

मानव सभ्यता र बस्ती विकास सुरुवात नदी किनाराबाटै भएको थियो । पूर्वीय होस् वा पश्चिमा, सबै सभ्यताको उदय नदी किनारामै भएको हो । मानव जीवन र नदीको सम्बन्धका विषयमा विभिन्न धार्मिक ग्रन्थमा चर्चा गरिएको पाइन्छ । खास गरी मिथिलाको जनजीवन सुरुवातसमेत नदी किनाराबाट भएको छ । मानव जीवनको विकासमा नदीको महत्व छ । आज जसरी मानव आधुनिक बन्दै गएका छन् । त्यति नै नदी संरक्षणतर्फ ध्यान दिइएको देखिँदैन । बढ्दो सहरीकरणका कारण नदी मासिने क्रम बढेको छ भने अर्कातर्फ भएका नदीको स्रोतसमेत सुक्न थालेका छन् । विभिन्न कारणमध्ये एउटा कारण चुरे विनाससमेत हो । चुरे क्षेत्रमा भइरहेको विनासले यसको प्रत्यक्ष असर हाम्रो नदी प्रणालीमा पनि परिरहेको छ ।
अधिकांश नदीनालाको स्रोत नै चुरे हो । तर चुरे दोहनले नदीको स्रोतमाथि प्रहार गरिरहेको छ । त्यसकारण यसको असर पर्ने नै भयो । नदीको प्रकोपबाट मानव सबैभन्दा बढी त्रसित हुनुपर्ने अवस्था छ । सुरुमा मानिसले नदीलाई आफ्ना लागि पानीको स्रोतका रूपमा प्रयोग गरे, माछालाई खानाका रूपमा । उनीहरूले खेतीपाती थाले तर वर्षैभर आकाशे पानी पर्ने कुरो भएन । एकैपटक फलेको अन्नले वर्षैभर पुगेन । त्यसैले पानी नपर्दा खेतीपाती गर्न खोलानदीको पानी नहर बनाएर परसम्म लैजाने जुक्ति निकाले, जसले गर्दा वर्षैभर खेतीपाती गर्न सम्भव भयो । त्यसपछि राम्रो अन्न फलेकाले अन्न खोज्न सधैँ जंगल जान परेन, खेतीपातीकै कारण बस्ती विकास हुनथाल्यो ।

नदी मानवसभ्यता विकासका लागि इन्धन बने । मिथिला क्षेत्रको धेरैजसो भूभाग सिञ्चित गराउने गरेको कमला नदीको महत्व धार्मिकग्रन्थमा निकै महत्वका साथ पढ्न पाइन्छ । नदी किनाराको एउटा संस्कृति छ भने नदी वरिपरि अन्य भागको छुट्टै संस्कृति छ । यसले कतैकतै संस्कृति विधितालाई समेत झल्काउने गरेको छ । यस्तै, नदीमध्ये धार्मिक महत्वले भरिएको नदीको रुपमा परिचित छ कमला नदी । कमला नदीमा बग्ने पानीमा कृषिका लागि महत्वपूर्ण हुने भएकाले यसको महत्वलाई समेत धर्मसँग जोडिएको छ । कुनै समय कमलाको कुरुप अनुहार हेरेका स्थानीय अहिले कमला नदी वरदान सावित भइरहेको अनुभव गरिरहेका छन् । कमला नदी नेपालको सिन्धुली जिल्लामा माइथान नजिकको चुरे क्षेत्रबाट सुरु हुने नदी हो । यो नदी सिन्धुली हुँदै उदयपुर, सिरहा र धनुषाको सिमाना हुँदै सिधै भारतको गङ्गा नदीमा गएर मिसिन्छ । यो नदी मिथिलाञ्चलमा गंगा नदीपछि सबैभन्दा पुण्यपूर्ण र महत्वपूर्ण उर्वर शक्ति भएको मानिन्छ । सिन्धुली, उदयपुर, धनुषा र सिरहा भई बग्ने कमला नदीको सिरहा उत्तरायणी क्षेत्रमा पाँच हजार वर्ष पुरानो सभ्यताको इतिहास फेला परेको दाबी गरिएको छ । कमला उत्तरायणी क्षेत्र प्रदेश १, २, र ३ को सङ्गमस्थल हो ।

धार्मिक मान्यतानुसार भगवान् कृष्ण र बलरामका बुबा नन्दबाबा त्यसबेला कंशले दुःख दिएको अवस्थामा वृज्रवासी ९ लाख गाईसहित त्यस क्षेत्रमा आई बसोबास गरेको अध्ययनले औँल्याएको छ । जुन स्थानबाट गाई प्रवेश गरेका हुन्, त्यसको नाम ‘गौद्वार’ भनिएकामा अहिले गोदार भन्ने गरिन्छ । कमला नदीको किनार धनुषा क्षेत्रमा पर्दछ । खिर पकाएर खाएको ठाउँलाई खिरयानी र दूध जम्मा गरेको ठाउँलाई दुधौली भनिएको स्थान अहिले पनि त्यही नामले सिन्धुली जिल्लामा परिचित छ । कमलाको उत्पत्ति नेपालको महाभारत पर्वतबाट भएको हो । कमला त्रिस्रोत्सा नदी हो, अर्थात् मूलतः तीनवटा खोला मिलेर कमला नदी बन्छ । नेपालको सिन्धुलीबाट धनुषासम्म पश्चिम र मध्ये भागका स्रोत बग्छन् । यीमध्ये मध्यस्रोत पश्चिमी स्रोतभन्दा छोटो छ तर पूर्वमा तेस्रो स्रोत लामो छ र यही स्रोत कमलाको वास्तविक उत्पत्ति हो । कमला नदी मिथिला क्षेत्रको लागि जीवनदायनी हो । खास गरेर यसको पानी जहाँ गएको छ, सिँचाईमा निकै उपयोगी सावित भएको छ । कमलाको धार्मिक महत्वका साथै यसको आफ्नो संस्कृति र पहिचानसमेत छ । वर्षमा एकपटक लाग्ने कमला मेलामा लाखौँको संख्यामा श्रद्धालु आउने गरेका छन् । राति पूजापाठ हुने गरेको छ । यहाँ आउने गरेका श्रद्धालुले कमलाको पूजापाठ गर्नुका साथै पानी आफ्नो घर लगेर धार्मिक प्रयोजनका लागि प्रयोग गर्ने गरेका छन् । नदीको पानी गंगाको पानी झैँ पवित्र मानेर प्रयोग गर्ने चलन छ ।

नदीको मुहान सगरमाथा अञ्चलको उदयपुर जिल्लाको उत्तरी छेउमा रहेको र उदयपुर गढीबाट दक्षिण–पश्चिम दिशामा बगेर जनकपुर अञ्चलको धनुषामा आएर तीनवटै मुहान मिलेर दक्षिणतर्फ सर्छ । पहिले पश्चिम र मध्ये भागको मुहान मिल्छ र त्यसपछि करिब १८ किलोमिटर पूर्वतिर बगेपछि तीनवटै खोला मिलेर नेपालको पहाडी भूभागमा उदयपुर गढीको उत्तरबाट करिब १५ किलोमिटर बगेर त्यसको धनुषामा पुग्छ । तराई भागमा करिब २० माइल दक्षिणतर्फ बगेपछि कमला भारतको बिहार राज्यको जयनगरनजिकै वर्तमान मधुबनी जिल्लामा अवतरण गर्छिन । जहाँ यसलाई अत्यन्त पवित्र नदीका रूपमा मान्यता दिइन्छ ।

पुण्यको दृष्टिकोणले मिथिलामा गंगापछि कमलाको स्थान उच्च छ । धार्मिक विभिन्न ग्रन्थमा कमलाको उच्च स्थान छ । धार्मिक महत्वले भरिएको कमला नदी किनारमा समेत एउटा जनजीवन आश्रित छन् । जो विशुद्धरुपमा पृथक जनजीवनमा सञ्चालनमा छ । मिथिलाको संस्कृतिले समेत भरिपूर्ण छ । मिथिलाको संस्कृतिको विविधतासमेत कमलाको छेउछाउको गाउँमा हेर्न पाइन्छ । जहाँ कमलालाई पूजा लोकआस्थाका रुपमा समेत गरिन्छ । लोकआस्थाका आधारमा समेत मिथिलामा कमला नदीको पूजा गरिन्छ । मिथिलाको संस्कृति अध्ययन गर्ने थलोका रुपमा समेत छ । वास्तवमा मिथिलाको एउटा संस्कृतिको सम्पदाको निधिको रुपमा समेत कमला छेउछाउको बस्तीलाई लिन सकिन्छ । श्री वृहत्विष्णु पुराणको चौधौँ अध्यायमा ‘मिथिला–महात्म्य’ अन्तर्गत मिथिलाका महत्वपूर्ण नदीको नाम लेख्दा ‘कोशी’ पछि ‘कमला’को नाम पहिलो पटक लिइएको छ । मिथिलाञ्चलका नदीमध्ये कोशी सबैभन्दा ठूलो नदी भए पनि यसको ख्याति ठूलो विनाशको नदीका रूपमा कायम छ । बरु कमला शास्यहस्त विष्णुप्रिया लक्ष्मीको नामले प्रसिद्ध छिन् । उनलाई मानिसले ‘कमला मैया’ भनेर पुज्छन् । कोशीलाई महाकाली, कमलालाई महालक्ष्मी र बागमतीलाई महासरस्वती मान्ने जनविश्वास छ । जता कोशीको पानी बग्छ, त्यहाँको जमिन बाँझो हुन्छ । जहाँ बाढीको समयमा कमलाको पानी जता बग्छ, त्यसले बालीको उत्पादनमा धेरै गुणा वृद्धि हुने गरी यस्तो निशान छोड्छ । जसकारणले यस नदीको नाम जीवनदायनी पनि हो । सिँचाईमा पानीको प्रयोग गर्दा खेती उब्जाउ बन्ने गरेका कारण यसलाई जीवनदायनी नदी भनिएको हो ।

युवाको प्रयास
कमला नदीको जल संरक्षणमा युवा केही समय यता निकै सक्रिय हुनथालेका छन् । उनीहरु जमिन र पर्यावरणको महत्व बुझेर नदीको जल संरक्षणका लागि प्रयासरत छन् । उनीहरु विवाहपञ्चमीको समयमा नदीमा मट्कोर आयोजना गर्छन् । यसको धार्मिक महत्व पनि उजागर हुन्छ भने उनीहरु कमला तटीय क्षेत्रका युवालाई कमला नदी संरक्षणका लागि वृक्षारोपण जस्ता कार्य गरिरहेका छन् । करिब ४ करोड वर्षपहिले हिमालय उत्पत्तिक्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको हिमालय पर्वत श्रृंखलाको सबैभन्दा दक्षिणमा नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएर रहेको होचो र कान्छो पर्वत नै चुरे पर्वत श्रृंखला हो । पश्चिममा पाकिस्तानको इन्दस नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको चुरे श्रृंखला शिवालिकका नामबाट पनि चिनिन्छ । प्रायः तराई सकिएर उत्तरमा उठेको पहिलो तथा महाभारत पर्वत श्रृंखलाबाट दक्षिणमा ओर्लदा अन्तिम पहाडको रूपमा चुरे पहाड छ । नेपालमा पूर्व इलामदेखि पश्चिम कञ्चनपुरसम्म ३६ जिल्लामा फैलिएको चुरेले कूल भूभागको १२.७८ प्रतिशत भूभाग ओगटेको छ । चुरेबाट अनेकौँ नदीको मुहानसमेत यही पहाडी क्षेत्र हो । तर यसको निवासले कतै न कतै तराईको जल प्रणालीमा समस्या ल्याइरहेको छ । चुरेबाट निस्कने नदीमध्ये एक हो कमला । कमला बेसिनमा पानी घट्दै गएको र त्यसलाई समाधान कसरी गर्ने भन्ने जनचेतना कार्यक्रमसमेत गाउँगाउँमा युवाले गर्दै आएका छन् ।

अर्कातर्फ चुरे राम्रोसँग व्यवस्थापन गर्न नसके यसको असर कमलाको जलप्रणालीमा समेत पर्ने छ । यो विषयमा समेत युवाले अभियान चलाउँदै आएका छन् । कमला नदीमा प्राकृतिक श्रोतसाधन अव्यवस्थित र अवैज्ञानिक प्रयोग हुँदै जाँदा तल्लो तटीय र उपल्लो तटीय क्षेत्रको परिस्थितिकीय सन्तुलन बिग्रन गई तराई मधेशमा हजारौँ बिघा उर्वराभूमि बगरमा परिणत हुने क्रम बढिरहेको छ । नेपालको अन्न भण्डारका रुपमा रहेको तराईको वातावरणीय सन्तुलन कायम गर्न जैविक विविधता संरक्षण गर्न चुरे क्षेत्रको संरक्षण अनिवार्य भएको छ । यसका लागि युवाको सक्रियतामा अहिले एउटा अभियान चलाइँदैछ । सर्वसाधारणलाई नदीको महत्व बुझाउन अभियानले काम गरिरहेको छ । अभियानको लक्ष्य नै कमला नदी संरक्षण, पर्यावरण जोगाउने, भूमि बञ्जर हुनबाट बचाउने र सबै मिलेर चुरे जंगल बचाउने अभियानको मुख्य लक्ष्य छ । अभियानसँग युवालाई जोड्न थालिएको छ । कतै न कतै अभियानले सार्थक रुपसमेत धारण गर्न थालेको छ ।

बगर खेतीले फेरिएको जीवन
कमला नदी किनारमा सर्वसाधारणले बगरमा तरकारी खेती गरेर जीवन चलाउँदै आएका छन् । बगर खेती यस क्षेत्रको किसानको आर्थिक उपार्जनको माध्यम बनेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ का ४० वर्षीय धीरेन्द्र कापरलाई केही वर्ष अघिसम्म हात मुख जोड्न धौधौ थियो । कमला नदीको बगर उपयोग गरेर आर्थिक उपार्जनसमेत गर्न सकिन्छ भन्ने उदाहरण यस क्षेत्रका किसानले दिइरहेका छन् । सिरहा र धनुषाका कमला किनाराका किसानका लागि आर्थिक उपार्जनको माध्यम बनेको छ । बगरमा उनीहरु सुन फलाएर जीवन परिवर्तन गरिरहेका छन् । खास गरेर बगरमा उनीहरु विभिन्न तरकारी, मौसमी फलफूल लगाएर जीवनयापनको माध्यम बनाउँदे छन् । कापरले दैनिक ज्यालामजदुरी गरेर ६ जनाको परिवार चलाइरहेका थिए । कुनै दिन काम नपाए छाक टार्न पनि निकै कसरत गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेको थियो । परिवारको भरणपोषण गर्न कापरसँग ज्यालामजदुरीको विकल्प थिएन । राम्रो गाँस र बास अभावमा परिवार पाल्न संघर्ष गर्नुपर्ने उनको बाध्यता थियो । तर अहिले कापर परिवारको जीवनशैली फेरिएको छ । ढल्नै लागेको ओत लाग्ने घर उनले ठड्याइरहेका छन् । छोराछोरी निजी विद्यालयमा पढाउन पाउँदा खुशीको अनुभूति गर्छन् कापर । धनुषा र सिरहाबीचको कमला नदीको बगरमा गरिएको कृषि खेतीले उनीसहित ४० घरपरिवारको जीवनस्तर उकासेको छ । उनीहरुको जीवनस्तरमा परिवर्तन आएको छ भने किसान निकै लाभान्वित भइरहेका छन् ।







