले उचित मूल्य पाउने हुँदा यहाँका साना किसानको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास नगरप्रमुख दासको छ । लोप भइसकेको हाटबजार पुनर्सञ्चालनले किसान र उपभोक्ता दुवैलाई फाइदा हुने नगर उपप्रमुख आशादेवी झाले बताइन् । हाटबजारको विस्तार र संरक्षणमा आफूहरू लागिपरेको भन्दै उनले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण गर्न हाटबजारले निकै सघाउ पु¥याएको जानकारी दिइन् ।
चार वर्षभन्दा बढी समयपछि दुहबीगोबराही चोकमै पुनः हाटबजार सञ्चालनपछि स्थानीय उत्पादनले बजार पाउँदा किसान आर्थिक रूपले सबल र आत्मनिर्भर हुने अपेक्षा गरिएको छ । गाउँमै हाटबजार लाग्ने भएपछि उनीहरू थप मेहनती र उद्यमशील बन्नेछन् । हाटबजार सञ्चालन गराउन वडाध्यक्ष रामपुकार सहनी, वडाध्यक्ष रामश्रेष्ठ सहनी, कार्यपालिका सदस्य शत्रुधन राय, हरि कुसैयत, ब्रहम्देव दास, सन्तोष यादवलगायत स्थानीय बुद्विजीवीले पहल गरेका थिए ।