हिन्दू गणतन्त्र स्थापना आजको आवश्यकता : यादव

[mashshare]

मधेशदृष्टि
सुर्खेत ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेपालमा संघीय हिन्दू गणतन्त्र स्थापना आजको आवश्यकता रहेकोले अभियानले देशलाई संघीय हिन्दू गणतन्त्र स्थापना गरेरै छाड्ने बताएका छन् । संघीय हिन्दू गणतन्त्र स्थापनाका लागि सुर्खेतमा आयोजित कार्यक्रममा उनले नेपालमा रहेको विविधतालाई जोड्ने आधार नै सनातन संस्कृति रहेकाले त्यसका जगेर्ना गर्दै मुलुक र मुलुकवासीलाई जोडिराख्न संघीय हिन्दू गणतन्त्र मात्र विकल्प रहेको बताएका हुन् ।

‘जुन दिन सनातन संस्कृति समाप्त हुन्छ, त्यस दिन राष्ट्रिय एकता पनि समाप्त हुनेछ,’ उनले भने, ‘हरेक ४० किलोमिटरमा हाम्रो देशमा सांस्कृतिक विविधता छ । अलग–अलग संस्कार, संस्कृति र भेषभुषा छ । पूर्वदेखि पश्चिमसम्म विविधता छ । ती सबैलाई जोड्ने कडी सनातन संस्कृति हो र हिन्दू धर्म हो ।’ हिन्दू धर्म मजबुत रहुन्जेल नेपालको राष्ट्रियता पनि मजबुत हुने उनले बताए । ‘राष्ट्रियता पसलमा खरिद गर्न मिल्ने वस्तु होइन, अनादि कालदेखि चलिआएको संस्कृति नै राष्ट्रियताको आधार हो’ उनले भने, ‘नेपालमा अनादि कालदेखि चलिएको संस्कृति सनातन संस्कृति हो ।’ उनले थपे, ‘संघीय हिन्दू गणतन्त्र स्थापना नभएसम्म हामी चयनको निद्रा निदाउने छैनौँ । चयनसाथ भोजन गर्ने छैनौँ ।’

नेपालमा विभिन्न हिन्दू संघसंस्था कार्य गरिरहेकोमा सबैलाई सम्मान गर्नु साथै अब हिन्दूवादीहरुले राजनैतिक विकल्प खडा नगर्ने हो भने हिन्दू समाजलाई धर्मनिरपेक्ष शक्तिहरुले अझ झन दुःख दिने अध्यक्ष यादवको भनाइ थियो । वर्तमानका सबै राजनीतिक दलहरु हिन्दू विरोधी भएको आरोप लगाउँदै उनले हिन्दूवादीहरु राजनैतिक रुपमा अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद जानकी सिंहले दोस्रो जनआन्दोलनपछि निर्माण गरिएको अन्तरिम संविधानमा कसैलाई जानकारी नै नदिई धर्म निरपेक्षता घुसाइएको बताइन् । मुलुकमा संघीय हिन्दू गणतन्त्र स्थापना गर्न राष्ट्रिय एकता अभियानले अगाडि सारेको एजेन्डा सबै नेपालीको हृदयमा छुने खालको भएको उनले बताइन् । मुलुक बन्नु अघिदेखि नै सनातन संस्कार, संस्कृति र हिन्दूत्वको पदार्पण भएको उल्लेख गर्दै उनले सनातन धर्म, संस्कार, संस्कृतिको रक्षा गर्न सक्यौं भने संसारको सबैभन्दा शक्तिशाली मुलुक नेपाल बन्ने दाबी गरिन् ।

कार्यक्रममा समाजसेवी काली प्रसाद शाक्यले अभियानले संघीय हिन्दू गणतन्त्रको नयाँ अवधारणा ल्याएकोमा अब एक जुट भई अगाडि बढ्नु को विकल्प नरहेको बताए । उनले भने, ‘विगतमा हिन्दू धर्मलाई राजतन्त्रसँग जोडेर हेर्ने गरिएको थियो । त्यसकारण पहिचानवादीहरु हिन्दूराष्ट्रको विरोध गर्ने गरेको पाइन्छ । तर यो अभियानको संघीय हिन्दू गणतन्त्रको अवधारणाले सबैलाई समेटेको छ ।’ उक्त कार्यक्रम सञ्चालन हिन्दूवादी योद्धा ललित भटराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button