
मधेशदृष्टि
बारा ।
जीतपुर सिमरा उपमहानगरपालिकामा बजेट कार्यान्वयनसम्बन्धी विषयलाई लिएर मेयर र उपमेयरबीच विवाद चुलिँदै गएको छ । उपमेयर भोला प्रसाद अधिकारीले बजेट कार्यान्वयन नगर्न पत्र लेखेपछि त्यसको जवाफमा मेयर राजन पौडेलले पनि अर्को पत्र लेखेर सचेत गराएपछि दुईबीचको विवाद सतहमा आएको हो ।
मेयर पौडेलले उपमेयर अधिकारीका नाममा पत्र लेख्दै सचेतसमेत गराएका छन् । बजेट कार्यान्वयनबारे उपमेयरलाई पत्र लेख्ने कुनै कानुनी अधिकार नभएको भन्दै मेयर पौडेलले उपमेयर अधिकारीलाई पत्र लेख्दै सचेत गराएका छन् । सचेत पत्रमा मेयर पौडेलले लेखेका छन्, ‘तपाईंले प्रमुख प्रशासकीय अधिकृतलाई साउन ११ गते लेखेको पत्र प्राप्त भयो, तपाईंले पठाउनु भएको पत्रमा उल्लेखित विषयसँग कुनै पनि कानूनले तपाईंलाई त्यसरी लेख्ने अधिकार दिएको छैन, त्यसकारण कानूनले अधिकार नदिएको तथा कुनै प्रत्यायोजित अधिकारसमेत नरहेको अवस्थामा गैरकानूनी र अनधिकृत पत्राचार नगर्न सचेत गर्दछु ।’
पत्रमा मेयर पौडेलले उपमेयरले लेखेको पत्र संविधान र स्थानीय सरकार सञ्चालन ऐनविपरीत रहेको बताउँदै स्थानीय सरकार सञ्चालन ऐन, २०७४, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावली २०७७, सार्वजनिक खरिद ऐन २०६३ र नियमावली २०६४ तथा जितपुर सिमरा उपमहानगरको कार्यसम्पादन नियमावली २०७५ साथै अन्य कानूनहरुविरुद्ध रहेको जानकारी गराएका छन् । मेयर पौडेलले आइन्दा अधिकार भन्दा बाहिर गएर कार्यालयको लेटरप्याड, छाप तथा पदको दुरुपयोग गरे कानूनी कारबाही अगाडि बढाउने चेतावनीसमेत सचेत पत्रमार्फत उपमेयर अधिकारीलाई दिएका छन् ।
जीतपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारीले साउन ११ गते उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई बजेट कार्यान्वयन नगर्न पत्र लेखेका थिए । पत्रमा उपमहानगरपालिकाको बजेट पारित सम्बन्धमा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उपमेयर अधिकारीले प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेखेका थिए ।






