बिशेष महत्व बोकेको चैती छठ

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
शास्त्रमा चैती छठ पर्वको बिशेष महत्व रहेको छ । चैती छठलाई सृष्टिको उत्पती र सूर्य पूजासंग जोडिएको छ । चारदिने पर्व रौतहट लगायत तराई मधेशमा कार्तिक महिनामा मनाइने जस्तै अत्यन्तै निष्ठापूर्वक चैती छठ पर्व शुक्रबारदेखि सुरु भएको छ । चैत्र महिनाको शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन यो चैती छठ पर्व मनाइने गरिन्छ । चैती छठको पहिलो दिन शुक्रबार नहाए खाए विधि गरिन्छ । दोस्रो दिन शनिबार खर्ना विधि गरिन्छ । खर्नाका दिन व्रतालुले दिनभरि उपवास निराहार बसेर राति अरवा अरबाइन नुन नहालेको खानेकुरा खाने गर्छन् । चैती छठ पर्वको मुख्य दिन आइतबार व्रतालुले निराहार व्रत बस्नेछन् ।

आइतबार षष्टी तिथिका दिन निराहार रही साँझ पवित्र नदी पोखरी जलाशयमा बनाइएको छठी घाटमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने परम्परा रहिआएको छ । सूर्य उपासनाको ब्रत छठी ब्रतालुको फलफूल र ठेकुवा, कसार लगायतका परिकार राखिएको अर्घ अस्ताउँदो सूर्यदेवलाई देखाइन्छ । यसलाई सँझिया घाट भन्ने गरिन्छ । त्यसको भोलिपल्ट सोमबार सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ देखाएर चैती छठ समापन गरिन्छ ।

सप्तमीका दिनको पर्वलाई स्थानीय भाषामा बिनहिया घाट, भोरवा घाट भन्ने गरिन्छ । रौतहटको सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतको स्थानमा रहेको नदी पोखरी तथा जलासयमा छठ पर्व मनाउने गरिन्छ । बिगतमा चैती छठ गर्नेहरूको संख्या न्यून रहे पनि केही बर्ष यता चैती छठ गर्ने ब्रतालुको संख्या बढ्दै गएको छ । चार दिनसम्म पूर्ण आस्थाका साथ मनाइने छठ पर्व पर्व रौतहट, सर्लाही, बारा, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरीलगायत तराई मधेशमा मनाउने गरिन्छ ।

चैती छठको बिशेष महत्व
छठपर्वको बारेमा पौराणिक कथाअनुसार सत्ययुगमा भगवान् श्रीराम, द्वापर युगमा दानवीर कर्ण र पाँच पाण्डवको पत्नी द्रौपदीले सूर्यको उपासना गरेकी थिइन् । छठी माताको पूजासँग जोडिएको एउटा कथाअनुसार राजा प्रियवंदको रहेको छ । जसले सर्वप्रथम छठी माताको पूजा गरेको भनिन्छ । त्यसैगरी चैती छठको सबभन्दा महत्वूर्ण कुरा यो पर्व चैते दशैंको नवरात्रिको बीच मनाउने गरिन्छ । यस दिन देवीको छैटौंरूप देवी कात्यायनीको पूजा गरिन्छ । जबकी नहाय खायको दिन देवी कूष्मांडा रूपको पूजा गरिन्छ ।

खरनाको दिन कुमार कार्तिकेयको माता देवी स्कंद माताको पूजा गरिन्छ । त्यसैले चैत्र नवरात्रिको समय श्रद्धालुले चैती छठको व्रत राख्ने गर्दछिन् । ब्रतालुलाई छठ मैय्यासंगै देवी स्कंदमाता, कूष्मांडा र कात्यायनी देवीको भी आशीर्वाद प्राप्त हुन्छ । चैते छठ पर्व गर्नाले स्वास्थ, बल, आरोग्य, समृद्धि र संतान सुखको प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button