रमजानको विशेषता र महत्व

[mashshare]
–अफरोज अर्पण

इस्लाम धर्मको पाँच वटा आधार स्तम्भ : इमान, नमाज, रमजान(रोजा), जकात र हज हो । त्यो मध्येको एक रमजानको रोजा(ब्रत) राख्नु हो । अरबी भाषामा ‘सौम’ भनिने रमजान महिना अहिले चलिरहेको छ । एक महिनासम्म चल्ने रमजानमा मुुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा(सेहरी) खाई प्रारम्भ हुने रोजा सूर्य अस्ताए पछि बेलुकाको नमाज(मगरिब)को आजान सुनेर व्रत (इफतारी) खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । इस्लामिक पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । विक्रम सम्बत् (वि.स) र अंग्रजी पात्रो (इ.स) को तुलनामा इस्लामिक पात्रो (हिजरी सम्बत्) मा ३५४–३५५ दिन मात्र हुने भएकोले रमजानको महिना प्रत्येक वर्ष १०–१२ दिन अगाडि सर्दै आइरहेको हुन्छ । २५–२६ वर्षको अवधिमा रमजान महिनाले अंग्रेजी वर्षको पूरै एक वर्षको चक्र पूरा गरेको हुन्छ । हामीले यसो विचार गर्ने हो भने, रमजान कुनै वर्ष जाडो महिनामा पर्छ भने कुनै गर्मी महिनामा परिरहेको हुन्छ । वि.स.को पूरै वैशाखदेखि चैतसम्म रमजान महिनाले फन्को मारिरहेको हुन्छ ।

रमजानमै मुसलमानहरुको धार्मिक ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, फित्र (रमजान महिना दिइने दिइने विशेष दान) निकाल्नु, जकात (धार्मिक कर) निकाल्नु यो महिनाको ठूलो विशेषता हो । शरीरलाई शुद्ध राखेर मात्र रोजा बस्नुपर्छ भन्ने मान्यता छ । रमजान मुख बारेर भोकै (व्रत) बस्ने पर्व मात्र नभइ हात, गोडा, आँखादेखि विभिन्न शारीरिक अंकको पनि व्रत बस्नु पर्छ । रमजान महिनाभरी रोजा मात्र बसेर हुँदैन् हातले कुनै गलत काम गर्नु, गलत काममा पाइला चाल्नु, झुटो बोल्नु, कसैको कुरा काट्नु, झैझगडा गर्नु, गलत नजर राख्नु, शारीरिक सम्पर्क गर्नुजस्ता कुरालाई बर्जित गरिएको हुन्छ । रमजान एउटा पवित्र महिना भएकोले पनि यो महिनामा धार्मिक कार्य पवित्रताका साथ गर्नु पर्ने हुन्छ । यो महिनामा बाँकी महिनाको तुलनामा ७० गुणा बढी लाभदायक हुने भएकाले दानपुन, गरिब असहायलाई खाना खुवाउने, बढीभन्दा बढी अल्लाहको इबादत(उपासना) गर्ने गरिन्छ ।

दैनिक पाँच पटक पढिने नमाजमा रातिको इशाको नमाजमा तराबही (रमजानमा पढिने विशेष नमाज) पनि पढने गरिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । रमजानले मनिसमा सहनशीलता, दयालुपन बढाउँछ भने गरिब र असहायप्रति सहानुभूति, भोकै बस्नुको पीडाको अनुभूति गराउँछ । कुनै रोग वा शरइ उज्र (इस्लामी विधिशास्त्रले तोकेको परिस्थिति)बाहेक रमजानको रोजा छोड्नु पाप हो । बालबालिका, वृद्धवृद्धा, अशक्त रोगी, गर्भवती, रजस्वला भएकी, सुत्केरी वा स्तनपान गराउने महिलाका लागि रोजा अनिवार्य गरिएको छैन । रमजानको २९ वा ३० औं दिनको भोली पल्ट मुसलमानहरुले आफ्नो महत्वपूर्ण पर्व ईद–उल–फित्र (ईद) मनाउने गर्दछन् ।

रमजानको उद्देश्य
रोजाको उद्देश्य दर्शाउँदै कुरआन भन्दछ, ‘हे विश्वासीहरू ! तिमीहरूमाथि रोजा अनिवार्य गरिएको छ, जसरी तिमीहरूभन्दा पहिलाका मानिसमाथि गरिएको थियो । जसबाट तिमीहरू ईशपरायण बन्नेछौ ।’ (कुरआन, २ः१८३) रोजाको वास्तविक उद्देश्य दिनभर खानपिनलाई छाड्नु मात्रै होइन । यसले मानिसमा आत्मशुद्धि, सन्तुष्टि र अल्लाहको भय उत्पन्न गराउँछ । जसरी यो महिनामा कुविचार र कुकर्मबाट मानिस बच्छ, त्यही निरन्तरता अन्य ११ महिनामा पनि हुनुपर्ने व्यावहारिक प्रशिक्षण रोजाले दिन्छ । रोजाले मानिसलाई भलो र सदाचारी बन्न सहायता गर्छ । रोजा मनुष्यमा ईशपरायणता जन्माउने महत्त्वपूर्ण माध्यम हो । रोजाबाट मानिसको आत्मिक एवं चारित्रिक उत्थान हुन्छ । यसबाट आज्ञापालन, अनुशासन, नम्रता, सत्यप्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग र दयाजस्ता मानवीय आचरण एवम् गुण जन्मन्छन् । इस्लामी रोजाले व्रतालुलाई व्रतको समयमा खानपिन र सहवासलाई मात्रै नभई अरू वस्तुलाई पनि अवैध घोषित गर्छ । ती वस्तु रोजाको उद्देश्य, तत्वज्ञान र नैतिकताका लागि हानिकारक छन् । इस्लामी कानुनले रोजालाई शिष्टाचार, अदब, अल्लाहसँगको प्रेम एवम् संयमी दिल र वचनको पवित्रताको घेरामा घेरेको छ । तसर्थ रोजा धेरै सकारात्मक आदेशको सङ्गम हो । यो उपासना कुरआनको पाठ, अल्लाहको सम्झना, सहानुभूति र गरिबलाई मद्दत गर्ने महिना हो । यसर्थ रमजान उपासना, दया बरकतको महिना हो ।

सेहरी
रातको आखिर प्रहरमा सूर्याेदय हुनुपूर्व रोजाको नियतबाट खानपिन गर्नुलाई सेहरी भनिन्छ । सेहरी खानामा धेरै प्रतिदान र अभिवृद्धि रहेको बताइन्छ । रोजा राख्न नियत अनिवार्य गरिएको हुन्छ । सेहरी खान नपाए पनि रोजा भने अवश्य राख्नुपर्छ ।

इफ्तार
सूर्यास्तपश्चात् रोजा तोड्नका लागि केही खानपिन गर्नुलाई इफ्तार भनिन्छ । इफ्तारमा ढिला गर्नुहुन्न । भनिन्छ– व्रतालुको पुकार इफ्तारको समयमा स्वीकार हुन्छ । अर्काेतर्फ व्रतालुलाई इफ्तार गराउनु अत्यधिक प्रतिदानको कार्य हो भन्ने मुस्लिमहरुको विश्वास छ । इफ्तार सकेसम्म समूहमा गर्नु राम्रो मानिन्छ । घरमा वा मस्जिदमा समूहमा बसेर इफ्तार गर्नुपर्छ । गाउँघरमा अहिले पनि घर घरबाट इफ्तारीका लागि बनाइएको विभिन्न परिकार नजिकको मस्जिदमा लगिन्छ, र त्यहाँ आउने नमाजी, रोजदारहरुले आफ्नो व्रत तोड्छन् ।

तराविह
रमजान महिनामा विशेष किसिमको नमाज पढिन्छ, जसलाई तराविह भनिन्छ । यो नमाज रातमा पढिने नमाज हो । प्रायः तराविहमा सम्पूर्ण कुरआनको पाठ गरिन्छ ।

एतकाफ
रमजान महिनालाई १०–१० दिन गरी तीन भागमा विभाजन गरिएको छ । प्रत्येक भागलाई ‘अशरा’ भनिन्छ । पहिलो अशरा रहमतका (दया)को, दोस्रो मगफिरत (मुक्ति)को र तेस्रो स्वर्गमा स्थान बनाउने हुन्छ । व्रतालु गाउँ वा सहरका मस्जिदमा रमजानको अन्तिम अशरामा एतकाफ (अल्लाहको उपासनाका लागि एकान्तवास)मा बस्छन् । एतकाफमा व्रतालु मस्जिदमा बसेर अल्लाहको खुब गुणगान गर्छ । एतकाफमा बस्ने व्यक्तिले प्राकृतिक आवश्यकता बेगर मस्जिदबाट बाहिर निस्कनु हुँदैन ।

शबे कद्र
अल्लाहले रमजानको तेस्रो भागमा आफ्नो दयालाई निहित गरेको विश्वास गरिन्छ । रमजान महिनाको आखिरी भागमा “शबे कद्र” अर्थात् सम्मानित रातमा मानव जातिको मार्गदर्शनका लागि सर्वशक्तिमान् अल्लाहका तर्फबाट हजरत मुहम्मदमाथि कुरआन अवतरित गर्न प्रारम्भ गरिएको थियो । यसलाई ‘लैलतुल कद्र’ पनि भनिन्छ । यस दिव्य रातिलाई हजारौँ महिनाभन्दा उत्तम भनेर कुरआनले वर्णन गरेको छ । यस रातमा ईशदूत पलनहारको निर्देशनअनुसार हरेक कार्यको व्यवस्थाका लागि अवतरित हुन्छन् भन्ने विश्वास गरिएको छ । शबे कद्रको रातमा नै संसारिक मामिला एवम् मनुष्यको भाष्यको फैसला हुने बताइन्छ । यसैगरी शब्रकद्रको रातले मनुष्यलाई क्षमा, कृपा, प्रतिदान र शान्ति प्रदान गर्ने दान हो । शब्र कद्रको रात रमजान महिनाको आखिरी भागको बिजोर (२१औँ, २३औँ, २५औँ, २७औँ र २९औँ) रातमध्ये एक रात भएको बताइन्छ ।

कुरआनको अवतरण
रोजा र कुरआनबीच घनिष्ठ सम्बन्ध छ । रमजान त्यो महिना हो, जसमा कुरआन अवतरित गरियो । कुरआन भन्छ– रमजान त्यो महिना हो, जसमा मानिसको मार्गदर्शनका लागि र सत्य र असत्यको अन्तरका प्रमाणको साथ कुरआन अवतरित गरियो । अतः तिनीहरूमध्ये जोकोही यस महिनालाई पाउँछौ भने यस महिनाको रोजा राख । यसर्थ यो महिनामा धेरैभन्दा धेरै कुरआनको पाठ गर्नुपर्दछ । मनव जातिको मार्गदर्शन तथा सत्य र असत्यबीच स्पष्ट अन्तर गर्नका लागि अल्लाहले कुरआन हजरत मोहम्मदमाथि १७ अगस्ट, सन् ६१० बाट अवतरण हुन सुरु गरे । परिस्थिति र जुन अन्तरवस्तुमा मार्गदर्शक वा आदेशको आवश्यकता भयो । त्यसैअनुसार कुरआनको अवतरणको प्रारम्भ भएको हो । यो सिलसिला मार्च, सन् ६३२ सम्म रह्यो । कुरआनमा कुल ११४ सूरह (अध्याय) र ६६६६ आयात (श्लोक) छन् ।

सदका­ए­फित्र
सदका­ए­फित्र तथा जकात (धर्मादान)द्वारा इस्लाम सामाजिक न्यायको व्यावहारिक आर्थिक उदाहरण प्रस्तुत गर्छ । इदको नमाजभन्दा पहिला नै सदका­ए­फित्र दिनुपर्छ । सदका­ए­फित्रबाट सङ्कलित रकम गरिब, मजदुर तथा बेसहारा मानिसलाई दिनुपर्छ । जोसँग प्रचलित साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी मूल्यबराबरको चलअचल सम्पत्ति छ, त्यस्ता व्यक्तिले आफू र आफ्नो परिवारका सदस्यको फित्र दिनुपर्छ । यसको मात्रा पनि इस्लामले निर्धारण गरिदिएको छ । पौने दुई सेर(किलो) गहुँ वा साढे तीन सेर जौ वा यसको पिठो वा यसको मूल्यबराबरको कुनै अनाज प्रति व्यक्तिको दरले गरिबलाई दिनुपर्ने हुन्छ ।

व्रतले स्वास्थ्यमा पुर्याउने फाइदा
सन् १९९४ मा ‘रमजान र स्वास्थ्य’ सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन मोरक्कोमा भएको थियो । जसमा विश्वभरका ५० शोधपत्रहरूमाथि छलफल भएको थियो र त्यहाँबाट के निष्कर्ष निकालिएको थियो भने व्रत बस्दा स्वास्थ्यमा कुनै हानी हुँदैन । जबकि धेरै परिस्थितिमा उपवास पूर्णतया लाभदायक साबित हुन्छ । उपवासबारे पछिल्ला केही वर्षमा भएको अनुसन्धानले उपवास अर्थात् दिनमा लामो समयसम्म खानपान बन्द गर्नु पनि केमोथेरापीजस्तै प्रभावकारी हुने देखाएको छ । केही अनुसन्धानले सुझाव दिन्छ कि उपवासले इन्सुलिन प्रतिरोध र सूजन कम गरेर क्यान्सरसँग लड्न प्रभावकारी हुन्छ । उपवासले मोटोपना र टाइप २ मधुमेहलाई उल्टाउन सक्छ, जुन क्यान्सरको जोखिम कारक हो । अनुसन्धानले उपवासले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ भने उपवासले इन्सुलिन संवेदनशीलता बढाउँछ ।

जब हाम्रो शरीरमा धेरै खानेकुरा हुन्छ, हाम्रो कोशिकाहरू इन्सुलिनको लागि कम संवेदनशील हुन्छन्, अर्थात्, यो हो कि यदि तपाईसँग कुनै चीज धेरै छ भने तपाईले त्यसको कदर गर्दैनन्, त्यसैगरी, यदि तपाईले धेरै खानुभयो भने, कोशिकाहरूले बढी ग्लुकोज सोस्छन्, यदि हामीले यसो गरेनौं भने, रगतमा ग्लुकोज रहन्छ र मधुमेह हुन्छ । व्रत बस्दा खाना शरीरमा प्रवेश गर्दैन, त्यसपछि शरीरमा ऊर्जा जम्मा हुन थाल्छ । सुरुमा व्रत बस्दा शरीरलाई असहज महसुस हुन्छ तर समयसँगै उपवास बस्ने बानी परिहाल्छ । १२ देखि १३ घण्टासम्म केही नखाने मानिसको शरीरमा अटोफेजी नामक क्लिन्जिङ प्रक्रिया सुरु हुन्छ । शरीरले बेकार कोशिकाहरू सफा गर्न थाल्छ । भोक र उपवास नयाँ कोशिकाको निर्माणमा फाइदाजनक हुन्छ । जापानी वैज्ञानिक योशिनोरी ओसिमोले अटोफेजीको खोजका लागि २०१६ मा नोबेल पुरस्कार पाएका थिए । पाचन प्रणालीको निरन्तर गतिविधि र खराब खानपानले यो प्रणालीलाई बिगार्छ र व्यक्ति विभिन्न प्रकारका पेटसम्बन्धी रोगहरूको सिकार हुन थाल्छ । उपवासको समयमा पन्ध्र–सोलह घण्टासम्म खाना र पेय पदार्थ त्याग्दा यो प्रणालीलाई आरामको स्थितिमा ल्याउँछ र यसरी पाचन प्रणाली आफैं मर्मत हुन्छ । लिभर (कलेजो) शरीरको एक धेरै महत्त्वपूर्ण अंग हो, जसले पाचनमा मात्र मद्दत गर्छ । तर यसले रगत पनि उत्पादन गर्छ । यसका साथै यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ, जसले व्यक्तिलाई रोगसँग लड्ने शक्ति दिन्छ ।

उपवासले कलेजोलाई केही घण्टाको लागि पाचन कार्यबाट मुक्त गराउँछ, जसको फलस्वरूप यसले पूर्ण शक्तिका साथ रगत उत्पादन गर्न थाल्छ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यसरी एक महिनाको व्रतले शरीरमा वर्षभर रोगसँग लड्ने शक्ति बनाउँछ । उपवासले बोसो वा पेटमा उत्पादन हुने एसिडलाई सन्तुलनमा राख्छ । फलस्वरूप व्यक्ति न त एसिडिटीको सिकार हुन्छ न त कम एसिडिटीका कारण अपचको समस्या हुन्छ । हृदय भनेको रक्तसञ्चार प्रणाली हो । मुटुले शरीरमा बग्ने रगतलाई नियन्त्रण गर्छ । मानिसको जन्मदेखि मृत्युसम्म हृदयले निरन्तर काम गरिरहन्छ । लगातार काम गर्दा मुटु थकित हुनु स्वभाविक हो । विशेष गरी जब एक व्यक्ति द्रुत गति, तनावपूर्ण जीवन बितिरहेको छ । व्रत बस्दा नसामा रगतको मात्रा कम हुन्छ । जसका कारण मुटुले कम काम गर्नु पर्ने हुन्छ र आराम मिल्छ । यसो गर्दा नसाका भित्ताहरूमा हुने डायस्टोलिक प्रेसर कम हुन्छ । जसले गर्दा मुटु र नसा दुबैलाई आराम मिल्छ । आजको तिब्र गतिको जीवनमा मानिसहरु उच्च रक्तचापको सिकार भइरहेका छन् । उपवासको समयमा डायस्टोलिक प्रेसरको कमीले उनीहरूलाई यो रोगबाट बचाउँछ । र सबैभन्दा महत्त्वपूर्ण कुरा, उपवासको समयमा, इफ्तारको केही क्षण अघि, कोलेस्ट्रोल, बोसो र अन्य चीजहरू रगतबाट पूर्ण रूपमा सफा हुन्छन् र नसहरूमा जम्मा हुँदैन, जसले गर्दा हृदयघातको खतरा हट्छ । मिर्गौलाले रगत सफा गर्छ र उपवासको समयमा आरामको अवस्थामा रहन्छ, त्यसैले शरीरको यो महत्त्वपूर्ण अंगको शक्ति फर्किन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button