रौतहटमा गुणस्तरहीन भारतीय मिठाई विक्री

[mashshare]

सञ्जय मिश्रा
रौतहट ।
तराई मधेशमा मिठाई भनेपछि जुन प्रयोजनमा पनि प्रयोग हुने गर्दछ, कुनै सफलता प्राप्त गर्दा होस् वा कुनै खुसीयाली मनाउन मिठाई ख्वाउने चलन छ । पूजा, विवाह, ब्रतबन्धमा भोजनपछि मिठाई खुवाइन्छ । कुनै आफन्तको घरमा जाँदा कोसेली स्वरूप मिठाई लिएर जाने चलन छ । विगतमा सानो परिमाणमा मिठाइको आवश्यकता हुँदा स्थानीय होटलबाट खरिद गर्ने, ठूलो परिमाणमा आवश्यक पर्दा मिस्त्रीलाई बोलाई घरमै बनाउने चलन रहेको थियो भने सस्तोमा भारतीय ब्राण्डेड कम्पनीले बनाउने डब्बाको मिठाई ल्याउने चलन थियो । मिठाई (रसभरी, बालुशाही, लालमोहन) बनाउन मुख्य रूपमा दूधको आवश्यकता हुन्छ ।

शुद्ध गाई भैंसीको दूध चिनी प्रयोग गरेर बनाईने मिठाई कम्तीमा प्रतिकिलो ३५० देखि ४०० रुपैया पर्ने कटहरिया बजारका एकजना पुरानो मिठाई पसले सन्तोष कुशवाहाले बताए । मिठाईमा दूध र चिनीको प्रयोग गरेर बनाएमा त्यसभन्दा कम परिणाममा बनाउनै नसकिने कुशवाहाको दाबी छ । कुशवाहासँगै अर्का मिठाई पसले अनिल मिष्टान भण्डार कटहरियाका सञ्चालक अनिल साहले जसरी बनाए पनि दूध र चिनी प्रयोग गरिएको मिठाई ३५० भन्दा बढी प्रतिकिलो पर्ने स्पष्ट पारेका छन् । अहिले जिल्ला सदरमुकाम गौरदेखि गरुडा, चन्द्रनिगाहपुर, कटहरिया लगायतका बजारका होटल तथा मिठाई पसलहरुमा रसभरी, लालमोहन, बालुशाही खुद्रामा प्रतिकिलो ५०० देखि ७०० रुपैयामा बिक्रि हुनेगरेको उपभोक्ताहरुले बताएका छन् ।

तर भारतीयहरुले भारतबाट ल्याएको मिठाई बालुशाहि प्रतिकिलो मात्र २०० रुपैयामा खुद्रा बिक्री गरिरहेको पाइएको छ । हाल गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियादेखि ग्रामीण बजारहरुमा प्रत्येक दिन बिहानैदेखि भारतीय नागरिकहरूले साईकल मोटरसाईकलमा ल्याएर मिठाई बिक्री गरिरहेको देख्न सकिन्छ । कटहरिया बजारमा मिठाई बिक्रीगरी बसेका भारत बिहार सितामढीका छोटेलाल महतोले आफूहरुले उतैबाट किनेर ल्याएर यता बेच्ने गरेको बताउँछन् । उनले भारतीय सहर सीतामढी छेउ भूतही गाउँबाट थोक मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँमा खरीद गरेर ल्याउने र २ सय रुपैयाँ प्रतिकिलो बालुशाही बिक्री गर्नेगरेको बताउँछन् । सीतामढी क्षेत्रका झण्डै ५० जना भन्दा साना व्यापारीको दैनिकी मिठाई बेच्ने रहेको छ । भारतीय गाउँ भुतहीमा घर घरै मिठाई बनाइन्छ । त्यहीँबाट साईकल, मोटरसाइकलमा ल्याएर रौतहट, बारा, सर्लाही लगायत जिल्लाको बजार बजारमा घुमाएर बिक्रि गरिन्छ ।

भुतही गाउँबाट साना नाका हुँदै भित्र्याएको मिठाई जिल्लाको बजारहरुमा कोठा लिएर स्टक गरिन्छ पछि सुबिधा अनुसार बिक्रि गरिने भारतीय नागरिक महतोले जानकारी दिए । कटहरिया–५ का समाजसेवी दीनानाथ साह कलवारका अनुसार भारतको भुतहीबाट ल्याईने मिठाई बालुशाहीमा चिउराको धूलो र चिनीको सट्टा गुलियो बनाउने केमिकल सेक्रीन प्रयोग गरिन्छ । अत्यन्तै गुणस्तरहीन मिठाई सोझा नेपालीहरुले सस्तो पाउने भएकाले किन्ने गरेको कलवार बताउँछन् । हजारौं नेपाली नागरिकको स्वास्थसँग प्रत्यक्ष जोडिएको मिठाईको गुणस्तरबारे जाँचबुझ गर्न जरुरी छ । तर त्यसबारे कसैले चासो नलिएका कारण तराई मधेशका हजारौं मानिस दैनिक गुणस्तरहीन मिठाईको प्रयोग गरिरहेका छन् ।

भारतबाट एकपटक भित्र्याएको मिठाई बाटो छेउ, खुला ठाउँमा फोहर नाला सँगै झिँगा लाग्ने स्थानमा राखेर एकहप्तासम्म बिक्रि गर्छन् तर स्थानीय निकायदेखि स्थानीय प्रशासन, गुणस्तर विभाग सबै मुकदर्शक बनेका छन् । तथापी नेपाली नागरिकको स्वास्थको रक्षाको निमित अवैध आयातित मिठाईको गुणस्तर जाँच गर्न तथा बिक्रि बितरणमाथि रोक लगाउन नियमनकारी निकायको ध्यानजानु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button