चाडपर्वले अर्थतन्त्र चलायमान बनाउँछ (फोटोफिचर)

[mashshare]

रासस
जनकपुरधाम ।

दशैँ, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुने गरेको छ । दशैँ सकिएलगत्तै दिपावली तथा छठपर्वको आगमनले जनकपुरधामसहित देशभरका बजारमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढेको छ । दशैँ सकाएर काममा फर्किने तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको क्रम जारी छ ।

सप्तरीको राजविराजमा बिक्रीका लागि राखिएको हुक्का पाती । दिपावलीका दिन तराई मधेसमा हुक्का पाती खेल्ने परम्परा रहेको छ। तस्बिरः अरूणकुमार यादव

सर्वसाधारणले ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा खर्च गर्नाले अन्र्थतन्त्र चलायमान भइरहेको हुन्छ । आधिकांशले चाडपर्वका बेला अन्य समयमा भन्दा बढी खर्च गर्ने भएकाले पनि अर्थतन्त्र चलायमान छ भन्ने देखाउँछ । ‘वर्षभरि कर्मचारीले थप एक महिनाको तलब पाउँछन् । थप तलब दसैँ खर्चका लागि दिइने पुरानो चलन हो । यो समयमा बजारमा पैसा चलायमान हुने भएकाले चाडपर्वलाई अर्थतन्त्र चलायमान बनाउने एउटा प्रमुख पर्वका रुपमा मान्न सकिन्छ,’ अर्थशास्त्री डा सुरेन्द्र लाभले भने । उनका अनुसार दशैँ तिहारलाई लक्षित गरी नयाँ सवारीसाधन खरिदमा छुट, सस्तो ब्याजदरमा ऋण उपलब्धलगायत हुनाले पनि अर्थतन्त्र चलायमान हुने गरेको हो ।

तिहारका लागि महाेत्तरीकाे सदरमुकाम जलेश्वरमा फूलमाला बेच्दै बालबालिका । तस्बिरः सञ्जीतकुमार मण्डल

‘पहिले पनि दशैँ अर्थतन्त्रलाई चलायमान बनाउने एउटा प्रमुख पर्व थियो । पहिले चाडपर्व विशेषमा मात्र किनमेलका लागि बजार लाग्थ्यो भने हाल पर्याप्त समय निकाल्न नसकेकाले यही अवसरमा लत्ताकपडासहित सामानको किनमेल गर्ने गर्दछन्,’ डा लाभले भने, ‘कतिपयमा यही समयमै खरिद गर्नुपर्छ भन्ने मानसिकता समेत विकसित भएको देखिन्छ ।’

सिरहाको लहानस्थित लक्कीग्यालेक्सी आर्टमा सिमेन्ट प्रयोग गरेर देवी, देवताको कलात्मक मूर्ति बनाउँदै कालीगढ । तस्बिरः लोकेन्द्रप्रसाद यादव

व्यवसायीका अनुसार दशै्ँमा करिब १० अर्ब रुपैयाँ बराबरको लत्तकपडाका साथै अन्य खाद्यान्न, माछा, मासु एवम् पेय पदार्थकोसमेत कारोबार बढ्ने व्यवसायीको भनाइ छ । जनकपुरमा मात्र हरेक वर्ष दशैँमा २५ हजार खसिबोका खपत हुँदै आएको छ । यसरी वर्षमा एक पटक नयाँ लुगा सिलाउने, मासुभात खाने, रमाइलो गर्ने चाड भएकाले पनि खर्च बढ्ने गरेको कतिपय अर्थविद्को भनाइ छ । उनीहरुका अनुसार दशैँ र तिहार जस्ता पर्वले अर्थतन्त्रलाई पुनर्जीवन दिन्छ ।

सप्तरीको राजविराजस्थित काली वोष्णवी मन्दिर परिसरमा निर्माण गरिएको विभिन्न देवीदेवताको मूर्ति । तस्बिर: अरुणकुमार यादव

पछिल्ला वर्षमा बजारमा चहलपहल बढ्ने अर्को कारण दशैँको समयमा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भएको अर्थशास्त्री बताउँछन् । विदेशमा बस्ने नेपालीले यही समयमा बढी रेमिट्यान्स पठाउने गरेका छन् । अन्य महिनाको तुलनामा दशैँमा करिब २५ देखि ३० प्रतिशत बढी रकम रेमिट्यान्स आउने गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख गरिएको छ । राष्ट्र बैंकका अनुसार औषतमा दशैँताका करिब १०–१५ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । यसमा भारतमा काम गर्न गएका नेपालीले दशैँमा घर फर्किंदा लिएर आउने रकम भने जोडिएको छैन ।

तिहारको अवसरमा सप्तरीको राजविराजको काली वोष्णवी मन्दिरको हाता भित्र निर्माण गरिएको बाँसबाट निर्माण गरिएको मन्डप । तस्बिर: अरुणकुमार यादव

दर्शैँदेखि छठ पर्वसम्म बजारमा करिब पाँच अर्ब रुपैयाँको कारोबार हुने गरेकाले पनि यो प्रमुख चाडपर्वको आर्थिक पाटो वास्तवमा नै वृहत रहेको अर्थशास्त्री डा सुरेन्द्र लाभको भनाइ छ । खर्च गर्ने प्रवृत्ति बढ्दै जानुले व्यापारीका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्नेगरी नाफा कमाउने समय भएको उनले बताए ।

दर्शैँ आसपासको समयमा मात्रै अन्य समयको १० महिना बराबर व्यापार हुने गरेको नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले बताए । उनका अनुसार छुट तथा विभिन्न आर्कषक योजनाका कारण पनि यसबेला बजारमा रौनक बढेको हुन्छ । ‘यतिखेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा दशैँको निकै चहलपहल बढेको छ । आजदेखि दिपावली अर्थात लक्ष्मी पूजाले गर्दा बजारमा किनमेल गर्नेको जनकपुरमा भीड लागेको छ,’ उनले भने, । खाद्यान्न, कपडा, कस्मेटिक तथा गरगहना पसलमा मानिसको भीड लागेको छ । जनकपुरका मुख्य बजार शिव चोक, राम चोक, मुरली चोक, जानकी चोक लगायतका ठाउँमा किनमेल गर्ने मानिसको बाक्लो उपस्थिति देखिन्छ । गाउँदेखि सहरसम्म धुमधामका साथ मनाइने यस्ता पर्वमा व्यापारसमेत बढ्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button