
एसपी गौरब
सर्लाही ।
सर्लाहीका सामुदायिक तथा साझेदारी वन समूहहरुको वन क्षेत्रमा वनका कर्मचारीसहित सशस्त्र प्रहरीको टोलीले संयुक्त गस्ती सुरु गरेको छ । सर्लाहीमा रहेका छ वटा सव डिभिजन वन कार्यालयहरु मध्य सामुदायिक तथा साझेदारी वन समूहहरु रहेका पाँच वटा सव डिभिजन वन कार्यालयहरु मातहत रहेका सामुदायिक तथा साझेदारी वन समूहहरुका वन क्षेत्रमा हुने वनजन्य पदार्थहरुका साथै वन्यजन्तुहरुको चोरी तस्करी तथा सिकारी नियन्त्रण गर्न भन्दै संयुक्त गस्ती सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए । उनका अनुसार चुरे क्षेत्र आसपासका सामुदायिक वन समूहहरुका साथै तीन वटै साझेदारी वन क्षेत्रमा वन कार्यालयका कर्मचारीसहित सशस्त्र प्रहरीको टोलीले गस्ती सुरु गरेको हो ।
पहिलाको तुलनामा अहिले सामुदायिक तथा साझेदारी वन समूहहरुको वन क्षेत्रमा चोरी तस्करी निकै कम भएको र सामुदायिक वन उपभोक्ता समूहहरु पनि सक्रिय रहेका सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत सुभाष साहले बताए । वनजन्य पदार्थहरुका साथै वन्यजन्तुहरुको चोरी तस्करी तथा सिकारी पूर्ण रुपमा बन्द गर्न आफूहरु रात दिन लागि रहेको र साथमा सशस्त्र प्रहरीको टोली पनि थपिएपछि झन सक्रियताका साथ वन गस्ती गर्न सुरु गरिएको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख एवम सहायक वन अधिकृत साहले बताए ।
डिभिजन वन कार्यालय सर्लाहीमा प्रमुख भएर डिभिजन वन अधिकृत मन्जुर अहमद् आएपछि वनजन्य पदार्थहरुका साथै वन्यजन्तुको चोरी तस्करीका घटनाहरुमा कमि आएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । डिभिजन वन अधिकृत अहमद्को सर्लाही आगमनसंगै जिल्लामा लामो समयदेखि निस्क्रिय रहेका सामुदायिक तथा साझेदारी वन समूहहरु पनि सक्रिय हुन थालेका छन् । जिल्लाका रहेका ८३ वटा सामुदायिक वन उपभोक्ता समूहहरु मध्य करिब ६० वटा सामुदायिक वन समूहहरुले वार्षिक कार्ययोजना बनाउने, लेखापरीक्षण गर्ने र साधारण सभा गर्ने काम गरि सकेका डिभिजन वन कार्यालय सर्लाहीका सूचना अधिकारी राकेश रन्जन दासले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका तीन वटा साझोदारी वन व्यावस्थापन समूहहरु मध्य दुई वटाको नयाँ समितिसमेत चयन भइसकेको छ भने एउटाको नयाँ समिति केही दिनमै चयन हुने छ ।
जानकी नगर साझेदारी वन व्यावस्थापन समूह र लालबन्दी साझेदारी वन व्यावस्थापन समूहको नयाँ कार्यसमिति चयन भइसकेको र फुलजोर बाबा साझेदारी वन व्यावस्थापन समूह अन्र्तगत रहेको एउटा वडाबाट प्रतिनिधि चयन भएर आउन बाँकी रहेका कारण नयाँ कार्यसमिति चयन हुन बाँकी रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । त्यसैगरी, बाँकी रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको पनि धमाधम वार्षिक कार्ययोजना निर्माण भई रहेको छ भने वार्षिक लेखापरीक्षण र साधारण सभा गर्ने तयारी पनि गरि रहेका डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । साथै जिल्लामा रहेका ९१ वटै निजी वन व्यवस्थापनको काम भइरहेको वन कार्यालय सर्लाहीले जनाएको छ ।






