
मधेशदृष्टि
काठमाडौँ ।
बुधबार बिहान ११ बजेर ११ मिनेटमा भएको सौर्य एयरलाइन्सको नाइन एन ए एम इ कलसाइनको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । पोखराका लागि उडेको विमान त्रिभुवन विमानस्थलको धावनमार्गबाट उडेलगत्तै नजिकै दुर्घटना हुँदा क्याप्टेनबाहेक सवार १८ जनाको मृत्यु भएको छ ।
सिंहदरबारमा बुधबारै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगका सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव छन् । आयोगलाई विमानको सत्यतथ्य जाँचबुझ गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
एकै परिवारका तीन जनाको मृत्यु
बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो । सौर्य एयरलाइन्सले उनीहरुलाई आफ्नो कम्पनीको बताएको छ । यद्यपि मनुराज सौर्यका प्राविधिक भएको बताइएको छ । उनका पत्नी प्रिजा र छोरा अधिरा पनि विमान दुर्घटनाको सिकार भएका हुन् ।
प्रिजाका बुबाआमा सप्तरीका पत्रकार तथा नेकपा एसका केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडा र नेकपा एसकै महिला संगठनकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेले हुन् । प्रकाशले ज्वाइँ मनुराज प्राविधिक भएको बताए ।
सौर्य एयरलाइन्सले भने उनीहरु सबै कर्मचारी भएको आफ्नो विवरणमा उल्लेख गरे पनि प्रिजा भने ऊर्जा मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर हुन् । अधिराज नाबालक हुन् । विमान पोखरा जाने भएपछि मनुराजले पत्नी प्रिजा र छोरा अधिराजलाई पनि लिएर गएको खुलेको छ । बुधबार जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनाग्रस्त भएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले उल्लेख गरेको छ ।
झण्डा आधा झुकाइने
सरकारले विमान दुर्घटनामा मृत्यु भएकाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार सिआरजे ७ (रजिस्ट्रेसन–९ एन ए एम इ) जहाज बिहान ११ बजेर ११ मिनेट जाँदा काठमाडौँ विमानस्थलबाट पोखराका लागि उडेको थियो । दुर्घटनापछि जहाजमा आगो लागेको र १८ जना यात्रुको मृत्यु भएको प्राधिकरणले जनाएको छ । यस्तै पाइलट मनिषरत्न शाक्य घाइते रहेको र उनलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको थियो ।
शव पोस्टमार्टममा २५ डाक्टर
विमान दुर्घटनाका मृतकहरूको पोस्टमार्टम कार्य शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि १८ शव लगिएको छ । पोस्टमार्टम प्रक्रिया बुधबार नै शुरु भएको अस्पतालका फोरेन्सिक विभाग प्रमुख डा. गोपाल प्रसाद चौधरीले बताए । उनका अनुसार, एउटा शवको पोस्टमार्टम सकिन कम्तीमा ४ घन्टा समय लाग्दछ । उनले शव धेरै जलेकाले चाँडै पोस्टमार्ट सकेर कस्मेटिक सर्जरी गरेर आफन्तलाई बुझाइनेछ । पोस्टमार्टमका लागि शिक्षण अस्पतालका २५ चिकित्सक खटिएका छन् । शव पहिचान हुन नसके डिएनए गरिनेछ । डिएनए प्रक्रियामा जान परे रिपोर्ट आउन कम्तीमा दुई हप्ता लाग्न सक्ने बताइएको छ । शुक्रबारसम्ममा शव परिवारलाई जिम्मा लगाइने तयारी छ ।
क्याप्टेनको मेरुदण्डको शल्यक्रिया
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका एक मात्र पात्र पाइलट मनिषरत्न शाक्यको मेरुदण्डको शल्यक्रिया गर्नु पर्ने भएको छ । विमानमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ । पाइलट शाक्य भने बाँच्न सफल भएका छन् । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) को आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको शरीरका विभिन्न ठाउँमा घाउचोट छ तर जलन भने छैन । शाक्यको आइसियूमा उपचार भइरहेको छ । उनी बोल्न सक्ने अवस्थामै छन् ।
के हो सि–चेक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा परेको सौर्य एयरलाइन्सको सि आर जे ७०० ९ एन–एएमइ जहाज ‘कम्प्लिट चेक’ (सि–चेक) का लागि पोखरा जाँदै थियो । बोलीचालीको भाषामा सि–चेक भनेको पूर्ण परीक्षण तथा मर्मत भनेर बुझिन्छ । विमान निर्माता कम्पनीले आफ्ना विमान कुन मुलुकमा कुन अवस्थामा उडिरहेका छन्, त्यसको दुरुस्त विवरण राखेर नियमित फलोअप गर्दछन् । तोकिएको परीक्षण नियमित हुने गरे–नगरेकोबारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहने भएकाले विमानको अवधि सकिएपछि उडान बन्द गरेर राखिन्छ तर परीक्षणविना उडाउन पाइन्न ।
सामान्यतया हरेक ५ हजार घण्टा उडानपछि वा एकदेखि डेढ वर्ष अवधिमा सि–चेक गरिन्छ । यो आम मानिसले बुझ्ने भाषामा भन्दा स्वस्थ मानिसले कुनै निश्चित समयमा गर्ने ‘होल बडी चेकअप’ जस्तै हो । सि–चेकमा जहाजको बाहिरी भाग, इन्धन, तरल पदार्थको स्तर, टायर, ब्रेक, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इञ्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणाली समेतको परीक्षण र बिग्रिएको पाइए मर्मत गरिन्छ । सि–चेक गर्न चार हप्तासम्म लाग्न सक्छ । नेपालबाट जहाज सि–चेकका लागि सिंगापुर, इजरायलसमेत लैजाने चलन छ ।
ए–चेकः नियमित निरीक्षण (हरेक ४ सयदेखि ६ सय घण्टा उडान वा २ सयदेखि ३ सय उडानपछि)
बि–चेकः विस्तृत परीक्षण (हरेक ६ देखि ८ महिनामा गरिने विस्तृत परीक्षण)
सि–चेकः पूर्ण परीक्षण (एकदेखि डेढवर्ष वा ५ हजार घण्टाभन्दा माथि उडिसकेपछि गरिने परीक्षण)
को को थिए विमानमा ?
१. क्याप्टेनः मनिषरत्न शाक्य (घाइते उपचाररत)
२. कोपाइलटः संजित कटुवाल (मृत्यु)
३. अमिलत मान महर्जन (मृत्यु)
४. सागर आचार्य (मृत्यु)
५. दिलिप वर्मा (मृत्यु)
६. मनु राज शर्मा (मृत्यु)
७. अश्विन निरौला (मृत्यु)
८. सुदीपलाल जोशी (मृत्यु)
९. सुरेश मरासिनी (मृत्यु)
१०. श्याम विन्दुुकार (मृत्यु)
११. नवराज आले (मृत्यु)
१२. राजाराम आचार्य (मृत्यु)
१३. प्रिजा खतिवडा (मृत्यु)
१४. अधिराज शर्मा (मृत्यु)
१५. उद्धव पुरी (मृत्यु)
१६. यज्ञ प्रसाद पौड्याल (मृत्यु)
१७. सन्तोष महतो (मृत्यु)
१८. पुण्यरत्न शाही (सौर्य एयरलाइन्स)
१९. अरिफ रेडा (सौर्य एयरलाइन्स)
७९ औँ विमान दुर्घटना
बुधबार दुर्घटनामा परेको सौर्य एयरलायन्सको विमान क्यानेडियन कम्पनी बम्बार्डियरको सिआरजे २०० जहाज हो । र, यो नेपालमा पहिलोपटक ठूलो दुर्घटनामा परेको हो । बम्बार्डियरले सन १९९५ देखि नै विमान उत्पादन गरे पनि यस्तो जहाज चैँ सन् २००३ मा उत्पादन शुरु गरेको हो र यसमा २ वटा जेट इञ्जिन हुन्छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले वैशाख १४ गते १ वर्षका लागि जहाज उडान अनुमति दिएको विमानले अहिलेसम्म २८ हजार ७ सय ८५ घण्टा ५७ मिनेट उडान भरिसकेको थियो । नेपालमा बम्बार्डियरको जहाजबाट सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले सेवा दिइरहेका छन् । विमान मर्मतका लागि पोखरा उडान गर्नेक्रममा दुर्घटनामा परेको क्यानेडियन कम्पनीले उत्पादन गरेको यस्तो जहाज विश्वभर यसअघि ७८ वटा दुर्घटनामा परिसकेका छन् । यो ७९ औँ दुर्घटना हो ।
३६ हवाई दुर्घटनामा ६ सय ३६ को मृत्यु
नेपाली हवाई उडान इतिहासमा साना ठूला ६० भन्दा बढी दुर्घटना भइसकेका छन् । तीमध्ये पछिलो १८ वर्षमा भएका ३६ दुर्घटनामा ६ सय ३६ जनाले ज्यान गुमाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् १९६० पछि नेपाली आकाशमा ६० भन्दा बढी विमान दुर्घटना भइसकेको छ । यसअघि १८ महिना पहिला पोखरामा यती एयरलाइन्स दुर्घटनामा पर्दा ७२ जनाको ज्यान गएको थियो ।
विमान दुर्घटनाका इतिहासः
जुलाइ २४, २०२४ः सौर्य एयरलाइन्स, काठमाडौँमा दुर्घटना, १८ को मृत्यु, एक घाइते
जनवरी १५, २०२३ः यती एयरलाइन्स, पोखरामा दुर्घटना, ७२ को मृत्यु
मे २०२२ः तारा एयर, जोमसोम उडेको, २२ को मृत्यु
अप्रिल २०१९ः समिट एयर, लुक्ला विमानस्थल, ३ को मृत्यु
फेब्रुअरी २०१९ः एयर डाइनेस्टी, ताप्लेजुङ, ७ को मृत्यु
सेप्टेम्बर २०१८ः अल्टिट्यूड एयर, धादिङ र नुवाकोटको सीमा, एक जापानीसहित ६ को मृत्यु
मार्च २०१८ः युएस–बंगला एयरलाइन्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ५१ को मृत्यु
फेब्रुअरी २०१६ः तारा एअर, जोमसोम उडेको, २३ जनाको मृत्यु
मे २०१५ः अमेरिकी सेनाको हेलिकोप्टर, चरिकोट, १३ को मृत्यु
जून २०१५ः डक्टर्स विदाउट बोर्डर्स, चार्टर हेलिकप्टर, सिन्धुपाल्चोक, ४ को मृत्यु
मार्च २०१५ः टर्किस एयर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ४ दिन विमानस्थल बन्द
फेब्रुअरी २०१४ः नेपाल वायुसेवा निगम, अर्घाखाँची, १८ को मृत्यु
सेप्टेम्बर २०१२ः सीता एअर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै, १९ को मृत्यु
मे २०१२ः अग्नि एयर, जोमसोम विमानस्थलनजिकै, १९ को मृत्यु
सेप्टेम्बर २०११ः बुद्ध एअर, माउन्टेन फ्लाइट, काठमाडौँ नजिकै कोत डाँडा, १४ को मृत्यु
डिसेम्बर २०१०ः काठमाडौँ उडेको विमान ओखलढुङ्गामा दुर्घटना, २२ को मृत्यु
अगस्ट २०१०ः काठमाडौँबाट लुक्ला उडेको विमान दुर्घटना, १४ को मृत्यु
अक्टोबर २००८ः लुक्ला विमानस्थलमा अवतरण गर्दै गर्दा दुर्घटना, १८ को मृत्यु, एक घाइते
सेप्टेम्बर २००६ः श्री एयर, संखुवासभाको घुन्सा, २४ को मृत्यु,
मल्टिइञ्जिन विमानः १५ वटा
हेलिकप्टरः १२ वटा
सिंगल इन्जिन विमानः४ वटा
मनोरञ्जन प्रयोजनका हलुका विमानः ३ वटा
विदेशी विमानः २ वटा






