सप्तरीका पत्रकार झाको निधन

[mashshare]

मधेशदृष्टि
राजविराज ।

नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको ५५ वर्षको उमेरमा बुधबार निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित झाको उपचारक्रममा अस्पतालमा निधन भएको परिवारजनले बताए ।

पत्रकारितासँगै साहित्य विधामा सकृय झाको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देव, उपाध्यक्ष अम्बिका दाहाल, सचिव रामनारायण विश्वासको नेतृत्वमा रहेका पत्रकारले महासङ्घको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

यसैगरी, मैथिली साहित्य परिषद्को अध्यक्ष अवधेश झा, उपाध्यक्ष राजकुमार लाल दास, पूर्वअध्यक्ष सतिश दत्तलगायतका मैथिली अभियन्ताले समेत पार्थिव शरीरमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । झाको अन्त्येष्टि बिहीबार सप्तकोसी नदी किनारामा गरिएको छ ।

अन्तिम श्रद्धाञ्जलीमा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव, मैथिली साहित्य परिषद्का सदस्य राजिव झा, मिथिला साप्ताहिक पत्रिकाका सम्पादक जितेन्द्र कुमार झा, महासङ्घका कार्यसमिति सदस्य विद्यानन्द रामलगायतका पत्रकारको उपस्थिति थियो ।

परिषदको पूर्वअध्यक्ष झाको निधनप्रति शोक व्यक्त गर्दै परिषदले १३ दिनसम्म कार्यालयमा शोक पुस्तिका राखेर श्रद्धाञ्जली अर्पण गर्ने परिषदका अध्यक्ष अवधेश झाले बताए । उनले परिषदको पूर्वनिर्धारित मङ्सिरमा हुने स्वर्ण महोत्सव तथा विद्यापति स्मृति पर्व तत्कालको लागि स्थगित गरिएको जानकारी दिए ।

झा विगत साढे तीन दशकदेखि पत्रकारितामा सकृय थिए भने मिथिला साप्ताहिक पत्रिकाको प्रकाशन संस्था मैथिली मिडिया प्रालिका अध्यक्ष थिए । उनकै प्रकाशनमा मैथिली भाषाको सूर्यांश साप्ताहिक पत्रिका राजविराजबाट प्रकाशित भइरहेको छ । झाको पत्नी, एक छोरा र तीन छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button