विचलित नभई लक्ष्यमा पुग्न अग्रज गुरूहरुको सुझाव

[mashshare]

मधेशदृष्टि
वीरगंज ।

वीरगंज मेघा कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाइ कार्यक्रम गरेको छ । टाउन हल पार्टी प्यालेसमै भव्य कार्यक्रम गरेर कलेजले आफ्ना विद्यार्थीलाई बिदाइ गरेको हो ।

मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्यले विद्यार्थीलाई आगामी दिनमा सोचिविचारी गन्तव्य तय गर्न सुझाव दिए । कक्षा १२ पछि के पढ्ने, कहाँ पढ्न जानेलगायतका कयौँ विषय दिमागमा घुमिरहे पनि यसलाई स्वाभाविक मानेर आफ्नो लक्ष्यअनुसारको पढाइमा ध्यान दिन उनले उत्प्रेरित गरे ।

‘कक्षा १२ को परीक्षा दिनुभएको छ, मोजमस्ती गर्ने उमेर र समय हो भन्ने पनि लाग्न सक्छ, तर जीवनको महत्वपूर्ण निर्णय लिने घडी हो, अहिले लिइने हरेक निर्णय नै जीवनको सही या गलत निर्णय सावित हुने भएकाले बाँकी जीवन र भविष्यलाई हेरेर निर्णय लिनुपर्छ,’ उनले भने, ‘अहिलेको सानो त्रुटिले भविष्य अन्धकार नबनोस्, आफैँले र अभिभावकले निर्णय गर्न कठिन भए विज्ञ र अग्रजसँग पनि सुझाव लिनु उचित हुनेछ ।’

वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल (पटवारी)ले वीरगंज मेघा कलेजले सानो समयमा गरेको प्रगतिका लागि शुभकामना दिए । उनले पढाइका लागि मेघा कलेज छानेकोमा विद्यार्थीलाई धन्यवाद दिए । पटवारीले देशको आर्थिक अवस्था उकास्ने किसिमको काममा लाग्न विद्यार्थीलाई सुझाव दिए ।

ज्ञानदा एकेडमीका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् डा. राजेन्द्रप्रसाद कोइरालाले विद्यार्थीलाई उद्यमी बन्न सुझाव दिए ।

कलेजका अध्यक्ष एवम् कार्यक्रमका अध्यक्ष शम्भु गुप्ताले विद्यार्थीहरुलाई लक्ष्यमा विचलित नहुन आग्रह गरे ।

कलेजका प्रबन्ध निर्देशक विश्वास प्रताप साहले बिदाई कार्यक्रम अन्तिम भेटघाटका रुपमा नलिन सुझाव दिए ।

कार्यक्रममा श्रीपुर विद्यापीठका प्रधानाध्यापक अनिल बरनवाल, माउन्ट हर्मन स्कुलका प्रधानाध्यापक सन्तोष प्रसाद साह, एनप्याब्सन वीरगंजका अध्यक्ष एवम् सगरमाथा स्कुलका प्रधानाध्यापक जियालाल गुप्ता, ठाकुरराम कलेजका प्रधाध्यापक सञ्जय पटेल, न्यू पपुलर इंग्लिस ल्याङ्ग्वेज इन्स्टिच्युटका रञ्‍जित पटेल, सञ्चारकर्मी आशुकुमार सर्राफलगायतको उपस्थिति थियो ।

वीरगंजको ब्रह्मचोकस्थित कलेजमा कानुन र व्यवस्थापन सङ्कायको अध्यापन गराइन्छ । पर्सा, बारा, रौतहटलगायत मधेश प्रदेशका अन्य जिल्लाबाट पढ्न वीरगंज आउने विद्यार्थीको रोजाइको कलेजमा यो कलेज पर्दछ । कलेजले स्नातक तहसम्मको अध्यापन गराउने तयारी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button