
मधेशदृष्टि
जनकपुरधाम ।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइइको पूरक (गे्रड वृद्धि) परीक्षालाई मर्यादित बनाइने बताएकी छिन् । सोमबार जनकपुरधाममा आयोजित सञ्चारकर्मीहरुसितको छलफलमा मन्त्री तिवारीले परीक्षा मर्यादित बनाउन सहयोगका लागि अभिभावकहरुमा समेत आग्रह गरिन् ।
‘परीक्षामा चिट चोरीले विद्यार्थीको भविष्य खराब भइरहेको छ,’ उनले भनिन्, ‘कुनै अभिभावकले आफ्नो सन्तानको भविष्य खराब गर्न चाँहदैनन् । त्यसैले परीक्षा मर्यादित बनाउन अभिभावकले पनि सहयोग गर्नुपर्छ ।’
साउन २३ गतेदेखि मधेशसहित सातै प्रदेशमा एसइइको गे्रडवृद्धि परीक्षा शुरु हुँदै छ । साउन ३१ गतेसम्म सञ्चालन हुने ग्रेडवृद्धि परीक्षा गराउने जिम्मा संघीय सरकारले प्रदेश सरकारलाई दिएको छ । शिक्षा क्षेत्रमा सुधार ल्याउन गर्नुपर्ने कार्यबारे सञ्चारकर्मीहरुको सुझाव लिने क्रममा मन्त्री तिवारीले शिक्षा क्षेत्रमा बेथिति रहेको स्वीकार गरिन् । शिक्षाक्षेत्रमा सुधारका लागि संघीय र स्थानीय सरकारसित समन्वय गरेर अघि बढ्न तयार रहेको बताउँदै उनले संघीय सरकारले शिक्षा ऐन नल्याउँदा समस्या समाधान हुन नसकेको बताइन् । शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोको अध्यक्षतामा कार्यक्रम भएको हो ।






