

कल्कलाउँदो उमेर । अनि लाग्ने मिठै खाउँ, राम्रै लगाउँ । बेलै यस्तो । तथापि अभावैअभावमा गुज्रिरहेकोे हुन्छ औसत जिन्दगी । अनि यही ‘अभाव’को फाइदा उठाउँदै ‘सपनाको महल’ खडा गरिदिएर ‘मान्छे बेच्ने उद्यम’ बन्छ ‘केही मान्छे’लाई । समयले यही सूचना दिइरहेको छ, यद्यपि कैयौँ यस्ता दृश्य हत्पत्ति पत्याउनै सकिन्न । बाहिर पनि आउँदैन । रुपन्देहीबाट भारतीय बजारतर्फ मानव बेचिविखन प्रयोजनले हुने गरेका केही प्रतिनिधि घटना र तथ्यांकहरु यसपटक पस्कन खोजिएको छ ।’

घटना १
मासिक ७० हजार रुपैयाँ तलब र अन्य थप सेवासुविधा पाउने गरी बेलहिया–सुनौली हुँदै भारतको मुम्बइ पुगेकी एउटी चेलीको सत्यकथा परापूर्व कालको ‘सुन्नेलाई सुनको माला’ जस्तो छैन । बरु सुन्नेको पनि आँखाबाट आँशु आउन सक्छ । भन्नै यति कठिन भएको देखिन्छ कि भोग्न कति गाह्रो भयो होला ?
सिन्धुलीकी ३७ वर्षीयाले जब आफू बेचिएको थाहा पाइन् । त्यतिबेला उनी कोठीमा जकडिएर रुनुको विकल्प थिएन । कोठीमा के भोगिएन, पटकपटक बलात्कार, यातना, ताडना अनि फेरि उही पाशविक आततायी व्यवहार । रुँदारुँदा शरीरका आँशु सुके, चैतको सुकेको खोल्सी झैँ भइन्, मुख छ आवाज दब्यो । तैपनि शरीरमाथि झम्टने घटेनन् । निरीह बनेर अँध्यारो कोठीमा चुपचाप सहनुको विकल्प थिए । ढोका खुल्नेबित्तिकै फेरि कोही आएछन् भन्दै मन आत्तिन्थ्यो । आउनेहरु आवरणमा मान्छे नै थिए तर व्यवहार मान्छेजस्तो गर्दैनथे । उनीहरु जबर्जस्ती मनोरञ्जित हुँदै फर्किन्थे । कुनै प्रतिक्रिया जनाउनसक्ने अवस्था नै थिएन, जनाउनुको अर्थ पनि थिएन । रोदन सुन्ने, दया जगाउने कोही थिएनन् । ती पीडादायी क्षण सुन्नेकै मन रुँन्थ्यो भने पक्कै ढुंगा पनि पग्लिन्थ्यो ।
एक्काइसौँ शताब्दीमा पनि मान्छे सामान जसरी बेचिने गरेको घटना हो यो । अरुले होइन, आफ्नै चिनेजानेको साथीले नै मुम्बइमा राम्रो काम लगाइदिने प्रलोभनको दाम्लोमा बाँधिएर उनी घिस्रँदै बेचिन पुगेकी हुन् । वैशाख ७ गते कोठीबाट उद्धार गरेर नेपाल ल्याउँदासम्म उनी यति चाँडै नेपाल फर्किन पाउँछु भनेर कल्पना नगरेकी बताउँथिन् । राम्रो आम्दानी गर्ने सपना बोकेर सिन्धुलीबाट रुपन्देही आएकी उनलाई रुपन्देहीको बेलहिया नाका हुँदै स्कुटीमा राखेर एक व्यक्तिले सीमा पारी पु¥याए । मिर्मिरेको झिसमिसेमै पारी पुगेकी उनी उतैबाट आएको टिकटअनुसार यात्रा गरी मुम्बइ पुगिन् । त्यसपछि मुम्बइमा उनलाई रुपन्देही नै घर बताउने २५÷२६ वर्षीय नेपाली युवतीकहाँ पु¥याइयो । मुम्बइ जस्तो अन्जान ठाउँमा सबै नेपाली दिदीबहिनी देख्दा उनी विछट्टै खुशी पनि भइन् । तर उनलाई काम गर्ने अर्को ठाउँ भन्दै मन्जा गौडा नाम गरेकी भारतीय महिलाले लिएर गइन् । जब मन्जाले काम गर्ने स्थलमा लान्छिन् तब उनी छाँगाबाट खसेजस्तै हुन्छिन् । जहाँ धेरै नेपाली चेली थिए । तर काम भने देहव्यापार गर्नु पर्ने थियो । उनले काम नगर्ने बताइरहँदा जबर्जस्त नशालु पदार्थ खुवाइयो । पछि होसमा आउँदा उनी बलात्कृत भइसकेकी थिइन् । फूलजस्तो उनको सुकुमारी जिन्दगी पिपासुहरुको प्यास बुझाउने दैनिकीमा बदलिइसकेको थियो ।

जिउँदो लाश भएर बाँचिरहेकी उनी प्रतिकारमा उत्रन पनि छाडिन् । किनकी पहाडमा कुहिनो ठोकाउनु जस्तै भयो उनको प्रतिकार, अस्वीकार र विद्रोह । करिब सात महिना भारतको विभिन्न देहव्यापार हुने ठाउँमा उनको बेचविखन भइरह्यो । सैयौँ पुरुष उनको शरीरमा बास्ना पूरा गर्न झुम्मिरहे । ‘ती दिन सम्झिन पनि चाहन्नँ,’ उनी सुस्केरा हालेर भन्छिन्, ‘पीडाको आहालमा डुबेको थिएँ ।’
बेचिएको सात महिना पुग्दा गत वैशाखमा शान्ति पुनःस्थापना केन्द्रको भारतस्थित प्रतिनिधिले सूचना पाएपछि उनलाई दिल्लीस्थित नेपाली दूतावासको सहयोग र देहरादुनस्थित हेल्पक्रस ट्रस्ट संस्थाको सहयोगमा मुम्बइबाट उद्धार गरी स्वदेश फिर्ता गराइएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उनले यो कुकर्मको घाटमा पु¥याउनेहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसारको घटना दर्ता गराएकी छन् भने उनी संस्थाको संरक्षणमा बसेर पीडा भुल्न प्रयास गर्दैछिन् । बाँकी जिन्दगी के गर्ने भनेर सोच्दैछिन् ।
घटना २
साउन २५ गते बिहीबार दिउँसो २ बजे बेलहिया नाकामा एक दम्पत्ती भारत जान आइपुग्छन् । नाकामा निगरानी गर्न बसेका आफन्त नेपाल रुपन्देहीका प्रतिनिधिले परामर्शका लागि नजिकै रहेको चेकपोष्ट पुर्याउँछन् ।
सोधपुछ सुरु हुन्छ, पहिला श्रीमतीलाई सोधिन्छ पछि श्रीमानलाई । दुवैको मोबाइल चेक हुन्छ । र, मोबाइलको फेसबुक म्यासेन्जरमा एउटा यस्तो तथ्य फेला पर्छ, जसले शंका उत्पन्न हुन्छ ।
मोबाइलको फेसबुक म्यासेन्जरमा एउटा अडियो क्लिपमा एक व्यक्तिले सँगै सीमा पार नगर्न र पालैपालो गरेर सीमा पार गर्न सुझाव दिएको सुनिन्छ । सीमामा बसेका परामर्शदाता झस्कन्छन् अनि शंकाको सुई मानव बेचविखनको प्रयोजनका लागि भारत जान लागेको त होइन भन्नेमा मोडिन्छ । दम्पतीलाइ इलाका प्रहरी कार्यालय बेलहिया पुर्याइ अनुसन्धान भइरहेको छ ।

घटना ३
शनिबार बिहानै भारतबाट तीन बालिका र चार बालकलाई उद्धार गरी ल्याइएको छ । नेपाल आएकामा ९ वर्षदेखि १७ वर्षसम्मका छन् । उद्धार गरिएका बालबालिका रौतहट, पर्सादेखि दार्चुला, अर्घाखाँची लगायतका जिल्लाका हुन् । केआइन भारतका संयोजक नवीन जोशीले ती बालबालिका भारतबाट उद्धार गरेर ल्याइएको बताए । भारतको पञ्जाबबाट एकजना र उत्तराखण्डबाट एकजना बालक उद्धार गरिएको हो भने अन्य बालबालिका भारतको दिल्लीबाट उद्धार गरिएको हो ।
यी तीन घटनाले देखाउँछ कि भारतमा विभिन्न बहानामा नेपाली चेली र बालबालिका बेचिने क्रम बढ्दो छ । नेपाल र भारतको पूर्व मेचीदेखि पश्चिम कालीसम्म सैयौँ हजारौँ ठाउँ खुला बोर्डर छ । यो घटना त बेलहिया नाकाको मात्रै हो । मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको तथ्यांकले मानव बेचविखनको ग्राफ घट्नुको साटो बढ्दै गएको देखाएको छ ।
केआइन रुपन्देहीको आर्थिक वर्ष २०७९÷८० तथ्याङ्कअनुसार सूचना तथा परामर्श १० हजार ४ सय ५, सीमाबाट उद्धार तथा अवरोध १ सय ६३, खोजतलास उजुरी संख्या ४४, भेटिएका संख्या ४, पारिवारिक पुनर्मिलन १ सय २९, उद्धारपश्चात तालिम दिइएको ३६, भारतबाट उद्धार गरी ल्याइएको २ छ भने २ वटा मुद्दा दर्ता भएका छन् । यी सबै घटनामा प्रमुख भूमिका भने सामाजिक सञ्जालको रहेको पाइएको छ ।
रुपन्देही छिमेकी मुलुक भारतसँग भौगोलिक रुपले जोडिएको छ । यसको तीन वटा नाका बेलहिया, भगवानपुर र कर्करहवा नाकामार्फत मानव बेचविखन हुने गरेको घटना नौलो होइन । मानव बेचविखन तथा ओसारपसार रोकथामका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पहल गरिरहेका छन् ।
रुपन्देहीमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था केआइन, माइती नेपाल, शान्ति पुनःस्थापना केन्द्र, पिआरसी, थ्री एन्जल, शुभ अवसर, साना हातलगायतका संस्थाले मानव बेचविखनविरुद्ध काम गर्दै आएका छन् । माइती नेपाल रुपन्देहीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा संस्थाले भारत जाँदै गरेका १ सय ९२ जनालाई परामर्श दिएको छ भने भारत पुगेका आठ जनालाई बेलहिया नाकाबाट उद्धार गरी फर्काएको छ ।
त्यस्तै, शुभ अवसर ग्रामका अनुसार, सीमा निगरानीमार्फत सचेतना प्रवाहक १० हजार ९ सय १६ जनालाई परामर्श दिइएको छ । जोखिममा रहेका ६३ जनालाई सीमाबाटै फिर्ता गराइएको छ भने आठ जनालाई कानुनी सहायता दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, आर्थिक वर्ष २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारसम्बन्धी १७ वटा मुद्दा दर्ता भएका थिए । जसमध्ये १५ वटा फस्र्यौट भएका छन् भने २ वटा बाँकी छन् । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ मा ७ मुद्दा दर्ता भएकामध्ये सबै फस्र्यौट भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा मानव बेचविखनका दुई वटा मुद्दा दर्ता भइ फस्र्यौट भइसकेका छन् । आर्थिक वर्ष २०७८/७९ मा मानव बेचविखन तथा ओसारपसारसम्बन्धी ५ वटा मुद्दा दर्ता भइ फस्र्यौट भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ७ वटा मुद्दा दर्ता भएकामध्ये ६ वटा फस्र्यौट भई एउटा बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार, पछिल्लो समय वैदेशिक रोजगारीका नाममा मानव बेचविखन बढिरहेको छ । मानव बेचविखन रोकथाम तथा नियन्त्रण जोखिमको विषय बनेको छ । पछिल्लो समय मानव बेचविखन तथा ओसारपसारलाई बढावा दिन सामाजिक सञ्जालको प्रमुख भूमिका देखिएको छ ।

त्यस्तै, शान्ति पुनःस्थापना केन्द्रका कार्यक्रम संयोजक निशा पन्थीका अनुसार, नचिनेका मानिससँग सहजै सामाजिक सञ्जालमा कुराकानी, आँखा चिम्लिएर विश्वास गर्ने नै मानव बेचविखन तथा ओसारपसारको जोखिममा परेका छन् । सामाजिक सञ्जाल टिकटक, फेसबुक, ह्वाट्स एप, इमो, क्लब हाउस, पब्जीलगायतका माध्ययमबाट देश तथा विदेशका मानिससँग सहजै अन्तरक्रिया र कुराकानी गर्न सकिने भएकाले सामाजिक सञ्जालबाटै विभिन्न बहानामा प्रलोभनको जाल फ्याँकेर लक्ष्यित वर्गलाई सहजै प्रभावमा पार्न सक्ने देखिएको छ ।
अन्तर्राष्ट्रिय बेचविखनसँगै आन्तरिक बेचविखन रोकथाम र नियन्त्रण पनि उस्तै चुनौति बनेको छ । विशेषगरी पहाडी जिल्लाका युवायुवती सहरबजार आउने र विभिन्न अभावका कारण सहजै तस्करको चंगुलमा पुग्ने गरेको शुभ अवसरग्राम नेपालका जिल्ला संयोजक सत्यनारायण यादवले बताए । उनले भने, ‘विभिन्न प्रलोभन देखाइ तस्करले भारत लैजाने गर्छन् तर देखाएका सपना भन्दा वास्तविकता फरक हुने गर्छ ।’
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मानवबेचविखन तथा ओसारपसार नियन्त्रण शाखा प्रमुख मीना पौडेलका अनुसार, खुला सीमा भएकै कारण नेपालमा मानव बेचविखनको समस्या छ । मानव बेचविखन न्युनिकरणका लागि देशव्यापीरुपमा सचेतनामूलक कार्यक्रम आवश्यक छ ।
खुला सीमा नाकासँग जोडिएका जिल्ला मानव बेचविखनको ट्रान्जिट बन्दै गएका छन् । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ का अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्षसम्म कैद र २ लाख रुपैयाँसम्म जरिबाना छ । समय क्रमसँगै प्रविधिको विकास भएर नयाँ योजना तथा नीति निर्माण गरी मानव बेचविखन तथा ओसारपसार नियन्त्रणमा भूमिका निर्वाह गर्नु पर्ने देखिएको छ ।






