
मधेशदृष्टि
वीरगंज ।
चैते दशैँ तथा महाअष्टमी पर्वको अवसर पारेर मंगलबार अपरान्ह देशकै प्रमुख शक्तिपीठमध्ये एक वीरगंजको गहवामाइको निशानसहितको प्रथम डोली यात्रा निकालिएको छ । गहवामाइ मन्दिर सञ्चालक समिति अध्यक्ष नरेन्द्र कुमार शाहको नेतृत्वमा अपरान्ह ४ बजे मन्दिर परिसरबाट डोली यात्रा शुरु भएको हो ।
यसअघि मंगलबार दिउँसो २ बजे डोलाको विधिवत रुपमा पूजाआजा गरिएको थियो । डोली यात्रा गहवामाइ मन्दिरबाट शुभारम्भ भई वीरगंजको २ नम्बर रोडबाट हुँदै गणेशमान चोक, बिर्तामाई मन्दिर, अलखिया मठ, महावीर मन्दिर, घन्टाघर हुँदै पुनः गहवामाइ मन्दिर प्राङ्गण पुगेर समापन भएको हो । डोली यात्रामा वीरगंजसहित बारा, पर्साका हजारौँ भक्तजनको सहभागिता थियो ।
यता, चैत्र शुक्लअष्टमी अर्थात् मंगलबार नै चैतेदशैँ । शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइएको छ । चैत्र शुक्लपक्षलाई ‘वासन्ती नवरात्र’ पनि भनिन्छ । शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन् । वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्व रहेको धर्मशास्त्री बताउँछन् ।
चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ । वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थपाठ गरिन्छ । चैतेदशैँका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलीसहित पूजा गर्ने विधान छ । मंगलबार वीरगंजको गहवा माई, विन्दवासिनी माइ, बाराको गढीमाइ, हेटौँडाको चुरियामाईलगायतका शक्तिपीठहरुमा भक्तजनको भीड लागेको छ ।