चार करोडको मेसिनः ‘मिलेमतो’मा १० करोडको टेन्डर

[mashshare]

मधेशदृष्टि
जनकपुरधाम ।

केन्द्रमा जस्तै मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा पनि मेडिकल माफियाहरुले आँखा लगाउने गरेको खबर बेलाबखत सार्वजनिक भइरहेको छ । कुनै आस्वासन र डरधम्कीविना निस्वार्थ ढंगले मधेशदृष्टिले माफियाहरुको बदमासीमा कलम चलाइरहेकै छ । अघिल्लो सरकारले पनि करोडौँ कमिसन खाने गरी एक्सरे मेसिन किन्न खोज्दा मधेशदृष्टिले समाचार छापेपछि उपकरण खरिद रोकिएको मात्र थिएन, माफियाहरु तिल्मिलाएका थिए । यतिखेर फेरि त्यही समूहले नयाँ मुख्यमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक सबैलाई प्रभाव पार्न मेहनत गरेको खबर मधेशदृष्टिले प्राप्त गरेको छ । यसमा मुख्यमन्त्रीबाहेक बाँकी चार जना मेडिकल माफियाकै निर्देशनमा परिचालन भएको स्रोतको दाबी छ ।

प्राप्त सूचनाअनुसार, मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले ‘मेमोग्राफी’ उपकरणका लागि टेण्डर आह्वान गरेको छ । चार थान उपकरणका लागि केन्द्रले टेण्डर आह्वान गर्दा मन्त्रिपरिषद्सम्म दुरुपयोग भएको भन्दै स्वास्थ्य उपकरण व्यवसायीहरुले आपत्ति जनाएका छन् । बजारमा बढीमा सवा एककरोड रुपैयाँ पर्ने उपकरणलाई फेरि पनि टन्न रकम दिने गरी मिलेमतोमा टेण्डर आह्वान भएको र यसपटक मुख्यमन्त्री सतिश कुमार सिंहलाई फकाउन सकिने भन्दै स्वास्थ्य मन्त्री शत्रुधन प्रसाद सिंह कोइरी पनि संलग्न भएको पाइएको छ । मन्त्रीसँगै स्वास्थ्य सचिव डा. सञ्जय ठाकुर, स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा. राजीव झा र बायोमेड इन्जिनियर बन्दना झाको पनि यो कर्ममा संलग्नता रहेको पाइएको छ ।

के हो मेमोग्राफी उपकरण ?
स्वास्थ्य आपूर्ति केन्द्रले खरिद प्रक्रिया अगाडि बढाएको मेमोग्राफी उपकरण महिलाको स्तन क्यान्सर परीक्षण गर्ने उपकरण हो । मधेशका विभिन्न स्वास्थ्य संस्थाका लागि आवश्यक उपकरण खरिदका लागि स्वास्थ्य आपूर्ति केन्द्र क्रियाशील छ । केन्द्रले यसपटक चार थान मेमोग्राफी किन्न लागेको हो । यस्तै मेमोग्राफी अघिल्लो आर्थिक वर्षमा बागमती प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रले पनि खरिद गरेको थियो । त्यतिखेर मेमोग्राफीको ९५ लाख रुपैयाँ बागमती प्रदेश सरकारले भुक्तानी गरेको थियो । अहिले मूल्य अत्यधिक बढेछ भने पनि यो उपकरण एक करोड रुपैयाँमा दिन्छु भन्ने स्वास्थ्य व्यवसायीहरु काठमाडौमै छन् र मधेशदृष्टिको सम्पर्कमा आएका छन् । तर स्वास्थ्य व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीलाई मात्र टेण्डर पार्ने गरी २ करोड ५० लाख रुपैयाँका दरले चार वटा मेमोग्राफी किन्ने योजनामा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले प्रक्रिया अघि बढाएर नोभेम्बर १५ मा सूचना जारी गरेपछि यसमा संलग्नहरुबारे मधेशदृष्टिले यथेष्ट सूचना संकलन गरेको छ ।

मन्त्रिपरिषद्कै दुरुपयोग
सामान्यतया स्वास्थ्य आपूर्ति केन्द्रले खरिद गर्ने उपकरणबारे मन्त्रालयमा जानकारी गराएको हुन्छ । जस्तो यस्तो उपकरण यति थान किन्ने, यस्तो गुणस्तरको भनिएको हुन्छ । तर यसपटक जारी भएको टेण्डरमा भने यस्तो अनुभव भएको कम्पनीबाट किन्ने भनेर निर्देशिका नै मन्त्रिपरिषद्बाट पारित गराइएको छ । यसबारे मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पनि यथेष्ट जानकारी नपाएको हुनसक्छ । गठबन्धनको सरकार भएकाले स्वास्थ्यमन्त्रीले ल्याएको प्रस्ताव पारित गर्ने बहानामा आफूले इच्छाइएको कम्पनीले मात्रै किन्न सक्ने गरी निर्देशिका नै मन्त्रिपरिषद् लगिएको हो । यसो गर्ने मन्त्री र सचिव कारबाहीका भागेदार हुनेछन् । स्वास्थ्य सचिव डा. प्रमोद यादवलाई हटाएर गएका र आफूलाई नेकपा एसका नेताहरुको समेत आशीर्वाद छ भन्ने स्वास्थ्य सचिव डा. सञ्जय ठाकुरको यसमा प्रत्यक्ष संलग्नता रहेको देखिएको छ । उनीसँगै कस्तो विवरणको उपकरण माग्ने भन्ने काममा बायोमेड इन्जिनियरले भूमिका खेल्ने र यसअघि एक्सरे उपकरण खरिद प्रकरणमा पनि जोडिएका विवादित बायोमेड इन्जिनियर वन्दना सिंह नै यसपटक पनि जोडिएकी छिन् । यस्तै स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. राजीव झा पनि यो काममा संलग्न छन् ।

स्वास्थ्य व्यवसायी विशाल पण्डितको कम्पनीलाई मात्र मिल्ने गरी कुनै जटिलता नआओस् भनेर मापदण्डसमेत मन्त्रिपरिषद्बाट पारित गराउने काममा बन्दना सिंह, राजीव झा र सञ्जय ठाकुरले मन्त्री शत्रुधन सिंहलाई समेत प्रभावमा पारेको पाइएको छ । छोरीको वैवाहिक कार्यको दबाबमा रहेकाले पनि नियमित आउने आम्दानी भन्दा बढी संकलन देखाइएपछि मन्त्री सिंह पनि लोभिएको स्रोतको दाबी छ । यसैले उनले क्याबिनेटबाटै यस्तो कामका लागि खुकुलो मापदण्ड पारित गराएर नीतिगत भ्रष्टाचार गरेको स्वास्थ्य व्यवसायीहरुले भन्ने गरेका छन् ।

मधेशमा माफियागिरी
मधेशको स्वास्थ्यमा माफियागिरी गरिरहेको एउटा समूहले यस कार्यका लागि मन्त्रीदेखि भएभरका स्वास्थ्य कर्मचारीलाई प्रभावमा पारेका हुन् । हस्पिटेकका विशाल पण्डित, बायोमेड इन्टरनेसनलका उमेश अग्रवाल, महोत्तरी, जलेश्वरका प्रेम सिंह, सुमित सिंहको योजनामा यो टेण्डर निस्केको हो । जनकपुरको एउटा होटल (नाम नराखौँ)मा भएको बैठकमा विशाल पण्डितको कम्पनी हस्पिटेकबाट भने साझेदारका रुपमा सुदेश श्रीवास्तव सहभागी भएका थिए । उनीहरुको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव र निर्देशक पनि थिए । र, उनीहरुकै परामर्शमा ‘स्पेसिकेसन’मा फिचरको मापदण्ड मनाएर मन्त्रिपरिषद्बाट पास गराइएको हो । जहाँ नीतिगत भ्रष्टाचार थियो, ‘यति थान किन्नेसँगै यति थान बिक्री गरेको कम्पनीसँग किन्ने भनियो ।’

मधेशदृष्टिको सम्पर्कमा आएका केही स्वास्थ्य व्यवसायीले यस विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेटेर ज्ञापन पत्र दिने र अख्तियारलगायका छानिबनको दायरामा ल्याउने निकायमा उजुरी दिने तयारी गरिएको जानकारी दिएको छ । यस विषयमा थप समाचार हामी यहाँहरुलाई दिइरहनेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button