
पर्साको ग्रामीण इलाकाबाट तस्करी भइरहेको विषयमा हामीले केही दिनअघि समाचार प्रकाशन गरेका थियौँ । वीरगंज बजार आसपासका नाकामा प्रहरीले कडाइ गरिरहँदा पर्साकै ग्रामीण इलाकातिर भनेर तस्करलाई भ्याइनभ्याइ भइरहेको सूचना आयो । प्रहरी निरीक्षककै इशारामा तस्करहरुले काम शुरु गरे भन्ने पहिलो सूचनामा परख गरेका थियौँ । प्रहरीबाटै इशाराविना कसरी तस्करहरु जगमगाउँदो ढंगले रगरगी मच्चाउँछन् भनेर सूचना आएको ३–४ दिनपछि समाचार दियौँ । यसले प्रहरी र तस्करको कहीँ न कहीँ ‘दोस्ती’ नभई तस्करी मौलाउन्न भन्ने सबैलाई जानकारी नै छ । पछिल्लो समय पर्साका केही समाचारहरुले सबैको ध्यान तानेको छ । समाचार कस्तो बनाउने भन्नेबारे पर्साका पत्रकार जान्दैनन् भनेर बोल्ने र ओ हो, यो त गजबको समाचार हो भन्ने ठानेर छाप्ने, बजाउने, लेख्ने पत्रकारको पनि हामीकहाँ खाँचो छैन । तर यथार्थमा चैँ साँँच्चै लेखिनु पर्ने समाचारहरु के के हुन् भनेर सूची बनाउने हो भने समाचारको खानीभित्र सूचनाका सम्बाहकहरु पुग्न ढिलाइ भइरहेको अनुभव हुने गरेको छ ।
शुक्रबार मात्रै हो, वीरगंजको एउटा प्रतिष्ठिन बोर्डिङ स्कुल दिल्ली पब्लिक स्कुलले विद्यार्थी ओसार्न प्रयोग हुने बसमा राजस्व छलेको सामान ओसारेको भिडियो नै बाहिर आयो । स्कुल बसकोसमेत यसरी दुरुपयोग गरेर तस्करहरुले राजस्व मार्ने काम कहिलेदेखि गर्दै आएका थिए, यसको हिसाब छैन । यसमा विद्यालयको बस मात्र प्रयोग भयो या विद्यालय व्यवस्थापन योबारे थाहा भएर पनि कसले के गर्छ र भनेर मौन बस्दै चालक–सहचालकको बदमासी अनदेखा गरिरहेको थियो, यो उसको विषय भयो । यसमा विद्यालय व्यवस्थापन जानकार नहुन पनि सक्छ । तर लुकाउनै नमिल्ने गरी दशीप्रमाणसहित भिडियो नै बाहिर आएपछि जतिसुकै जलप लगाउन खोजे पनि प्रतिष्ठित बोर्डिङ स्कुलले शिक्षा मात्र दिँदैन, राजस्व छल्न र तस्करहरुलाई सामान ओसारपसार गर्न स्कुल बस पनि दिँदोरहेछ भन्ने सन्देश बाहिरिएकै छ । अब कति समयसम्म स्कुललाई यो कालो धब्बा मेट्न कसरत गर्नु पर्ने हुन्छ, त्यसको जिम्मा बोर्डिङलाई नै दिउँ । विद्यार्थी ओसार्ने नाममा पाइरहेको छुटमा यो बदमासी गर्ने जो सुकै कारबाहीको दायरामा आउनु पर्छ ।
वीरगंज बजारमै पछिल्लो समय ठूला गोदामहरुमा प्रहरीको छापा सामान्य हुने गरेको छ । वीरगंज बजारमा बिल बिजक भन्दा बढी र बिलमा उल्लेख भएका भन्दा फरक सामान बोक्ने यातायातका साधन नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरीबीच एक हिसाबले मुसादौड नै छ कि कसले बढी समात्ने भनेर । यसको अर्थ वीरगंज बजार हेर्दा जति सफेद छ, योभित्र कालो धन्दाको राज छ भन्ने देखिँदै गएको छ । यो कालो पाटोलाई उखेलेर फालेर वीरगंज बजारमा श्वेत कारोबार मात्र हुन्छ, वीरगंज बजार इमानदारिताको सटर हो भन्ने देखाउने प्रयत्न गरिनु जरुरी छ । सत्ता फेरबदल हुँदा वीरगंजमा दोस्रो तहका हेभिवेट नेताहरु बग्रेल्ती आउने गरेका छन् । व्यापारी भेट्ने गरेका छन् । यो बेला कुरा हुन्छ, बाहिर आउँदैन । तर बजारमा भइरहेको बदमासी रोक्ने विषयमा पहल भएन भने सबै कालोधन्दालाई प्रश्रय दिइरहेका छन् भन्ने पहेँलो बसभित्र कालो पदार्थ भेटिएपछि थप भनिरहन पर्ला र ?