राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह

[mashshare]

राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । यस कार्यका लागि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरू आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न पनि उहाँले आह्वान गर्नुभयो ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो । राष्ट्रपति भण्डारीले उक्त प्रतिष्ठानलाई पनि स्वास्थ्य सेवालाई गुणस्तरीय, स्तरोन्नति र दक्ष जनशक्ति उत्पादनका लागि इमान्दारीपूर्वक कार्य क्षेत्रमा क्रियाशील हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

उक्त अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको पुरानो जिल्ला अस्पताल हेटौँडालाई बिरामीको उपचार सेवाभन्दा बाहिर रिफर गर्ने प्रवृत्ति बढेकामा चिन्ता व्यक्त गर्नुहुँदै हेटौँडा अस्पताललाई अब मदन भण्डारी प्रतिष्ठानअन्तर्गत सञ्चालनमा ल्याइएपछि स्वास्थ्य सेवालाई भरपर्दो र तत्कालै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिष्ठानले विभिन्न चरणमा आफ्नो प्रयास जारी राखेको बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले बागमती प्रदेशको राजधानी हेटौँडाको अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा रूपान्तरण गर्नु पर्ने कुरामा जोड दिनुभयो । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, डिन दुर्गकुमारी मिश्र लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहान हेटौँडा आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button