
सञ्जय मिश्रा
रौतहट ।
ईशनाथ नगरपालिकामा ४१ वर्षको इतिहासमा पहिलोपटक विना बाधाअवरोध विनाझन्झट हिन्दू समुदायले मनाउने झण्डी शान्तिपूर्ण तरिकाले निकालिएको छ । सिडिओ हीरालाल रेग्मीको विशेष पहल र सक्रियताले ईशनाथ–७ घिउरा गाउँबाट शुक्रबार शान्तिपूर्ण तरिकाले हनुमानको झण्डी निकालिएको हो ।
घिउरास्थित हिन्दू समुदायले मनाउने झण्डीपूर्व कुनै अप्रिय घटना नहोस् भनेर शुक्रबार बिहानैदेखि सुरक्षार्थ ५ सय भन्दा बढी प्रहरी परिचालन गरिएको थियो । ईशनाथ–७ घिउरा गाउँस्थित हनुमान मन्दिरमा पूजा अर्चनापश्चात झण्डी निकाल्नेक्रममा हिन्दू मुस्लिमबीच साम्प्रदायिक सद्भाव नबिग्रियोस् भनेर विशेष सजगता अपनाइएको थियो ।
सिडिओ रेग्मी, नेपाली सेनाका कर्णेल किशोर अधिकारी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंहसमेत फिल्डमा खटिएका थिए । प्रत्येक वर्ष साउनपञ्चमी अर्थात नागपञ्चमीका दिन घिउरा गाउँको हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजासहित झण्डी लिएर सैयौँको संख्यामा हिन्दू समुदायका मानिस गाउँ भन्दा उत्तर पोखरीको डिल हुँदै छोटका घिउरा गाउँ पुग्ने गर्छन् । छोटका घिउरा गाउँमा झण्डी मिलान गरी भारतीय क्षेत्र नरकतिया पोखरीमा पुर्याइएको स्थानीय समाजसेवी आमाज्ञा ठाकुरले बताए । परापूर्वकालदेखि घिउराबाट हनुमानको पूजा गरी झण्डी गएपछि मात्र भारतीय गाउँ नरकतियामा मेला लाग्ने गरेको समाजसेवी ठाकुरले जानकारी दिए ।
शुक्रबार मन्दिरमा पूजा अर्चनापछि अपरान्ह झण्डीसहित गाउँ घुम्दै गन्तव्यसम्म पुग्दा कुनै बाधा अड्चन र वादविवाद नभएको सिडिओ रेग्मीले जानकारी दिए । गाउँको उत्तरतर्फ बाक्लो बस्ती रहेको मुस्लिम समुदायका मानिसले विगतमा हिन्दूहरूले झण्डी लिएर आउनेक्रममा विभिन्न प्रकारले बाधा उत्पन्न गर्दा दुई समुदायबीच झडपको अवस्था उत्पन्न हुने गर्दथ्यो । विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सद्भाव नबिग्रोस् भनेर बिहीबार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
४१ वर्षअघि तत्कालीन सिडियो पुण्यप्रसाद लुइँटेलले विभिन्न राजनितिक दबाबमा परेर घिउरा गाउँबाट झण्डी लिएर जाने टोलीमा बढीमा ४१ जना मानिस सहभागी हुने र वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने निर्णय गरेका थिए । सोही निर्णयका आधारमा प्रत्येक वर्ष हुने विवादलाई जरादेखि नै हटाउन केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक बसेर निर्णय खारेज गरी झण्डी लिएर स्थानीय मानिस मूलबाटो भएर सानो घिउरा जाने निर्णय गरिएको सिडिओ रेग्मीले बताए । साथै, ईशनाथ नगरपालिकाको समन्वयमा स्थानीय नागेन्द्र ठाकुरको संयोजकत्वमा ११ सदस्यीय झण्डी मेला व्यवस्थापन समिति गठन गरिएको थियो । पूर्व गाविस अध्यक्ष शेख पहाडीका साथै मुस्लिम समुदायका अगुवालाई सम्झाइबुझाई गर्दा अवस्था अझ सहज बनाउन सफल भएको एसपी दिलीप घिमिरेले जानकारी दिए ।
झण्डी मेला शान्तिपूर्ण तरिकाले सम्पन्न गराउन शुक्रबार बिहानैदेखि ईशनाथ नगरपालिका र भारतीय नाकामा अघोषित नाकाबन्दी गरिएको थियो । ईशनाथ नगरपालिकाकी मेयर प्रत्यासी अन्जु झाले ४१ वर्षपछि झण्डी लिएर मात्र ४१ जना जान पाउने ऐतिहासिक निर्णय खारेज हुँदा दुवै समुदायका लागी राम्रो भएकाले स्थानीय खुसी भएको बताइन् ।
विगतमा झण्डीकै विषयलाई लिएर दुई समुदायबीच तनाव हुँदा कसैका लागि पनि राम्रो नभएको झाको भनाइ छ । २०८० फागुन महिनामा घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।






