
जेल जीवन बिताइरहेका बेला सन्त भ्यालेन्टाइन जेलरकी दृष्टिविहिन छोरीको प्रेममा परेका थिए । मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा प्रेम पत्र लेखे । त्यसको मुनी ‘फ्रम योर भ्यालेन्टाइन’ लेखेर उनले प्रेमपूर्वक फूल उपहार पठाए । ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिविहिन छोरीलाई दिनु’ मृत्युअघि भ्यालेन्टाइनले जेलेरलाई भने ।

अंग्रेजी महिना फेब्रुअरी ७ अर्थात ‘रोज डे’बाट सुरु भएको प्रणय सप्ताहको आज (फेब्रुअरी १० अर्थात टेडी डे) चौथो दिन । रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे हुँदै बल्ल सातदिन पछि आठौँ दिन अर्थात भ्यालेन्टाइन डेमा प्रणय सप्ताह सकिन्छ । वर्षको सबैभन्दा छोटो (२९ दिनको) फेब्रुअरी महिनालाई प्रेमको उत्सवका रुपमा हेर्नेहरु पनि छन् । प्रेम सप्ताह प्रेम जोडीका लागि माया, प्रेम, रोमान्स, सम्मान र हार्दिकता साटसाट गर्ने विशेष समय पनि हो । प्रेम सप्ताहलाई यादगार बनाउन आफ्ना प्रियजनका लागि विभिन्न उपहार दिने गर्छन् ।
पछिल्लो समय विशेगरी नयाँ पुस्तामा खुब चर्चा हुने प्रणय सप्ताहलाई आआफ्नै तरिकाले मनाइरहेका हुन्छन् । साताव्यापी रुपमा मनाइदै आएको प्रणय दिवसलाई लिएर विभिन्न व्यक्तिहरुले टिकाटिप्पणी र आलोचना पनि गर्दै आइरहेका छन् । नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान पुर्याउनुपर्ने नयाँ पुस्तामा आयतित र पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएकोमा आलोचकहरुले चिन्ता व्यक्त गर्ने गरेका छन् ।
तर, प्रेमको कुनै सीमा र भूगोल हुँदैन भन्ने तर्क प्रेमका पक्षपातीहरुले गर्ने गरेका छन् । प्रणय दिवसका विषयमा हुने आलोचना र विभिन्न टिकाटिप्पणीका बाबजुत प्रेम जोडीले प्रणय सप्ताह मनाउन बिर्सदैनन् । पछिल्लो समय त झन् प्रणय सप्ताहलाई लिएर सामाजिक सञ्जालमा ‘मिम’हरु पनि खुबै बन्ने गरेका छन् । नयाँ पुस्ताको चासो को विषय बनेको प्रणय दिवसले सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा पनि उत्तिकै स्थान पाइरहेको देखिन्छ ।
भ्यालेन्टाइन डे कसरी सुरुवात भयो ?
रोमका एक पादरी सन्त भ्यालेन्टाइनको प्रेम प्रसंग नै भ्यालेन्टाइन डेसँग जोडिएको छ । प्राचिन रोमका एक सम्राट क्लोडियस द्वितीय थिए । पुरुषले विवाह र प्रेम गर्न थाल्यो भने पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ भन्ने मान्यता सम्राट क्लोडियसको थियो । सोही मान्यताका आधारमा सम्राट क्लोडियसले राज्यका कुनै पनि सम्राट र अधिकारीले बिहे गर्न नपाउने घोषणा गरेर प्रेम र विवाहमा प्रतिबन्ध लगाइदिए । तर, सम्राटले लगाएको प्रतिबन्ध पादरी सन्त भ्यालेन्टाइनलाई मन परेन । उनले सम्राटले लगाएको प्रतिबन्धलाई मानवधर्मको नै विरुद्धमा भएको भन्दै विरोध गरे । भ्यालेन्टाइनले प्रेम र विवाहका लागि सबैलाई प्रेरित गरे । थुप्रै सैनिक र अधिकारीको जोडीको विवाह गराइदिए । आदेशको अवज्ञा गरेको भन्दै सम्राट क्लोडियसको आदेशमा भ्यालेन्टाइन पक्राउ परे । उनलाई जेलमा थुनियो र मृत्युदण्डको सजाय सुनाइयो ।
जेल जीवन बिताइरहेका बेला सन्त भ्यालेन्टाइन जेलरकी दृष्टिविहिन छोरीको प्रेममा परेका थिए । मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा प्रेम पत्र लेखे । त्यसको मुनी ‘फ्रम योर भ्यालेन्टाइन’ लेखेर उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि भ्यालेन्टाइनले जेलेरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिविहिन छोरीलाई दिनु ।’ सम्राटले ई.पू.२६९ को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए । भ्यालेन्टाइनको मृत्युदण्डपछि प्रत्येक वर्ष फेब्रुअरी १४ मा भ्यालेन्टाइन डे मनाउन थालियो । भ्यालेन्टाइनले प्रेमका लागि गरेको समर्पणलाई मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरेको किंवदन्ती पाइन्छ । भ्यालेन्टाइन डे सुरुमा प्राचिन रोममा सैनिकहरुका लागि गोप्य विवाह सम्पन्न गर्ने सहिद भ्यालेन्टाइनको सम्मानमा मनाइन्थो ।
भ्यालेन्टाइन डेका बारेमा अरु किवंदन्ती पनि पाइन्छन् । रोमका पादरी भ्यालेन्टाइनको कथा बाहेक भ्यालेन्टाइनबारे अर्को अनुमान पनि गरिएको भेटिन्छ । जुन इटालीस्थित टर्नीका अर्का एक पात्र पनि थिए । उनको मृत्यु पनि रोमका सम्राट क्लोडियस द्वितीयकै हातबाट भएको भनिन्छ । सम्राट क्लोडियसले रोम सहर बाहिर उनको शिर छेदन गरिदिएका थिए ।
त्यसगरी, माथि उल्लेखित दुई पात्रबाहेक तेस्रो पात्र पनि थिए भन्ने किवंदन्ती छ । क्रिस्चियनहरूलाई रोमको जेलबाट भगाउन सहयोग गर्ने सन्त भ्यालेन्टाइनको कथामा आधारित रहेको मानिन्छ । रोममा कैद गरिएका क्रिस्चियनहरूलाई पीडा तथा दुःख धेरै दिएपछि कैदीलाई भगाउने क्रममा उनलाई फाँसी दिएको भनिन्छ ।
तर, भ्यालेन्टाइन डेको पृष्ठभूमीमा विभिन्न किंवदन्ती भए पनि यसको सत्यताको आधिकारिता पुष्टी हुन सकेको छैन । भ्यालेन्टाइन डेको यथार्थता अझै पनि रहस्यको गर्भमै सीमित छ । तर पनि यिनै किवंदन्तीलाई आधार मान्दै भ्यालेन्टाइन डे नयाँ पुस्ता माझ लोकप्रिय बन्दै गएको कुरा लुकेको छैन । किनकी यसका सबै किवंदन्तीहरुले प्रेम, सहानुभूति, वीरता र रोमान्सलाई संकेत गरेका छन् । जसका कारण मध्य युगमा आएर भने बेलायत र फ्रान्समा सेन्ट भ्यालेन्टाइनको कथा प्रख्यात बन्न पुगेको पाइन्छ । पछि १५औँ शताब्दीमा भ्यालेन्टाइन डे विशाल सांस्कृति र प्रेमको उत्सवका रुपमा मनाउन थालियो ।
‘प्रणय सप्ताह’
फेब्रुअरी ७ (रोज डे)
प्रणय सप्ताहको पहिलो दिन अर्थात फेब्रुअरी ७ रोज डे । प्रेमको भावना व्यक्त गर्ने माध्यम बनेको रातो गुलाफलाई प्रेम, जोश र रोमान्सको प्रतिक मानिन्छ । ‘रोज डे’ मा प्रेम जोडीले एक अर्कालाई उपहार स्वरुप गुलाफ दिने गर्छन् । विशेषगरी, रोज डेमा प्रियजनहरुलाई रातो गाढा रंगको गुलाफ उपहार दिने चलन छ ।
फेब्रुअरी ८ (प्रपोज डे)
रोज डेको पछिल्लो दिन अर्थात प्रणय सप्ताहको दोस्रो दिन प्रपोज डे । यो दिनलाई प्रेमको प्रस्ताव राख्ने दिनका रुपमा लिइन्छ । सम्बन्धलाई अर्को चरणमा लैजान आफूले मन पराएको व्यक्तिसँग प्रेमका लागि खुलेर प्रस्ताव राख्ने गरिन्छ । मानिसहरुले आफ्नो भावनालाई व्यक्त गर्न प्रेमपत्रमार्फत अथवा प्रश्न सोधेर प्रस्ताव राख्ने गर्छन् । प्रपोज डे एकअर्काको जीवनसँग बाँधिन प्रेमको अदालतमा निर्णय गर्ने विशेष दिन हो ।
फेब्रुअरी ९ (चकलेट डे)
प्रणय सप्ताहको तेस्रो दिन चकलेट डे । यो दिन सम्बन्धमा मिठास ल्याउन आफ्ना प्रियजनलाई वा प्रेम जोडी एकअर्कालाई चकलेट दिने गर्छन् ।
फेब्रुअरी १० (टेडी डे)
प्रणय सप्ताहको चौथो दिन हो । यो दिनमा प्रेमी÷प्रेमिकाले एकअर्कालाई उसको मनपर्ने रंगको टेडी उपहार दिएर खास महसुस गराएको पाइन्छ । जसले प्रणय सम्बन्ध झन खास र गाढा बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।
फेब्रुअरी ११ (प्रमिस डे)
प्रणय सप्ताहको पाँचौं दिन प्रमिस डे अर्थात वाचा गर्ने दिन । यो दिनमा प्रेम जोडीहरु एकअर्काले जीवनभर साथ दिने वाचा गर्छन् । प्रमिस डेलाई दुई व्यक्तिबीचको सम्बन्धलाई अझ गहिरो बनाउने अवसरको रुपमा पनि लिइन्छ । प्रेम जोडीका लागि प्रमिस डे एकअर्का प्रति वाचा र प्रतिज्ञा गर्ने दिन पनि हो ।
फेब्रुअरी १२ (हग डे)
प्रणय सप्ताहको छटौँ दिन हो हग डे । यो दिन प्रेम जोडीले एकअर्कालाई अंकमाल गरेर प्रेमभाव दर्शाउने गर्छन् । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने गर्दछन् । अंकमाल गर्नाले व्यक्ति चिन्ता मुक्त हुने तथा एक अर्काको पोजेटिभ इनर्जी एक अर्कामा जाने मान्यता रहेको पाइन्छ ।
फेब्रुअरी १३ (किस डे)
प्रणय सप्ताहको सातौँ दिनलाई किस डेका रूपमा परिभाषित गरिएको छ । विभिन्न भावना र करुणालाई व्यक्त गर्ने गरेको चुम्बनले एकअर्कालाई प्रेमाभाष गराएको मानिन्छ ।
फेब्रुअरी १४ (भ्यालेन्टाइन डे)
भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेम सप्ताहको अन्तिम तथा निकै विशेष दिन हो । यो दिन प्रेम जोडीहरुले विशेष रुपमा मनाउने गर्छन् । भ्यालेन्टाइन डेलाई प्रेम गर्नेहरूका लागि सबैभन्दा ठूलो उत्सवको दिन पनि मानिन्छ । कुनै उपहार दिने तथा प्रेम र आत्मियतालाई साटासाट गर्दै एकअर्कासँग समय बिताउने दिनका रुपमा लिइन्छ ।






