
मधेशदृष्टि
सर्लाही ।
जिल्लाका प्रायः प्रहरी युनिटमा भन्सार छलीको चामल, दालका साथै भान्साका लागि आवश्यक सामान पुग्ने गरेको पाइएको छ । नेपाल भारत सीमाक्षेत्रस्थित प्रहरी युनिटले भन्सार छलीको चामल, दालका साथै भान्साका लागि आवश्यक सामग्री ल्याउँछन् भन्दा खासै फरक नपरे पनि पूर्वपश्चिम लोकमार्गमा रहेका इलाका प्रहरी कार्यालयहरुले समेत भन्सार छलीको चामल, दालका साथै भान्साका लागि आवश्यक सामान लैजाने गरेको पाइएको हो ।
केही दिनअघि इलाका प्रहरी कार्यालय लालबन्दीको ना १ झ १२९८ नम्बरको नेपाल प्रहरीको सरकारी सवारी साधनले भन्सार छलीको चालम, आटाका साथै कपडा धुने सर्फसमेत ल्याएको पाइएपछि जिल्लाका प्रहरी युनिटले भन्सार छलीको चामल, दालका साथै भान्साका लागि आवश्यक सामान भारतीय बजारबाट ल्याउने गरेको खुलासा भएको हो ।
राज्य र नागरिकको सुरक्षाको कसम खाएर जागिर खाएका प्रहरी कर्मचारीबाटै भन्सार छली हुन्छ भने सामान्य नागरिकबाट के होला भन्ने प्रश्न पनि उब्जिएको छ । नेपाल सरकारको तलब खाएर भन्सार छलेर नेपाली पैसा भारतीय व्यापारीलाई दिनुले त्यस्ता सुरक्षाकर्मीबाटै राज्यको सुरक्षा र सुशासन हुने कि नहुने भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको जानकारहरु बताउँछन् ।
खुला सिमानाका साथै सीमाक्षेत्रका नेपाली र भारतीय नागरिकको बीचमा रोटीबेटीको सम्बन्ध रहेको र खुला सिमानाका साथै सीमा क्षेत्रमा बजार नरहेका कारण भारतीय बजारमा गएर दैनिक आवश्यक घरायसी प्रयोजनार्थ केही सामान ल्याँदा नियन्त्रणमा लिएर सुशासन देखाउन खोज्ने सुरक्षाकर्मीहरुबाटै यस्तो भएको पाइएको हो । जब प्रहरीले नै भारतबाट खाद्यान्न ल्याउँछ र भन्सार छल्छ भने सर्वसाधारणले भारतबाट सामान ल्याउँदा किन नियन्त्रणमा लिने, जनताले प्रश्न गरेका छन् ।






