
मधेशदृष्टि
वीरगंज ।
वीरगंजलाई धार्मिक पर्यटनका केन्द्र बनाउने उद्देश्यका साथ शंकराचार्य गेटनजिकै अक्षरधाम निर्माण प्रारम्भ भएको छ । भारतका स्वामी नारायण अक्षरधाम गुजरात र कोलकाताबाट वीरगंज आएका स्वामी पुरुषोत्तम महाराज, स्वामी वत्स नारायण र इञ्जिनियरसहितको टोलीले वीरगंजमा निर्माणको तयारीमा रहेको अक्षरधाम स्थलगत अवलोकन गरेका छन् । टोलीले वीरगंजमा निर्माण हुन लागेको अक्षरधाम मन्दिरको जग्गाको अवलोकन गरेको हो ।
अक्षरधाम मन्दिर कमिटीका उच्च पदाधिकारीको दोश्रो पटकको अवलोकनमा इञ्जिनियरसहितको टोली रहेको र छिट्टै वीरगंज महानगरपालिकासँग अक्षरधाम मन्दिर निर्माणसम्बन्धी सम्झौता हुने नगरप्रमुख राजेशमान सिंहले बताए । मन्दिर निर्माणका लागि महानगरपालिकाले पर्याप्त जग्गा र अन्य सहयोग गर्न तयार रहेको भन्दै नगर प्रमुख सिंहले मन्दिर निर्माणका लागि अक्षरधाम ट्रष्ट आर्थिक सहयोग गर्न तत्पर रहेको बताए ।
महानगरले शंकराचार्य प्रवेशद्वार नजिकै लक्ष्मीनारायण मन्दिर रहेको हजारीमल धर्मशालाको करिब ३ बिघा जग्गामा अक्षरधाम मन्दिर निर्माणका लागि तयारी गरेको छ । हजारीमल धर्मशालाका नारायण अग्रवालले वीरगंजमा अक्षरधाम निर्माणका लागि आफूहरु शंकराचार्यद्वार नजिकको जग्गा दिन तयार रहेको बताए ।