नेपालको पहिलो रेल सेवा

[mashshare]

हरिशंकर शर्मा
वीरगंज ।

वि.सं. १९८४ (सन् १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेल्वे नेपालको पहिलो रेल सेवा हो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगंजसम्म ४७ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । त्यस समयमा तराईका यस भेगका मानिस अमलेखगंजबाट भीमफेदी हुँदै काठमाडौँसम्म पुग्न पैदल यात्रा गर्थे ।

नेपाल गभर्मेन्ट रेल्वे (एनजिआर) नेपालको पहिलो रेलमार्ग थियो । अमलेखगंज र रक्सौल जोड्ने ४७ किलोमिटर लामो पहिलो नेपाल गभर्मेन्ट रेलवे तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा वि.सं. १९८४ स्थापना भएको रेल्वे वि.सं. २०३१ मा बन्द भएको थियो । चन्द्रशमशेरले रक्सौलसम्म आएको अङ्ग्रेजको रेल अमलेखगञ्जसम्म जोडेका थिए ।

सन् १९२३ मा भारतीय वन सेवाका जेभी कोलिएरले नेपालको वन पैदावर परिवहनको लागि सर्ट न्यारो गेज रेलवे निर्माण गरेका थिए । कोलिएरलाई राणा प्रधानमन्त्रीले नेपालको वन विभाग व्यवस्थापन गर्ने जिम्मेवारी दिएका थिए । सन् १९२३ को जाडोमा, कोलकाताको मार्टिन्स लाइट रेलवे (मार्टिन एन्ड को.) ले उत्तरको सीमाबाट अमलेखगंजसम्म रेलमार्ग निर्माण गर्न सर्वेक्षण गरेका थिए ।

निर्माण कार्य सन् १९२६ मार्चबाट सुरु भयो र सन् १९२७ फेब्रुअरी १६ मा नेपाल गभर्मेन्ट रेलवे सञ्चालनमा आएको थियो । न्यारो गेज रेलवेले २ फिट ६ इन्च (७६२ मिमी) को ट्रयाक गेज उपयोग गथ्र्यो । रेल्वेमा सातवटा वाष्प लोकोमोटिभ, १२ कोच र ८२ बोगी थिए । यो रेल्वे बेलायतको ‘बेयेर, पिकक एन्ड कम्पनी’ द्वारा निर्मित ग्यारेट लोकोमोटिभबाट सञ्चालन हुन्थ्यो ।

राजमार्ग नबन्दासम्म, अमलेखगंज–रक्सौल रेलमार्ग अप्रत्यक्षरूपमा काठमाडौँलाई भारतसँग जोड्ने एकमात्र बाटो थियो । काठमाडौँबाट यात्री पहाडै–पहाडको बाटो हिँडेर चुरेको फेदीमा पुग्थे । जहाँबाट उनीहरू लरी चढेर अमलेखगंज आएर रेल चढेर भारत जाने गर्दथे । सन् १९५६ मा त्रिभुवन राजमार्गको निर्माणपछि हिँड्नु पर्ने बाध्यता अन्त्य भएको थियो । नेपाल ट्रान्सपोर्ट सर्भिस नाम गरेको निजी कम्पनीले सन् १९५९ मा पहिलोपटक बस सेवा सुरु गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button