ईशनाथमा आगलागीबाट सात चौपाया मरे

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
भारतीय सिमानासँग जोडिएको रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका स्थित सोमबार राति भएको आगलागीबाट तीन घरगोठ जलेर नष्ट भएका छन् । आगलागीमा परेर घर गोठभित्र रहेका सात वटा चौपाया मरेका छन् । आगलागीबाट करिब १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

सोमबार राति ११ः४५ बजेको समयमा ईशनाथ–८ मंसरी टोलका बलिराम मिश्राको फुसको गोठ घरमा बालेको घुरबाट आगो सल्कीन गई गोठ घरमा आगलागि भएको थियो । आगलागीको खबर प्राप्त हुनासाथ प्रहरीचौकी रामपुर खापका प्रमुख असई सुरेशमान श्रेष्ठको कमाण्डमा खटि गएको टोली, गाउँले र बोर्डर आउट पोस्ट खापबाट गएको सशस्त्र प्रहरीको सहयोगमा करिब एक घण्टापछि आगलागी नियन्त्रण आएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् ।

आगलागी बाट तीनजनाको घर गोठ र घरभित्र रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । आगलागीमा परेर स्थानीय बलिराम मिश्राको भौंसी–१, पडा–१ र बाख्रा–१ जली मरेका छन् । त्यस्तै साईकल थान–३, मोबाईल–२, पंखा–१ र गोठ घर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । त्यस्तै आगलागीबाट कृष्ण मिश्राको भौंसीको पाडी–१, बाख्रा–१ र माउ–२ मरेका छन् । अन्नपात, ल्यापटप–१, पंखा–१, ग्यास चुलो–१, ६० हजार रुपैयाँ नगद, गोठ घर पूर्ण रुपमा नष्ट भएको छ ।

त्यसैगरी उदय मिश्राको साईकल–१, दाउरा र गोठ घर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीमा मानविय क्षेती नभए पनि तीनै जनाको गरेर करिब १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले जानकारी दिइन् ।

आगलागी लगतै घटनास्थल पुगेका ईशनाथ नगरपालिकाका पूर्व मेयर सन्तोष कुमार मेहताले गाउँले र प्रहरीको प्रयासले ठूलो क्षति हुनबाट जोगिएको बताए । उनले पीडित परिवारको सहयोगको लागि स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण गराएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button